केन्द्रद्वारा गरिब तथा असहायहरुलाई राहत वितरण ५३ औं हप्तामा

दिव्य रोशनी (धरान)÷धरान ९ बगैंचालाईन स्थित अपाङ्ग पुनस्र्थापना तथा असहाय सेवा केन्द्र नेपालले आज जेठ १५ गते असहाय २० घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ।
यस असहाय केन्द्रले प्रत्येक महिनाको १ र १५ गते आर्थिक अवस्थाले विपन्न तथा अपाङ्गता भएकाहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्दै आएको छ।
कोभिडको महामारीमा स्थानिय सरकार र केही संघसंस्थाले २÷४ पटक राहतका वितरण कार्यक्रम गरेपनि यस केन्द्रले हालसम्म पनि विपन्न परिवार र अपाङ्गता भएका परिवारहरुलाई राहत वितरण गर्दै आएको छ।
केन्द्र्रले वितरण गरिएको राहत सामाग्रीहरुमा २५ केजी चामल (१ बोरा), १ केजी नुन, १ लिटर तेल, चना, मटर, चिउरा लगायतका सामाग्रीहरु रहेका छन्। यसैगरी विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु पनि वितरण गरिएको थियो। वार्षिक रुपमा २ सय जनाको लागि स्वास्थ्य बिमा समेत गर्दै आएको केन्द्रका सचिव सुनिल खड्काले जानकारी दिए।


सो खाद्यान्न सामाग्री कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई तथा विशेष अतिथी धरान ४ का वडाध्यक्ष धनबहादुर राईले संयुक्त रुपमा वितरण गरेका थिए।
प्रमुख अतिथी मेयर साम्पाङले केन्द्रको यस कार्य प्रशंसनीय रहेको बताउँदै सबै धन्यवादको पात्र रहेको बताए। साथै धरान २० मा पुनःस्र्थापना केन्द्र समेत बनाईएको र चाँडै नै सञ्चालनमा ल्याईने समेत जानकारी दिए।
त्यस्तै ४ का अध्यक्ष राईले पनि यस कार्यक्रम सह्राहनीय रहेको बताउँदै ४ नं. मा अब चाँडै नै यस केन्द्रको भवन निर्माण गर्न जग्गाको सिफारिस कार्यपालिका बैंठकमा लैजाने प्रतिबद्धता व्यक्त गरे।
केन्द्रका अध्यक्ष डम्बर कुमारी मास्केको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सल्लाहकार रमेश गजमेरले स्वागत मन्तव्य व्यक्त गरेका थिए।