गायक दीप श्रेष्ठको जन्मदिनमा धरानमा सांगीतिक साँझ(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ गायक दीप श्रेष्ठको जन्मदिनमा धरानमा सांगीतिक साँझको आयोजना गरिएको छ।
आईतवार विपी प्रतिष्ठानको अडिटोरियम हलमा आयोजित सांगीतिक साँझमा धरानका वरिष्ठ गायक दीप श्रेष्ठ गुञ्जिए। “हर रात सपनीमा….. बोलको गीतबाट शुरु गरेका उनले “भन्थिन् मेरी उनी.., मेरो आँखामा…, म त दुर देखी आए…, बितेका कुराले….” बोल लगायतका गीतहरु गाएर दर्शकहरुलाई मन्त्रमुग्ध बनाए। यसैगरी उनले गायिका मेरिना राई र आफ्नै छोरी सृष्टि श्रेष्ठसंँग पनि डुएट गीत गाएका थिए। गायक श्रेष्ठलाई काठमाण्डौबाट आएका संगीतकारहरु माणिकमान सिंह, विक्रम कार्की, रुपेश सिंह र राहुल भुजेलले साथ दिएका थिए।
गायक दीप श्रेष्ठले केक काटेर शुरुवात गरिएको सो कार्यक्रममा धरानका पुराना तथा नयाँ कलाकारहरु कृष्णराजा श्रेष्ठ, किरण श्रेष्ठ, डा. मन्जिल श्रेष्ठ, नवराम राई र मनोहर शाक्यले समेत गायक श्रेष्ठका चर्चित गीतहरु प्रस्तुत गरी गायक श्रेष्ठ प्रति समर्पित गरेका थिए।
यसैगरी कार्यक्रममा गायक श्रेष्ठका संगीत गुरु रामचन्द्र बनेपालीलाई नगद २५ हजार सहित सम्मापत्र र दोसल्लाले सम्मान समेत गरिएको थियो। उनलाई कार्यक्रमका प्रमुख अतिथी धरान उपमानगरपालिकाका मेयर हर्कराज राई, कार्यक्रमका सभापति धरान संगीत प्रतिष्ठानका अध्यक्ष रमेश राई लगायतले सम्मान गरेका थिए।


धरानको प्रतिनिधित्व गर्दै सिंगो नेपालकै प्रतिनिधी पात्र हुन पुगेका तथा नेपाली संगीत क्षेत्रको जिउँदो ईतिहास बोकेका वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको ७३ औं जन्मदिनको अवसरमा सो सांगीतिक उत्सवको आयोजना गरिएको थियो। १४ वर्षको उमेरदेखी नै विभिन्न साँस्कृतिक तथा सांगीतिक कार्यक्रममा भाग लिईरहनु हुने गायक श्रेष्ठले २०२५ साल पुष महिनामा धरानबाट साँस्कृतिक कार्यक्रम लिएर राष्ट्रिय नाचघरमा जाँदा तत्कालिन राजा महेन्द्र सामु गीत गाउने अवसर पाएका थिए। उनको गायन कलाबाट मोहित भएर राजा महेन्द्रले तत्कालै आफुले मन लागे जती गीत रेडियो नेपालमा रेकर्ड गर्ने व्यवस्था गरिदिएका थिए। त्यस समयमा गायक श्रेष्ठले “म पत्थरको देउता होईन… लगायतका ६ वटा गीतहरु रेकर्ड गराएका थिए।
त्यसपछि पछाडी फर्कनु नपरेको वरिष्ठ गायक श्रेष्ठले गत २०७५ सालमा आफ्नो सांगीतिक आरोह÷अवरोहलाई निरन्तरता दिंदै गायन यात्राको पाँच दशक पुरा गरिसकेका छन्। उनका “म पत्थरको देवता होईन…, हर रात सपनीमा.., मत दुरदेखि आए, भिरमा उनिनु एउटा कुरा,…, मेरा आँखामा.., बितेका कुराले…, कति कम्जोर रहेछ भाग्इ.., विधुवाको सिउँदो.., भन्थिन् मेरी उनी.., हुँ यात्री म एउटा.., साहिली बरी चियाबारीमा, अचानो भो.., हामी एक हौं…, लगायतका गीतहरु लोकप्रिय रहेका छन्।