वर्षातको समयमा कसरी गर्ने मेकअप?

वर्षाको समयमा चारैतर्फ हरियाली छाएको हुन्छ। यो मौसमको सुरुवातसँगै अत्यधिक गर्मीबाट राहत मिल्छ। धेरैलाई मनपर्ने यो सिजनमा पानी पर्ने भएकाले ह्युमिडिटी बढ्छ। त्यसकारण छालामा संक्रमण, एलर्जी, फंगसजस्ता धेरै समस्या पैदा हुन्छन्। यिनले हाम्रो छालालाई प्रभाव पार्छन्। अन्य मौसमको तुलनामा यो मौसममा छालाको अलि बढी ख्याल राख्नुपर्छ। यो मौसममा मेकअप गर्दा पनि विशेष ध्यान दिनुपर्छ।
वर्षामा लामो समयसम्म मेकअप टिकाउन चुनौतीपूर्ण हुन्छ। यदि मौसम अनुरूप मेकअप गरे यो मौसममा पनि मेकअप लामो समयसम्म टिक्छ। वर्षाको समय भए पनि छालालाई नरम बनाउनुपर्छ। त्यसैले गुणस्तरीय मोस्चराइजर प्रयोग गर्नुपर्छ।
दैनिक मेकअप
यो मौसममा फाउन्डेसनको प्रयोग त्यति राम्रो मानिँदैन। त्यसको साटो कम्प्याक पाउडर प्रयोग गर्न सकिन्छ। फाउन्डेसन लगाउनैपरे हल्का लगाउन सकिन्छ। कम्प्याक पाउडरले पूरै अनुहारलाई कभर गर्छ र अनुहारलाई तैलीय देखाउँदैन। पानी पर्ने सिजन भएकाले धेरै मेकअप राम्रो देखिँदैन । हल्का र वाटरप्रुफ मेकअपलाई प्राथमिकतामा राख्नुपर्छ। दिउँसो सबैतिरबाट उज्यालो आउने भएकाले पनि हल्का मेकअप सुहाउँछ। दैनिक मेकअपमा प्राइमर प्रयोग गर्नुपर्छ। यसले लामो समयसम्म छालाको रोमछिद्रलाई बन्द गरिदिन्छ। यसले दिनभरि बाहिर निस्कदा छालाभित्र धूलो पस्न दिँदैन। साँझ अनुहारलाई राम्रोसँग क्लिन्जरको सहायताले सफा गर्नुपर्छ। जसले गर्दा छालामा अक्सिजनको मात्रा पुग्छ। दैनिक मेकअपमा हाइलाइटरको प्रयोग नगरेकै राम्रो हुन्छ । यो मौसममा छाला तैलीय देखिन्छ। हाइलाइटरको प्रयोगले बढी साइनिङ आउँछ। यसको प्रयोग गर्नैपरे हल्का गर्न सकिन्छ। पिंक रंगको ब्लसर नै प्रयोग गर्नुपर्छ।
पार्टी मेकअप
पार्टी मेकअप धेरै हेभी गर्नुहुँदैन। मेकअप पानीले भिज्यो भने टिस्यु पेपरले हल्का थपथपाउँदै सुकाउनुपर्छ।यो मौसममा हल्का रंग धेरै प्रयोग गर्नुपर्छ। पिंक लिपिस्टिक र पिंक नेलपोलिसले पिंक बोल्ड लुक दिन सकिन्छ।लिक्विड फाउन्डेसनको प्रयोग गर्नुहुँदैन । पाउडर फाउन्डेसनले गर्मीमा चिपचिप महशुस गराउँदैन। यसले अनुहारको पसिना सोसेर अनुहार सुख्खा देखाउँछ। पाउडर ब्लसरको साटो क्रिम ब्लसर प्रयोग गर्नुपर्छ। क्रिम आइस्याडोको साटो पाउडर आइस्याडोको प्रयोग गर्नुपर्छ । यसले अनुहारमा फैलन दिँदैन। मेकअपका सामग्री सबै वाटरप्रुफ नै रोज्नुपर्छ। मस्कारा दुई कोट लगाउनुपर्छ। लिक्विड आइलनरको साटो पेन्सिल आइलाइनरको प्रयोग गर्दा मेकअप सुरक्षित हुन्छ। आइब्रोमा पेन्सिलले कोर्नुभन्दा जेलको प्रयोग गर्नुपर्छ। म्याट लिपिस्टिकको प्रयोग यो मौसममा उपयुक्त मानिन्छ।