उषा राई मृत्यु प्रकरणः १७ औं शताब्दीको झल्को

दिव्य रोशनी(धरान)/ संघिय सांसद अन्जना ताम्लीले २१ औं युगमा पनि उषा राई मृत्यु प्रकरणले १७ औं शताब्दीको झल्को दिएको बताएकी छिन्।
सो कुरा उनले मानव अधिकारका लागी महिला एकल महिला समुह प्रदेश १ धनकुटाद्धारा शुक्रवार धरानमा आयोजित ३१ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा “महिला माथि हुने हिंसा सम्बन्धमा सरोकारवालाहरु बिच आयोजित अन्र्तक्रिया” कार्यक्रममा प्रमुख अतिथीको मन्तव्यकोेक्रममा बताएकी हुन्। कार्यक्रममा सांसद ताम्लीले राजनीतिक अधिकार प्राप्ती पछि अहिले देश आर्थिक समृद्धितर्फ लम्की रहेको बेला उषा राईको घटनाले एउटा मानिस बाँच्न पाउनुपर्ने अधिकारको खोजी गरिरहनु परेको बताईन्। उनले धरान जस्तो उप–महानगरपालिकामा घटेको घटनाले गर्दा मान्छेले बाच्नुपर्ने अधिकार खोसिएको बताईन्। उनले भनिन् “उषा राई मृत्यु प्रकरणले हामीलाई मान्छेले बाँच्न पाउने अधिकार दिलाउन हामी कति संवेदनशिल छौं भनेर स्मरण गराएको छ।”


उषा राई मृत्यु प्रकरणका दोषीहरुलाई उन्मुक्ति दिलाउन प्रमाण नष्ट गर्ने कुरा सुनिंदै गरेको बताउँदै सांसद ताम्लीले यसका लागी सम्पूर्ण अधिकारकर्मीहरुको दबाव रहनुपर्ने र उषा राईको न्यायका लागी पहल गरिनुपर्ने बताए। उनले महिला संबन्धित शिर्षकमा सरकारले बजेट छुट्याएपनि कतिपय सरकार प्रमुखहरुले जनतामा सचेतना आएको भन्दै महिला लक्षित बजेट नछुट्याउने तर भौतिक निर्माणमा मात्रै बजेट छुट्याउने प्रवृति बढेर गएको समेत बताईन्।
यसैगरी अन्र्तक्रिया कार्यक्रममा धरान उप–महानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले उषा राई मृत्यु प्रकरणबारे सत्य असत्य हल्ला आईरहेका बेला दोषी माथि कडाभन्दा कडा कारवाही गर्नुपर्छ भनेर नगर सरकार लागी परेको बताए। उनले उषा राईको दोषीलाई कार्वाही गरी वास्तविकतालाई चिर्दै जाने बताए। उनले भने “घटनामा आमा समुहको संलग्नाबारे हल्ला चलेको छ, एक दुईजना सदस्यहरु पनि घटनामा संलग्न भएको देखिन्छ। तर संस्थालाई मुछ्न मिल्दैन।” महिला, बालबालिका वृद्धवृद्धा हिंसाका मुद्धाहरु उप–महानगरको न्यायिक समितीमा आउनुपर्ने भएपनि उषा राईको घटना उप–महानगरमा नआएको उपमेयरको भनाई छ।
उनले यस घटनाले धरानवासीमा आत्मग्लानी भएको बताउँदै अपराधीहरुलाई कसैले पनि बचाउन नहुने बताए। उनले भने “कहाँ, किन, कसले घटनालाई मिलाएको भन्नेबारे प्रश्न उठेको छ।” विधि र प्रकृया सम्मत ढंगले मिलाएमा यस्ता घटनाहरु नघट्ने तर अन्य बाटोबाट मिलाउन थालेमा यस्ता घटनाहरु बल्झने उनले बताए।
कार्यक्रममा महिला संजाल धरानकी अध्यक्ष सपना राई, सजालकी संस्थापक अध्यक्ष मिना पुलामी, एकल महिला सुनसरीकी अध्यक्ष नैनकला न्यौपाने, संचारकर्मी मनिता चाम्लिङ, संजिता धमला लगायतले बोलेका थिए।
कार्यक्रममा मानवअधिकार आयोग (ईन्सेक) का विराटनगर क्षेत्रिय प्रमुख सोमराज थापाले महिला हिंसाबारे कार्यपत्र प्रस्तुत गरेका थिए। सो कार्यक्रम एकल महिला समुह प्रदेश नं. १ की अध्यक्ष मिना राईको अध्यक्षतामा सम्पन्न भएको थयो। (दिव्य रोशनी साप्ताहिकबाट)

8 thoughts on “उषा राई मृत्यु प्रकरणः १७ औं शताब्दीको झल्को

टिप्पणीहरू are closed.