धरानमा धार्मिक सहिष्णुता कायम गर्न सर्वधर्म सभाको आयोजना

दिव्य रोशनी(धरान)/ धार्मिक सहिष्णुता कायम गर्दै एक आपसमा भाईचारा सम्बन्ध कायम गर्ने उद्धेश्यका साथ धरानमा सर्वधर्म सभाको आयोजना गरिएको छ।
विश्व शान्ति दिवसको अवसरमा शनिवार न्यु भिजन ओपन स्काउट क्रियुको आयोजना तथा नेपाल स्काउट, धरान नगर तदर्थ समितिको सहयोगमा धरानमा सर्वधर्म सभाको आयोजना गरिएको हो। विभिन्न धर्मका लोगो चिन्ह अंकित गरी बनाईएको मण्डलामा शान्तिको कामना गर्दै द्धीप प्रज्वलन समेत गरिएको थियो। पछिल्लो समय धरानमा विभिन्न धर्म, संस्कृतिको नाममा अराजक गतिविधी भएको अवस्थामा सर्वधर्म जातजातीका मानिस एकै ठाउमा बसेर सुन्दर समाज बनाउन पहलकद्मी रहनेछ भनेर देखाउन खोजिएको थियो। त्यस्तै हिन्दु, बुद्ध, मुस्लिम, क्रिश्चियन धर्मबाट प्राथना गरिएको थियोभने भजन संगती समेत गरिएको थियो।
कार्यक्रममाथि प्रकाशपार्दै स्थानिय स्काउट धरान उप–महानगर तदर्थ समितीका संयोजक अनुप तामाङले धरानभरीका स्काउटर्सहरु लाई एकै ठाउमा राखी विश्व शान्तिको कामना गर्दै प्रभातफेरीको आयोजना गरिएको बताए। उनले हामी विभिन्न धर्मको भएपनि अन्त्यमा एउटै हो भनेर बुझाउन पनि सर्वधर्म सभा कार्यक्रम गरिएको बताए।


यसैगरी नेपाल स्काउट कोशी प्रदेश संयोजक रवि खनालले सर्वधर्मसभा, स्काउन्टिङ गतिविधी संचालनगरी भोलीका दिनहरुमा अझ परिस्कृत ढंगबाट अगाडी बढ्न स्काउटहरुलाई आग्रह गरे। कार्यक्रममा धरानका उप्रमुख अईन्द्र विक्रम बेघा प्रमुख अतिथी रहेका थिए। उनले सर्वधर्मसभाको आयोजना गरेर स्काउटले समाजमा एउटा शन्देस दिएको बताए। उनले भने “हामी मान्छे सबै समान छौं। उमेरले छिपेका, कलिला, कोही काला, कोही गोरा, कोही मोटा, कोही दुब्ला भएपनि मान्छेको चाहना ठुलो रुपमा हँुदैन, निन्द्रा सबैलाई लाग्छ, भोक सबैलाई लाग्छ।”
नगर उपप्रमुख बेघाले म नभनी देशमा केही चल्दैन भन्ने मान्यताकै कारण देशमा गडबडी भएको बताए। उनले धर्म, जात र लिङ्गका आधारबाट जबसम्म हेरिन्छ तबसम्म देशमा शान्ति कायम नरहन बताए। “धरानको सुन्दरता र विशेषता भनेकै यही हो।” सहभागी विद्यार्थीहरुलाई देखाउँदै उपप्रमुख बेघाले भने “क्षेत्री, ब्राम्हण, आदिवासी जनजाती, कालोे, गोरो, होचो अग्लो, मोटो, दुब्लो यही छन्। हामी सबै मिलेर याँ बसेका छौं। सबै मिलेर साकेला नाचेका छौं, भर्खरै मात्रामा तिजमा बाहुन क्षेत्री भन्दापनि अन्य जनजाती महिला दिदीबहिनीहरुले मनाएका छन्। धरानले सबै जातजाती धर्म, संस्कृतिलाई सम्मानका साथ हेरेको छ।” मिलेर बसेको धरानको खुुसी हेर्न नपाउनेहरुले पछाडीबाट ढुंगा प्रहर गरेको उपप्रमुख बेघाले बताए।
कार्यक्रममा धरान वडा न.ं ४ का अध्यक्ष धनबहादुर राई, किरात राई यायोख्खा अध्यक्ष राजेन्द्र राई, स्काउट प्रदेश सदस्य हेमन्त भण्डारी, म्यासेन्जर अफ पिस संयोजक सन्तोष घिमिरे, बेलवारी नगर संयोजक बादल देवान लगायत सहभागी थिए ।
विश्व शान्ति दिवसको अवसरमा धरानमा स्काउटद्वारा प्रभातफेरीको समेत आयोजना गरिएको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)

One thought on “धरानमा धार्मिक सहिष्णुता कायम गर्न सर्वधर्म सभाको आयोजना

टिप्पणीहरू are closed.