डेंगुले आक्रान्त बन्यो धरान

दिव्य रोशनी(धरान)/ अहिले धरानमा डेंगुको प्रकोप चरम उत्सर्गमा रहेको छ। गत जेष्ठको अन्तिम सातादेखी फैलिएको डेंगु प्रकोप अहिले धरानको २० वटै वडाहरुमा फैलिएको छ। तीमध्ये धरान ११, १६ र १५ वडामा विशेष डेंगुको प्रकोप बढी हेको धरान उपमहानगरपालिका स्वास्थ्य महाखाका प्रमुख उमेश मेहेताले बताए। उनका अनुसार अहिले डेंगु संक्रमणबाट धरान उपमहानगरपालिकामा ८ जनाको मृत्यु भईसकेको छ। जसमा धरान ११ मा २ जनाको मृत्यु भएको छभने १७, १५, १८, ५, १० र २ नं. वडामा १÷१ जनाको मृत्यु भएको छ। शुक्रवार सम्म विपी प्रतिष्ठानमा जाँच गर्ने ३ हजार ७ सय ३१ जना मध्ये २ हजार १ सय ९९ जना डेंगुबाट संक्रमित भएका छन्। यद्यपी अन्य स्वास्थ्य संस्थामा उपचार गरेका र घरैमा रहेका बिरामीहरुको संख्यालाई जोड्ने होभने धरानमा ५ हजार बढी डेंगु बिरामी रहेका छन्। जसमा ८ जना गम्भिर प्रकृतिका बिरामीहरु रहेको मेहेताको भनाई छ।
डेंगुले विशेषगरी दीर्घ रोगीहरुलाई समस्यामा पारेको छ। तथापी युवाहरुमा पनि यसको समस्या नभएका होईनन्। धरानका विशेषगरी हरेक घरघरमा डेंगुबाट संक्रमित भई बिरामी रहेका छन्। कसै कसैको घरमा पुरै परिवार नै डेंगुबाट संक्रमित भएपछि बिरामी हेर्ने कुरुवाको समेत अभाव भएको मेहेता बताउँछन्। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेंगु रोगका बिरामीहरुको छुट्टै क्लिनिक खडा गरेको छ। तथापी उपचार गराउन अहिले पालो पखिर्नुपर्ने बाध्यता रहेको छ। यसैगरी धरानको विजयपुर हस्पिटल र निजी क्लिनिक, मेडिकलहरुमा पनि डेंगुका बिरामीहरुले भरिभराउँछन्।
डेंगुले धरानलाई आक्रान्त बनाउँदै लगेको अवस्थामा बिरामीहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुपनि डेंगुबाट संक्रमित बन्न पुगेका छन्। डेंगु रोगको उपचार खासै नभएपनि यसका लागी सिटामोल र जीवनजल नै उत्तम औषधी भएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए। साथै उनले गम्भिर प्रकृतिका बिरामीहरुलाई भने स्लाईन पानी चढाईएको बताउँछन्। डेंगु रोकथामका लागी अहिले उपमहानगरपालिकाले सर्च एण्ड डेस्ट्रोई अभियान नै चलाएको छ। हरेक दिन हुने सर्च एण्ड डेष्ट्रोई अभियान अहिले धरान ११ मा जारी छभने हरेक वडाका टिएलओहरुले पनि अभियानलाई जारी राखेका छन्।
धरानमा डेंगु संक्रमण उच्चदरमा फैलिदै गएपछि मेयर हर्कराज साम्पाङले धरानभरीका विद्यालयका प्रिन्सिपलहरुसंग अन्र्तक्रिया गरेका छन्। मेयर साम्पाङले डेंगु नियन्त्रणका लागी सबैभन्दा उत्तम विकल्प भनेकै सर्च एण्ड डेस्ट्रोई भएकाले यो अभियान हरेक विद्यालयहरुले पनि गर्नुपर्ने उर्दी जारी गरे। मेयर साम्पाङले फगिङ स्वास्थ्यका हिसाबले पनि हानिकारक रहेकाले सर्च एण्ड डेस्ट्रोई अभियानका लागी विद्यार्थीहरुलाई आफ्नै घरमा पनि परिचालित गर्न अनुरोध गरे। यसैगरी उपमहानगरपालिकाले धरानका २० वटै वडाका टिएलओहरुलाई पनि बोलाई आफ्नो टोलटोलमा डेंगु विरुद्ध सर्च एण्ड डेस्ट्रोई अभियान संचालन गर्न आग्रह गरेका छन्। जसअन्तर्गत धेरै वडाहरुमा पनि अहिले अभियान चलाईएको छभने उपमेयर अईन्द्र बिक्रम बेघा आफैपनि स्वास्थ्यकर्मीहरुको टोली लिएर जनताका घरघरमा पुगी रगत परिक्षण गरी औषधी वितरण गर्दै आएका छन्।
धरानमा किन बढ्यो डेंगु?
एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट यो डेंगु संक्रमण फैलने गर्दछ। विशेषगरी वर्षातको समयमा फैलने यो डेंगु धरानमा पानीको अभाव भएकै कारण लामो समयसम्म पानी स्टोर गरेर राख्नाले पनि डेंगु संक्रमण उच्चदरमा फैलिएको स्वास्थ्यकर्मीहरु बताउँछन्। सफा पानीमा मात्र बस्ने र अण्डा पार्ने यो प्रजातीको लामखुट्टेले विशेषगरी दिनमा मात्रै मानिसलाई टोक्ने गर्दछ। विश्व स्वास्थ्य संगठन (डब्लु एचओ) का अनुुसार डेंगु प्रकोपलाई न्यून बनाउन अन्तिम विकल्प भनेकै सर्च एण्ड डेस्ट्रोई अभियान हो। नछोपी राखिएका भाडाका पानीहरु पोखाउने, डेंगुले फूल नपारोस् भन्नका लागी औषधीहरु छर्किने उपाय नै अन्तिम विकल्प हो। तर जनता आफंै सचेत नहुने र टिएलओहरुले पनि अभियानलाई बेवास्ता गरेकै कारण धरान डेंगु फैलिएको स्वास्थ्य महाशाखा प्रमुख मेहेताको भनाई छ। उनी भन्छन् “जनताले फगिङ अभियान मात्रै डेंगु विरुद्धको समाधानको उपाय भनेर बुझ्दा धरानमा संक्रमणदर बढेको हो।” उनले फगिङ अभियान तत्कालका लागी राम्रो देखिएपनि यसले पानीमा रहेका डेंगुका लार्भाहरु नष्ट नगर्ने तर आम मानिसमा स्वासप्रस्वासमा दिर्घकालिन असर पुर्याउने बताए।
डेंगु नियन्त्रणबारे चासो नभएको धरानवासीको आरोपः
धरानमा डेंगुको प्रकोप बढ्दैगएपछि धरानवासीहरुले स्थानिय, प्रदेश सरकारले चासो नदिएको आरोप लगाएका छन्। डेंगु संक्रमित रोगीहरु उपचारका लागी अस्पताल पुग्दापनि उपचार नपाएपछि त्यस्तो आरोप लगाएका हुन्। तर उपमहानगरवासीको यो आरोपलाई मान्न तयार छैनन् धरान उप–महानगरपालिका। स्थानिय सरकारले डेंगु नियन्त्रणका लागी हर सम्भव प्रयास गरिरहेको नगरप्रमुख साम्पाङ बताउँछन्। उनी भन्छन् “डेंगु रोग नियन्त्रणका लागी स्थानियवासी आफैंपनि जागरुक हुनुपर्यो, धरानमा पानीको अभाव सबैलाई थाहा छ, पानीको जोहो सबैले गर्नुपर्छ तर पानी छोपेर राखौं, खुल्ला नराखौं। डेंगुका लार्भाहरु देखिए पानीको भाडोलाई घोप्टाऔं।”
डेंगु रोग उन्मुलनका लागी उपमहानगरको स्वास्थ्यकर्मीहरुको टोलीमा जिल्ला स्वास्थ्य कार्यालयले पनि सघाउ पुर्याईरहेको मेहेताले बताए। उनले जिल्ला स्वास्थ्य कार्यालयबाट डेंगु नियन्त्रणका लागी औषधी, स्वास्थ्य परिक्षणका लागी किटहरु उपलब्ध भएको जनाउँदै स्वास्थ्यकर्मीहरुपनि आएर धरानमा सचेतनामूलक कार्यक्रमहरु गर्दै आएको बताए। साथै उनले प्रदेश सरकारबाट पनि धरानमा सिटामोल र जीवनजलको कमी नहोस् भनेर उपलब्ध गराईरहेको उनको भनाई थियो।
