प्रदेश स्तरिय प्रथम एन्फा प्रेसिडेन्ट कप अण्डर १५ शुरुः उद्धघाटन खेलमा अल स्टार विजयी

दिव्य रोशनी(धरान)/ कोशी प्रदेश स्तरिय प्रथम एन्फा प्रेसिडेन्ट कप अण्डर १५ को उद्धघाटन खेलमा धरानको अल स्टार टिम विजयी बनेको छ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा आज बुधवार भएको उद्धघाटन खेलमा विराट ट्रेनिङ सेन्टर मोरङलाई १–० ले पछि पार्दै अलस्टारले जित हात पारेको हो। खेलमा अलस्टारका तर्फबाट १ मात्र गोल विष्णु सुनुवारले गरेका थिए। उनले खेलको ३३ औं मिनेटमा गोल गरेका थिए। उनी प्रतियोगिताको म्यान अफ दि म्याच समेत घोषित भए। उनले नगद १ हजार सहित एनि कम्पनिको जर्सी प्राप्त गरे।
भोली बिहीबारको खेल धुर्वतारा स्पोटिङ क्लब झापा र न्यु स्टार क्लब सुनसरी बिच हुनेछ । पुष ६ गते सम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका १० वटा टिमको सहभागिता रहेको छ।प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। त्यस्तै प्रत्येक दिनको खेलका म्यान अफ द म्याचलाई नगद १ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।


उद्धघाटन खेलमा कोशी प्रदेश सासंद ममता योञ्जन प्रमुख अतिथी रहेकि थिईन्। उनिले प्रदेशको फुटबल खेल आफुले नजिकबाट नियालिरहेको बताउदै आगामी दिनहरुमा पनि प्रदेश सरकारबाट साथ र सहयोग हुने प्रतिबद्धता व्यक्त गरिन्। यसैगरी कार्यक्रमका अध्यक्ष कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले एक दशकको मेहनतामा नेपाली क्रिकेटले ऐतिहासिक वल्र्ड कप खेल्ने मौका पाईरहेको अवस्थामा अब आउने दशवर्षपछि एशियाली टिमले पनि वल्र्डकप खेल्ने अवसर पाईरहेकाले सुपर आठमा पर्न मेहनत गर्ने जनाए।
कोशी प्रदेश फुटबल संघको आयोजनामा भएको सो प्रतियोगितालाई कोशी प्रदेश खेलकुद विकास बोर्ड, धरान उपानगरपालिका र अखिल नेपाल फुटबल संघले संयोजन गरेको छ।