जातिय विभेद विरुद्ध खबरदारी सभा

दिव्य रोशनी(धरान)/ धरानमा जातिय विभेद विरुद्ध खबरदारी सभाको आयोजना गरिएको छ।
जनता समाजवादी पार्टी नेपाल,शिल्पी विशेष समिती, प्रदेश १ को आयोजनामा शनिवार धरानको भानुचौकमा जातिय विभेद विरुद्ध खबरदारी सभाको आयोजना गरिएको हो। कार्यक्रममा शिल्पी विशेष समितिका सह ईन्चार्ज दलमर्दन कामीले आफैले बनाएको मन्दिर भित्र पस्न नपाउनु नै दलितहरुमाथिको अपमान र घृणा भएको बताए। उनले दलित भएकै कारण विभिन्न झुठा मुद्धामा दलितहरुलाई फसाउँदैं जाने होभने अब अपमान सहेर बस्न नसकिने समेत बताए।
यसैगरी सभामा जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले ठुला जाती भनिएकाहरुले जातीय अहंकार नत्यागे त्यसले भविष्यमा ठूलो दुर्घटना निम्त्याउने बताउँदै बझाङ घटनामा दलितको घर भत्काउनेलाई राज्यले हदैसम्मको कडा कारवाही गर्नुपर्ने बताए। उनले जातीय अहंकार त्यागेर सुन्दर समाज निर्माणका लागि साथ र सहयोग गरिदिन सबैमा अपिल समेत गरे। सभामा मिजार सेवा समाज सुनसरीका अध्यक्ष बिजय अछामी, दलित अभियन्ता भविन विश्वकर्मा, दलित अभियानकर्मी सुमन गहतराज, मंगोल नेशनल अर्गनाइजेसन धरान सदस्य सृजना लिम्बुले समेत बोलेका थिए।
सभामा वितरित प्रेस विज्ञप्तीमा बझाङ जिल्लाको बित्थडचिर–७ मा भएको घटना तथा पछिल्लो समयमा झुठा मुद्दामा फसाईएका दलितहरुको रिहाईको माग उल्लेख गरिएको छ। घटना विवरण अनुसार बझाङ्ग जिलाको वित्थडचिर गा.पा.वडा नं ७ बस्ने दलित थरका पुड्के ओखेडाले बिगत २५ बर्षदेखि भोगचलन गर्दै आएको आफ्नै जग्गामा आधाउधी बनिसकेको घर त्यहाँका उपल्लो जातिका मानिसहरूले दलित भएकै कारण तथानाम गाली गलौज गरि बालीनाली समेत नष्ट गरि तलाई हामी भन्दा माथी बस्ने अधिकार छैन भन्दै गाउँ नै मिलेर घर पूर्ण रुपमा नष्ट गरिदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र ६० लाख शिल्पी दलित समुदाय माथी भएको अन्याय अत्यचारको घोर निन्दा प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
जनता समाजवादी पार्टी नेपाल, शिल्पी विशेष समिती, प्रदेश १ का सचिव शशीकुमार विश्वकर्मा र अध्यक्ष नरेश विश्वकर्माद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा दलित समुदायका ओखेडा परिवार लगायत देशैभरी भैरहेका जातीय छुवाछूत तथा विभेद, झुठा मुद्दामा फसाउने, हत्या हिंसा श्रृङखलाबद्ध रुपमा घटाईनु खेदजनक रहेको जनाईएको छ।(साभारःदिव्य रोशनी साप्ताहिकबाट)

One thought on “जातिय विभेद विरुद्ध खबरदारी सभा

टिप्पणीहरू are closed.