तेस्रो धरान भेट्रान फुटबल प्रतियोगितामा धुलाबारी फाईनलमा प्रवेशः उपाधीका लागी लखनपुर संग भिड्ने

दिव्य रोशनी(धरान)/ आयोजक धरान भेट्रानलाई हराउँदै धुलाबारी भेट्रान क्लब धरानमा जारी तेस्रो धरान भेट्रान विक्रम राई स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बिहिवार धरान रंगशालामा भएको खेलमा धुलाबारी भेट्रानले आयोजक धरान भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।
खेलको ३५ औं मिनेटमा धुलाबारीका सुनिल कुमार सुवेदीले गरेकोे गोल नै प्रतियोगिताको निर्णायक गोल बन्न पुग्यो। उनी प्रतियोगिताको म्यान अफ दि म्याच समेत घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।
शनिबार हुने फाइनल प्रतियोगितामा उपाधीका लागी धुलाबारी भेट्रान क्लब झापाले दमक लखनपुर झापासंग प्रतिस्पर्धा गर्नेेछ। बिजेताले नगद १ लाख १ हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन् भने उपबिजेताले ५१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रोमी मोक्तानले बताए।