उपमहानगरको योजना शिविर संचालनः
धरानका सेवा प्रदायक स्वास्थ्य संस्थाहरुमा डेंगु रोगका बिरामीहरुले भरिन थालेपछि स्थानिय सरकार उपमहानगरले शिविर नै संचालन गर्ने तयारी गरिरहेको छ। उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख मेहेताले धरानमा डेंगुका बिरामी अत्याधिक मात्रामा बढ्न थालेपछि शिविरको आयोजना गर्न छलफल भईरहेको बताए। उनले सम्भवत १÷२ दिन भित्रै उपमहानगरपालिकाले शिविरको आयोजना संचालन गर्ने बताए। अहिले डेंगुको प्रकोपका कारण विपी प्रतिष्ठान र उपमहानगरपालिकाका स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुनथालेपछि बिरामीहरुमा सरल तरिकाले उपचार पाउन भन्ने हेतुलेपनि शिविरको आवश्यक्ता बढ्दै गएको बताए।
त्यसोत स्थानिय सरकार उपमहानगरले डेंगु रोगको स्वास्थ्य शिविर गर्न अघि नै धरान १४ न.ं वडाले आफ्ना वडावासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविरको संचालन गरिरहेको वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए। उनले आफ्नो वडामा भएका संक्रमितलाई धरान १४ को आधारभूत स्वास्थ्य केन्द्रले विजयपुर चौकमा रहेको विजयपुर मेडिकल हलसँग समन्वय गरेर निःशुल्क उपचार सँंगै औषधी र भिटामिनहरु वितरण गरिरहेको बताए। उनले भने “स्थानिय सरकारले गर्नुपर्ने काम हामी वडाले सकेसम्म सहयोगी हातहरु सँंग मिलेर गर्दै आएका छौं, कुनैपनि व्यक्ति डेंगु संक्रमित भएको पुष्टि भएमा निःशुल्क औषधी र भिटामिनहरु वितरण गरिरहेका छौ। अहिले हरेक दिन ८÷१० जनाले सेवा लिईरहेका छन्।”
अब के गर्ने?
विगतका वर्षहरुमा धरानमा देखिंदै आएको डेंगु रोग यसवर्ष भने धरानमा अचाक्ली बढेको हो। डेंगु रोग नियन्त्रणका लागी सर्वोतम उपाय भनेकै सर्च एण्ड डेष्ट्रोई अभियान नै हो। यसलाई विश्व स्वास्थ्य संगठनले पनि अबलम्बन गरेको छ। स्थानिय सरकारले पनि आम नगरवासीलाई “डेंगु खोज र नष्ट गर” भन्ने अभियान सुनाएर मात्रै हुँदैन। डेंगु नियन्त्रणका अभियानहरु अब एकैपटक विभिन्न संघ÷संस्था, राजनीतिक दल साथै टिएलओहरुसंँगको सहकार्यमा अभियानलाई जुरुक्कै उचाल्नु पर्छ। स्थानिय सरकार भएको आभाष दिलाउन पनि बिरामीहरुलाई भेट गर्नुका साथै छिटो भन्दाछिटो उपचारको लागी स्थानिय सरकारको पहिलकदमी नै अहिले डेंगु बिरामीको पहिलो आवश्यक्ता बनेको छ।(साभारः दिव्य रोशनी साप्ताहिक, वर्ष १९ अंक ११)

One thought on “डेंगुले आक्रान्त बन्यो धरान

टिप्पणीहरू are closed.