भेडेटारमा तिनदिने फुडफेस्टिबल शुरुः पयर्टनमन्त्रिले गरे उद्धघाटन

दिव्य रोशनी(धरान)/ होटल एशोसिएसन भेडेटारको आयोजनामा तिनदिने भेडेटार फुड फेस्टिबल शुरु भएको छ।
अंग्रेजी नयाँ वर्ष सन् २०२३ लाई लक्षित गरेर पूर्वकै पर्यटकीय स्थल भेडेटारमा आयोजना गरिएको तिनदिने फुडफेस्टिबल आज आईतवार देखी शुरु भएको हो। फेस्टिबललाई कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रि गणेश प्रसाद उप्रेतीले पानसमा द्धिपबालेर उद्धघाटन गरेका थिए।


कार्यक्रममा प्रमुख अतिथी समेत रहेका मन्त्रि उप्रेतीले कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार लागीपरेको बताए। उनले प्रदेशकै पर्यटकिय स्थल भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गराउन प्रदेश सरकारले १ करोडको लागतमा सामुदायिक भवन बनाईदिने उद्धघोष समेत गरे। सोहीक्रममा मन्त्रि उप्रेतीले कोशी प्रदेशको आर्थिक र समृद्धि पर्यटनबाटै सम्भव भएकाले पर्यटकिय क्षेत्रहरुलाई तोकेर २४ सै घण्टा खोल्ने तयारी भईरहेको समेत सुनाए। उनले भेडेटारको विकासका लागी स्काई ब्रिजलाई छिट्टै निर्माण सम्पन्न गराउन प्रदेश सरकारले विशेष पहल गर्ने आश्वासन समेत दिए।
यसैगरी उद्धघाटन समारोहका विशेष अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संस्कृति भनेकै पर्यटन भएकाले यसलाई बेच्न सक्नुपर्ने बताए। उनले पर्यटकहरु घर हेर्न भेडेटारमा नआउने बताउँदै प्रकृति र संस्कृति हेर्न आउने भएकाले तिनै तहको सरकारले यसको सम्बोधन गरिनुपर्ने बताए। त्यस्तै साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रको विकास गरेमात्र समृद्धि ल्याउन सकिन्छ भनेर कृषक, उद्यमीहरुलाई गाउँपालिकाले प्रोत्साहन गरिरहेको समेत बताए। उनले गएको आर्थिक वर्षबाट गाउँपालिकाको समग्र आर्थिक उन्नतीको लागी कृषिको क्षेत्रबाट उत्कृष्ट कृषकहरुलाई सम्मानको कार्यक्रम ल्याएको समेत बताए।
यसैगरी कार्यक्रममा पाथिभरा क्लवका अध्यक्ष लिलाराज लावती, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, भेडेटार आमा समूहका राधिका लिम्बु, होटल व्यावसायी महासंघका केन्द्रिय उपाध्यक्ष रवि गौतम, जसपा धनकुटाका सचिव डम्बर कट्वाल लगायतले बोलेका थिए। कार्यक्रममा भेडेटारको पर्यटन प्रवद्र्धनमा कलम चलाउने दुईजना पत्रकार जमुना श्रेष्ठ र विदुर खवासलाई नगद जनही ५ हजारले सम्मान समेत गरिएको थियो।


पर्यटकिय स्थल भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गराउन हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसर पारेर फुड फेस्टिबलको आयोजना गरिदै आएको एशोसिएसनका अध्यक्ष तुमराज लिम्बुले बताए। उनले फेस्टिबललाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलनुहुने सबैमा धन्यवाद ज्ञापन गरे। फेस्टिबलमा स्थानीय जातिय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु उत्पादनहरु पनि प्रदर्शनीमा राखिएका छन्। फेस्टिबलमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ। फेस्टिबलमा हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति समेत रहनेछ।
फेस्टिबलमा आउने पर्यटकहरुले साँगुरीगढी गाउँपालिकाभित्र रहेको शैलुङडाँडा, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, पिकनिक स्पट, आत्मा बस्ने घर, सुर्योदय बौद्ध पार्क, नमस्ते झर्ना, साँगुरीगढी, नाम्जे गाँउ होम स्टे, ओख्रे भ्यू टावर, ध्वजेडाँडा, अजंगको वरको रूख, थाउजन बिग बुद्ध, स्काई वाक, जिपलाईन, रिडी नाम्जे ईको रिसोर्ट लगायतका ठाउँहरु अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ। फेस्टिबल पुष १७ गते समापन हुने आयोजकले जनाएको छ।