द भोइस अफ नेपालमा पदम राईलाई भोट गर्न अपील

दिव्य रोशनी(धरान)/ हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित रियालिटी शो “द भोइस अफ नेपाल” मा शीर्ष १२ मा छनोट हुन सफल पदम राईलाई विजयी बनाउन धरानमा अभियान सुरु गरिएको छ।
बुधबार पदमका परिवारले धरानमा पत्रकार सम्मेलन गर्दै भोटमार्फत विजयी बनाउन अपील गरेका हुन्। टिम राजेशमा रहेका पदमलाई खल्ती एपमार्फत भोट गर्न सकिने छ।
“साङ्गीतिक क्षेत्रमा धरानले देशकै प्रतिनिधित्व गर्दै आएको छ, यहाँका सङ्गीतप्रेमी समुदायमा पदमलाई भोट गरिदिन अपील गर्दछु” पदमका साहिला दाइ भूपाल राईले भने, “भोइसले संघर्षरत प्रतिभाहरुलाई प्लेटफर्म दिइरहेकाले धराने युवालाई प्रोत्साहित गर्न म सबैलाई आग्रह गर्दछु।”
पदम पूर्वका प्रतिभा रहेकाले सबैलाई सहयोग गर्न धरानका स्थानीय तथा संविधान सभा सदस्य किरण राईले बताए । प्रतिभा भएर पनि अवसर प्राप्त गर्ने अवस्था नरहेकाले द भोइसको यो अवसरलाई पदम राईको पक्षमा पार्न सबैले सहयोग गर्न उनले आग्रह गरे।
ब्लाइण्ड राउन्डमा टिम प्रमोदलाई छनोट गरेका पदमले ब्याटलमा बाहिरिंदा कोच राजेशले स्टिल गरेका थिए। नकआउट राउण्डमा प्रतिस्पर्धीलाई पछि पार्दै पदम हाल लाइभ राउण्डपछि क्लोज क्याम्पमा छन् । टिम राजेशपायल राईबाट शीर्ष १२ मा पर्न सफल पदम धरानबाट काठमाडौं गई विगत एक दशक अघिदेखि साङ्गीतिक क्षेत्रमा कृयाशील र संघर्षरत छन् ।
फुटकर ५० बढी गीतमा आवाज भरिसकेका पदमले एक दशक अघि नै “यो जन्म” नामक साङ्गीतिक एल्बम बजारमा ल्याइसकेका थिए। युट्युब च्यानलमा करोड क्लबमा पदमका ४ वटा गीत छन् । परिवारबाट पदम राई जिताऔ अभियान सन्चालन भइ रहेको छ भने धरानमा उनलाई किरात राई यायोक्खा, किरात राई कलाकार संघलगायतले संस्थागत सहयोग गर्ने परिवारको अपेक्षा छ।

16 thoughts on “द भोइस अफ नेपालमा पदम राईलाई भोट गर्न अपील

टिप्पणीहरू are closed.