गणतन्त्र दिवसमा मुख्यमन्त्री कार्कीद्वारा शुभकामना सन्देश

दिव्य रोशनी (कोशी)/कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले
गणतन्त्र दिवस– २०८१ को शुभकामना वक्तव्य जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि आजको दिनमा थप सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन्।
मुख्यमन्त्री कार्कीद्वारा जारी वक्तव्यमा जनअपेक्षाअनुसार शासन सञ्चालन गर्नु र प्रदेशको औचित्य स्थापना गर्नु जिम्मेवारी रहेको उल्लेख गरिएको छ। त्यस्तै ’संविधान अनुरुप राज्य संयन्त्रमा भएको परिवर्तन सबै जनताले अनुभूत गर्न सक्नेगरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने बताईएको छ। सो वक्तव्यमा गणतन्त्रसँगै स्थापित भएको संघीयताको प्रभावकारी कार्यान्वयन गर्दै जनअपेक्षा अनुरुप शासन सञ्चालन गर्नु र प्रदेशको औचित्य स्थापित गर्नु आजको मुख्य जिम्मेवारी रहेको कुरा समेत उल्लेख्य रहेको छ ।

सो वक्तव्यमा मुख्यमन्त्री कार्कीले नेपाल आमाका हजारौं छोराछोरीको बलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गरि संविधानको कार्यान्वयन गर्ने आजको मुख्य कर्तव्य रहेको उल्लेख गर्दै संविधानको कार्यान्वयनबाट मात्र संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई कार्यान्वयन गर्न सकिने समेत उल्लेख गरेका छन्।

मुख्यमन्त्री कार्कीले जनताको जित भएको विशेष दिन गणतन्त्र दिवसका अवसरमा देश÷विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाईहरुमा हार्दिक शुभकामना व्यक्त गर्दै नेपाली जनताका प्रतिनिधी मार्फत् संविधानसभाको पहिलो बैठकबाट घोषणा गरिएको गणतन्त्र जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल भएको कुरा समेत उल्लेख गरेका छन्।
यस्तै मुख्यमन्त्री कार्कीले वक्तव्यमा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अपाङ्ग भएका र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान समेत व्यक्त गरेका छन्।