धरानमा एयरपोर्ट बन्छ र बनाउनुपर्छ

धरानमा एयरपोर्टको सम्भाव्यता बारे अध्ययन गर्न आएको टोलीले दुई दिन लगाएर प्रस्तावित एयरपोर्टको अध्ययन गरि फर्केको छ। यो धरानमा एयरपोर्ट सम्भाव्यता बारे अध्ययन गर्न आएको तेस्रो पटक हो। अध्ययन टोलीले धरानमा एयरपोर्टको आवश्यक्ता, जग्गाको स्थिती संगै भौगोलिक स्थितीको पनि अध्ययन गरेको छ। एयरपोर्टएको सम्भव्यता अध्ययन गर्न आएको टोलीले प्रस्तावित एयरपोर्टमा पुगेर अध्ययन गर्न थालेपछि धरानवासीहरुमा अहिले दुई मत बाँझिएको छ। एकथरी धरानमा एयरपोर्ट बन्ने पक्का भो भनेर खुसी मनाउन थालेको छभने अर्को थरी धरानमा कुनैपनि हालतमा एयरपोर्ट बन्न सक्दैन। यो एउटा जनतालाई झुक्काएर अनिर्णयको बन्दि बनाईन गरेको खेल भनेर सामाजिक संजालमा कुर्लिरहेका छन्।
वास्तवमा, धरानमा के एयरपोर्ट बन्छ या बन्दैन? यसको उत्तर सहज त छैन। बन्छ भनौ कति कारणले बन्छ? पूर्वाधार निर्माणका लागी पर्याप्त स्रोत साधनको उपलब्ध होला कि नहोला। अर्कोपक्ष बन्दैन भने किन? भन्ने प्रश्न पनि टड्कारो रुपमा देखिएको छ। यदि धरानमा एयरपोर्ट बनाउने नै होभने ठुलो धनराशीको आवश्यक्ता देखिएको छ। दुई दशक अघि प्रस्तावित एयरपोर्ट नजिक रहेका पातला सुकुम्बासी घरहरु रहेपनि अहिले आएर खोलाका बगरैभरी घरहरु निर्माण भइसकेका छन्। जसका लागी उपमहानगरपालिकाले उनीहरुको उचित व्यवस्थापन तथा सट्टाभर्ना गर्न एकदमै सकस पर्न सक्नेछ। यसैगरी आवश्यक मात्रामा जग्गा खरिद गर्न पनि उत्तिकै आर्थिकको कुरा नआउने भन्ने छैन। यसैगरी नीतिगतको त कुरै नगरौं, हवाई नीति २०६३ अनुसार निकटस्थ विमानस्थलबाट प्रस्तावित विमानस्थलको दूरी हिमाली र पहाडी क्षेत्रमा साधारणतया २० नटिकल माइल र तराई तथा भित्री मधेसमा कम्तीमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ । जबकी धरान र विराटनगर विमानस्थलको दुरी ४० किलोमिटर मात्र रहेको छ। यसले पनि धरानमा विमान स्थल बनाउनमा समस्या देखिएको छ।
त्यसो भए के अब धरानमा एयरपोर्ट बन्दैन त? सबैभन्दा पहिले धरानमा एयरपोर्टको आवश्यक्ताको महशुस हुनुपर्यो। किनकी नजिकको विमानस्थल विराटनगर विमानस्थल प्रयोग गर्ने ५० प्रतिशत धरानवासी र धरान नजिकका स्थानियवासीहरु रहेको एक अध्ध्यनले देखाएकाले धरानमा एयरपोर्ट बनेमा चल्छ भन्नेमा धरानवासीहरु ढुक्क भएका छन्। अब दुई दशक अघिदेखी थन्किएर बसेको धरानमा एयरपोर्ट बनाउने सपनालाई साकार पार्न यति ईनकर्पोरेटले लिएको साढे सात बिघा जग्गा अब प्राधिकरणको नाममा ल्याउनु पर्छ।यसैगरी एयरपोर्ट निर्माणका लागी जग्गा प्राप्ती गर्न प्रस्तावित एयरपोर्ट वरपर रहेका जग्गाहरु अधिग्रहण गरी त्यहाँ बसोबास गर्दै आएकाहरुलाई उचित स्थानमा स्थानान्तरण गरिनु पर्दछ। साथै तिनै तह सरकारको समन्वयभएमा धरानमा एयरपोर्ट बनाउन कुनैपनि समस्या देखिदैन। साथै धरानको अहिले हरेक विकास निर्माणका कुराहरु श्रमदानबाटै सम्पन्न हुँदै आएकाले विमानस्थल निर्माणमा पनि केही मात्रामा भएपनि भौतिक पूर्वाधारहरु श्रमदानबाटै गर्न सकिन्छ। अब धरानमा एयरपोर्ट बन्छ कि बन्दैन भनेर वादविवाद गर्नुभन्दा पनि अब धरानमा एयरपोर्ट बनाउनु पर्छ भनेर सम्पूर्ण धरानवासी जुरुक्कै उठ्नु पर्ने बेला आएको छ। जनता जनार्दन भन्दा अर्को ठुलो कोहीपनि हुँदैन। त्यसैलेपनि अब धरानमा एयरपोर्ट चाहिने कि नचाहिने त्यो धरानवासीको हातमा छ। अब हामीले धरानमा एयरपोर्ट बन्छ र बनाउनु पर्छ भनेर कम्मर कसी लागि परे धरानमा एयरपोर्ट बनाउन असम्भव चाहि छैन।