लैङ्गिक हिंसा विरुद्ध कानुनी प्रावधान

दिव्य रोशनी(धरान)/ महिला संजाल धरान नगर समितीद्धारा एकदिने “लैङ्गिक हिंसा तथा कानुनी प्रावधान” विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
शनिवार धरान १३ नं. वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथी धरान उप–महानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले राज्यको विभेद अझैपनि कायमै रहेको बताउँदै समान अधिकार नभएसम्म महिलाका अधिकारका बारेमा संगठित हुनुपर्ने अवस्था आएको बताए। उनले नयाँ संविधानमा महिलाको ३३ प्रतिशत सहभागिताको हक, अधिकार सुरक्षित गरेपनि महिलाको हक, अधिकारमा राज्यको विभेद कायमै रहेको बताए।
सोहीक्रममा उपमेयर बेघाले उषा राई घटनाका दोषीलाई पक्राउ गर्न आफुले प्रहरी देखी वडाका जनप्रतिनिधीसंँग समन्वय गरिरहेको बताए। उनले उषा राई घटनाको अनुसन्धानमा बाधा नपुर्याउन पनि संघ÷संस्थाका प्रतिनिधीहरुलाई आग्रह गरे। उनले भने “अब अर्को दुर्घटना नघट्नेतर्फ सबैले ध्यान दिनुपर्छ। महिला हिंसाका घटनामा पीडितलाई न्यायदिनै पर्छ।” उनले धरानका आमा समुहरुले समाजमा धेरै योगदान गरेको बताउँदै सामाजिक संजालमा एक आपसमा झगडा नगर्न समेत सम्पूर्णमा आग्रह गरे।


यसैगरी कार्यक्रममा संजालका निवर्तमान अध्यक्ष चेतना श्रेङले महिला हिंसा घरबाटै अन्त्य गर्नुपर्ने बताईन्। उनले महिला हिंसाको कारक पुरुषवाद नै भएको बताउँदै पुरुषवादको अन्त्य नभएसम्म महिला हिंसा भईरहने बताए। उनले भनिन् “जातीय रुपमा होस्, लिंगिय रुपमा होस् वा वर्गीय रुपमा होस्, महिलाहरु सँधै हिंसामा परिरहेको हुन्छ।” उनले यस महिला विरुद्धको हिंसाको १६ दिने अभियानमा झनै घटनाहरु घटेको बताउँदै समाजको लापर्वाही होकी, महिलामा अशिक्षित भएर हो, या पुरुषको ज्यादतीले हो यसको जवाफ पाउन बाँकी रहेको बताईन्। उषा राईको घटनामा महिला संजालको ध्यानाकर्षषण भएको बताउँदै निवर्तमान अध्यक्ष श्रेङले संजालले विभिन्न निकायमा पुगेर ध्यानाकर्षण पत्र बुझाउँदै दोषी लाई कडा भन्दा कडा कार्वाही गर्नुपर्छ भनेर माग गरिरहेको समेत बताईन्। उनले घटनाको ढाकछोप गर्न प्रहरी र डाक्टरसंग संजाल मिलेको भनेर संजाललाई बदानामी गर्न खोजिएको बताउँदै आरोप लगाउनेहरुले प्रमाण सहित आउन चुनौती समेत दिईन्।
त्यस्तै संजालका पूर्व अध्यक्ष शिला बज्राचार्यले मानसिक समस्यामा परेका श्रीमान श्रीमतीबाट यस्ता हिंसाका घटनाहरु धेरै हुने गरेको बताईन्। उनले मानसिक समस्यामा परेकाहरुले पहिले उपचारमा जानुपर्ने बताईन्। कार्यक्रममा संजालका संरक्षक, मिना पुलामी पत्रकार महांघ सुनसरीका सभापति जनकऋषी राई लगायतले मन्तव्यकोक्रममा महिला हिंसा अन्त्य गर्न जनचेतनाको खाँचो रहेको बताए।
संजालका अध्यक्ष सपना राईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभु ढकालले सहजिकरण गरेका थिए।
संजालकी उपाध्यक्ष यसोदा कायस्थद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको सो कार्यक्रम सचिव ईन्द्र्रकला राईले संचालन गरेकी थिईन्।(दिव्य रोशनी साप्ताहिकबाट)

9 thoughts on “लैङ्गिक हिंसा विरुद्ध कानुनी प्रावधान

टिप्पणीहरू are closed.