संविधान दिवसको अवसरमा धरानमा प्रभातफेरिः डिएसपी विरुद्ध खनिए मेयर साम्पाङ(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ संविधान जारी भएको ८ औं वर्ष पुरा भएको अवसरमा बुधबार धरानमा प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको छ।
धरान उप–महानगरपालिकाको आयोजनामा उपमहानगरपालिकाबाट शुरु भएको प्रभातफेरि र्यालीले धरानको छाताचौक, पुरानो बजार, माछाभौडी, देशिलाईन हुँदै भानुचौकमा पुगी कोणसभाको आयोजना गरिएको थियो।


भानुचौकमा आयोजित कोणसभामा नेपालको झण्डा फहराउदै धरान उपमहानगरपालिकाका मेयर हर्क राज साम्पाङ राईले नेपाली जनताले धेरै संघर्ष गरेर प्राप्त गरेको संविधान कतिलाई मन नपरेको भएपनि आफुलाई मन परेको बताए। उनले नेपालको संविधानले सबै जातजातिको सबै धर्म सँस्कार र सँस्कृतिको हकअधिकार सुनिश्चित गरेको समेत बताए।


सोहीक्रममा मेयर साम्पाङले संविधान दिवसको अवसरमा प्रभात फेरि र्यालीमा सहभागी हुन ईलाका प्रहरी कार्यालय धरानलाई चिठी काटेर पठाएपनि सहभागी नभएको भन्दै ईलाका प्रहरी प्रमुख डिएसपी नवराज मल्ल विरुद्ध खनिए। उनले धरानको प्रहरी संविधान नमान्ने मान्छे नेतृत्वमा छ कि ? भन्दै प्रश्न समेत गरे । उनले भने “पत्र पठाउदा पनि ईलाका प्रहरी कार्यालय किन र्र्यालीमा सहभागी भएन ? प्रहरीले संविधान मान्दिन भन्या हो ? कि स्थानीय सरकारले भनेको मान्दिन भन्या हो?।”
मेयर साम्पाङले स्थानिय सरकारले भनेको नमान्ने प्रहरी डिएसपीलाई सरुवा गर्न गृहमन्त्रीलाई पत्राचार गरेको पनि बताए । उनले नगर प्रमुख जस्तो मान्छेलाई पटक पटक भु–माफियाहरुले आक्रमण गर्न खोज्दासम्म पनि डिएसपीले कारबाही नगरेकोमा आपत्ति जनाएका थिए।
यसैगरी कोणसभालाई सम्बोधन गर्दै उपमेयर अईन्द्र बिक्रम बेघाले यो संविधानलाई केही व्यक्तिहरुले विरोध गर्दै आएपनि महिला, दलित तथा आमनेपाली जनताहरुलाई अधिकार सम्पन्न गराएको बताएका थिए।
कार्यक्रममा उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधी, नगर प्रहरी, ट्राफिक प्रहरी तथा शसस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो।

2 thoughts on “संविधान दिवसको अवसरमा धरानमा प्रभातफेरिः डिएसपी विरुद्ध खनिए मेयर साम्पाङ(भिडियो सहित)

टिप्पणीहरू are closed.