छरिएर रहेका पूँजी सहकारी मार्फत् चलायान बनाउन सकिने

दिव्य रोशनी(धरान)/ धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले छरिएर रहेका पूँजीहरुलाई संकलन गरेर चलायमान बनाउने वातावरण सहकारी मार्फत् मात्र सहज हुने बताएका छन्।
सो कुरा उनले शनिवार धरानमा आयोजित उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं वार्षिक साधारणसभामा प्रमुख अतिथीको मन्तव्यको सम्बोधनका क्रममा बताएका हुन्।
उपमेयर बेघाले राज्यको नीति नियम भित्र रहेर नागरिकको पूँजीलाई चलायमान बनाउने काम सहकारीले गर्नुपर्ने बताए। उनले भने “राज्यको नीति नियमभित्र रहेका सहकारीहरु नाफामा छन्।”


सोहीक्रममा उपमेयर बेघाले केही सहकारीका नकरात्मक क्रियाकलापले गर्दा धरानमा सहकारी भन्ने बित्तिकै नाक खुम्चाउने स्थिती बन्न लागेको समेत बताए।
साथै केही सहकारीहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागी सहकारी संस्था खोलेर जनताको पुँजीलाई जोखिममा पारेकाले राम्रा सहकारीहरु, रोजगार र स्वरोजगार बनाउने सहकारीहरु, छरिएका पुँजीहरुलाई एकत्रित गर्ने सहकारीहरुमा अहिले निकै ठुलो प्रश्न तेर्सिने गरेको बताए।
सोहीक्रममा उपमेयर बेघाले अहिलेकोे परिस्थितीलाई जितेर सहकारी प्रति विश्वास जगाउन सहकारीको अर्थ बुझेर अगाडी बढ्नुपर्ने दायित्व र जिम्मेवारी सबैमा रहेको बताए। उनले राज्यले घरघरमा गएर पूँजी संकलन गर्न नसक्ने तर सहकारीले नागरिकको घरघरमा गएर पूँजी संकलन गरेर लगानी गर्ने भएकाले यसले राज्यलाई योगदान दिईरहेको समेत बताए।
उनले उद्यमशिल सहकारीले गरेको काम प्रशंसनिय रहेको बताउँदै सहकारी मार्फत् गरेको लगानीले धरानलाई जिवन भर्ने काम गरेको समेत बताए।
यस उद्यमशिलबाट लिएका पूँजीले खोलिएका चिया पसलबाट आफुले चिया खाएको र थुप्रै किराना पसलबाट सामान खरिद गरेको बताउँदै थुप्रै व्यक्तिहरु स्वरोजगार भएको समेत देखिएको उपमेयर बेघाले बताए। उनले नीति नियम र विधीबाट चलेका सबै सहकारी नडुबेको दावी गर्दै जोखिममा भएका नागरिकको पुँजीलाई बचाउन नगर सरकारले प्रयत्न गरिरहेको बताए। उनले भने राज्यले सहकारीहरुलाई एउटा नीति नियम भित्र राखेर संचालन गर्न दिएको समेत बताए। उनले भने “नीति नियम र विधीबाट चलेका सबै सहकारी डुबेका छैनन्, ती सबै सहकारीले नागरिकहरुलाई फाईदा गरेका छन्। जोखिममा भएका नागरिकको पूँजी लाई बचाउन नगर सरकारले प्रयत्न गरिरहेको छ।”


कार्यक्रममा धरान १० नं. वडाका वडाअध्यक्ष विवेक राईले उद्यमशिल सहकारीले उपलब्ध गराएको सेवा सुविधाको प्रशंसा गरेका थिए। उनले बचतकर्ताहरु धेरै ब्याज पाउने लोभका कारण डुब्दै गएको बताए। उनले एउटै व्यक्तिले धेरै वटा सहकारीमा कारोबार गरेको कारण पनि सहकारीमा समस्या आएको बताउँदै त्यस्ता व्यक्तिसँग सावधान रहन समेत आग्रह गरे।
पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई, जिल्ला सहकारी संघ सुनसरीका दिनेश श्रेष्ठ समेतले अहिलेको आर्थिक मन्दिमा पनि यस सहकारीले आफुलाई बचाई राख्न सफल भएको बताउँदै स्थानीय तहले पनि ठोस कार्य नीति ल्याएर सहकारीलाई जीवन्त राख्न आग्रह गरेका थिए।
कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष सिंह बहादुर मादेनले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले आर्थिक वर्ष २०७९/८० मा सहकारीले १ अर्ब ३९ करोड ११ लाख ८० हजार ९ सय ३ रुपैयाँ ३४ पैसाको कारोबार गरेको बताए। उनका अनुसार सहकारीको गत वर्षको अन्तसम्ममा कुल शेयर पूँजि ५ करोड २ लाख २४ हजार ४ सय रहेकोमा यस वर्ष उक्त सेयर पूँजि ४.७३ ले वृद्धि भई ५ करोड २६ लाख १ हजार १ सय बनाउन सफल भएको छभने कुल सेयर सदस्यहरु ४ हजार ४६ बनाउन सफल भएको छ। जसमा महिला सदस्य २ हजार ८४ जना र १९ सय ६२ जना पुरुष सदस्य रहेका छन्।


उक्त साधारणसभामा व्यवस्थापकिय प्रगतिबारे जानकारी दिंदै सहकारीका व्यवस्थापक जित बहादुर राउतले सहकारीले गत सालभन्दा यस वर्ष शेयर रकम, बचतमा वृद्धि गर्नुका साथै ऋण लगानीमा ८२.५८ प्रतिशत र ऋण असुलीमा ५.८६ प्रतिशतले वृद्धिका साथै कोष रकममा समेत वृद्धि गर्न सफल भएको बताए। त्यस्तै कार्यक्रममा संस्थाका लेखा समिति संयोजक आरती राईले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
साधारण सभामा पत्रकारिता क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै ‘दिव्य रोशनी” साप्ताहिक पत्रिकाकी सम्पादक÷ प्रकाशक मनिता चाम्लिङ राईलाई नगद १० हजार ५ रुपैयाँ नगद र सम्मानपत्र सहित सम्मान गरिएको थियोभने संस्थाका कर्मचारी तथा बचतकर्ता र असल ऋणीहरू ३० जनालाई पनि सम्मान गरिएको थियो।
धरान १५ स्थित चुम्लङ हिममा आयोजित सो कार्यक्रम संस्थाका सचिव शिशिर राईले सञ्चालन गरेका थिए।(दिव्य रोशनी साप्ताहिकबाट)