पं. छविलाल पोखरेलको शालिक अनावरणसँगै प्रतिक्षालय हस्तान्तरण

धरान (दिव्य रोशनी)/पं. छविलाल पोखरेलको १८ औं स्मृति दिवसको अवसरमा धरान १४ स्थित पिण्डेश्वर संस्कृत महाविद्यालय (विद्यापीठ) को छात्रवास परिसरमा अद्र्धकदको शालिक अनावरण तथा प्रतिक्षालय हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त शालिकको अनावरण मंगलबार एक कार्यक्रमबीच विज्ञान प्रविधि तथा शिक्षा मन्त्री अशोक कुमार राईले गरेका थिएभने विद्यापीठ परिसरमा निर्मित प्रतिक्षालय समेत मन्त्री राई विद्यापीठलाई हस्तान्तरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका शिक्षामन्त्री राईले छविलाल गुरु ऐतिहासिक एवं महामानव व्यक्तित्व भएको बताउँदै पं.छविलाल पोखरेलको प्रतिमा अनावरण गर्ने अवसर प्रदान गरेकोमा आयोजक प्रति कृतज्ञता समेत व्यक्त गरे ।


शिक्षा मन्त्री राईले छविलाल गुरुसँग उमेरको अन्तर र अक्षरको अभावको कारण नजिक पुगेर सामिप्यमा गएर कुरा गर्ने अवसर नपाएको बताए। तर गुरुले आयोजना गरेको एक कार्यक्रमबीच पुगी सुन्ने अवसर चाहि पाएको याद गरे। साथै उनले छविलाल गुरु पूर्वीय दर्शन, वेद वेद्धान्तका प्रखर व्यक्तित्व भएको चर्चा गरे। गुरुको भौतिक शरीर हामीसँग नभएपनि गुरुको कृतिहरु संचित भएकोले प्रकाशन गर्न समेत मन्त्री राईले आयोजक समितिलाई सुझाव दिए।
शिक्षामन्त्री राईले विद्यापीठको छात्रबासको पुनःनिर्माणका लागि ३ जना माननीयसँग अनुमति मागेर प्रतिबद्ध गर्ने वचन समेत प्रकट गरे। मन्त्री राईले छात्रबास पुनः निर्माणका लागि धेरै उपायहरु भएको बताउँदै पहिलो उपाय नेपाल संस्कृत विश्व विद्यालयको युजिसीलाई विद्यापीठका शिक्षाध्यक्ष मार्फत् गर्न सकिने, दोस्रो उपाय विश्व विद्यालय अनुदान आयोगलाई अनुरोध गर्न सकिने र तेस्रो उपाय दाताहरुको खोजेर पनि गर्न सकिने बताए।


कार्यक्रममा पिण्डेश्वर विद्यापीठका शिक्षाध्यक्ष प्रा.डा. भीम खतिवडाले छविलाल गुरुले संस्कृत शिक्षाको लागि धेरै योगदान पुर्याएको बताउँदै गुरुका परिवारजनद्धारा निर्माण भएको प्रतिमा सँधैभरी सम्झिरहने आदर्श व्यक्ति रुपमा रहने बताए।
धरान प्रज्ञा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बिका सम्बाहाम्फेले पं. छविलाल गुरुले दलितहरुलाई समेत संस्कृत पढ्न पे्ररित गर्दै हौसला प्रदान गरेको चर्चा गरे ।
विद्यापीठका पूर्व शिक्षाध्यक्ष प्रा. पुरुषोत्तम भटराईको विशेष आतिथ्यता रहेको सो कार्यक्रममा उदयपुरस्थित त्रियुगाा क्याम्पसका प्रमुख प्रा. कैलाश कुमार राई समेतको उपस्थिति रहेको थियो।
कार्यक्रमबीच विद्यापीठ स्ववियु र विद्यापीठको तर्फबाट समेत विद्यापीठको छात्रबास पुलः निर्माणको लािग शिक्षामन्त्री समक्ष ध्यानाकर्षण पत्र समेत प्रस्तुत गरिएको थियो।