तेस्रो धरान भेट्रान फुटबल प्रतियोगिताः लखनपुर भेट्रान फाईनलमा प्रवेश
दिव्य रोशनी(धरान)/धरानमा जारी तेस्रो धरान भेट्रान विक्रम राई स्मृति फुटबल प्रतियोगिताको आज भएको पहिलो सेमीफाइनल खेलमा झापास्थित लखनपुर भेट्रान क्लब विजयी बनेको छ ।
बुधवार धरान रंगशालामा भएको खेलमा लखनपुर भेट्रानले हाम्रो धरान भेट्रानलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। खेल शुरु भएको ११ औं मिनेटमा लखनपुरका सुवास आङ थोप्पोले पहिलो गोल गरि खाता खोलेका थिए। त्यस्तै मध्यान्तर अघिकै खेलको १५ औं मिनेटमा र खेलको उत्तराद्र्धको २ मिनेटमा लखनपुरका कृष्ण शाक्यले दुई गोल गरि आफ्नो टिमलाई अग्रता दिएका थिए। भने खेलको उत्तराद्र्धको २० औं मिनेटमा लखनपुरका दिपेन गिरीले गोल गरेका थिए।
प्रतियोगिताका म्यान अफ दि म्याच लखनपुरका कृष्ण शाक्य घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


खेल शुरु हुनुअघि आयोजक धरान भेट्रान फुटबल क्लबका पूर्व महासचिव स्व. विक्रम राईको तस्विरमा दुवै टिमका खेलाडीहरुका साथै कार्यक्रमका प्रमुख अतिथी स्व. विक्रम राईका जेठा दाजु प्राध्यापक विदुर राई समेतले माल्यार्पण गरेका थिए।

भोली बिहिवार हुने दोस्रो तथा अन्तिम सेमी फाइनल खेल आयोजक धरान भेट्रान फुटबल क्लब र धुलाबारी भेट्रान फुटबल क्लब बीच हुने आयोजक क्लबका अध्यक्ष रोमी मोक्तानले बताए। शनिबार हुने प्रतियोगिताका बिजेताले नगद १ लाख १ हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन् भने उपबिजेताले ५१ हजार प्राप्त गर्ने क्लबका सचिव शतिस केसीले बताए।