तेस्रो धरान भेट्रान विक्रम राई स्मृति फुटबल प्रतियोगिताको उपाधि लखनपुरलाई

दिव्य रोशनी(धरान)/ धरान भेट्रान फुटबल क्लबद्वारा आयोजित तेस्रो धरान भेट्रान विक्रम राई स्मृति फुटबल प्रतियोगिताको उपाधि दमकस्थित लखनपुर भेट्रान फुटबल क्लब झापाले जित्न सफल भएको छ।
शनिबार धरान रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा लखनपुर भेट्रानले धुलाबारी भेट्रान फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो।
खेलको १२ औं मिनेटमा लखनपुरका कृष्ण शाक्यले आफ्नो टिमको तर्फबाट गोलको खाता खोलेका थिए। १–० ले अगाडी रहेको लखनपुरले खेलको ३१ औं मिनेटमा गोल खान पुगेको थियो। जसमा धुलाबारी भेट्रानका तर्फबाट सुनिल कुमार सुवेदीले गोल गरी खेललाई मध्यान्तर सम्म १–१ गोल बराबरीमा पुर्याएका थिए।
निकै नै प्रतिस्पर्धात्मक रहेको खेलमा लखनपुरका देउमान लिम्बुले गरेकोे गोल नै प्रतियोगिताको निर्णायक गोल बन्न पुग्यो। उनले मध्यान्तर पछिको ६ मिनेटमा गोल गरेका थिए। उनी प्रतियोगिताको म्यान अफ दि म्याच समेत घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


प्रतियोगिताका बिजेता लखनपुर भेट्रानले नगद १ लाख १ हजार सहित रनिङ ट्रफि प्राप्त गरेको थियोभने उपबिजेता धुलाबारी भेट्रानले ५१ हजार प्राप्त गरेको थियो। बिजेता तथा उपबिजेता टीमलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ का सांसद विजय राई, विशेष अतिथी पूर्व प्रदेश प्रमुख प्राडा. गोविन्द तुम्याङ, महेन्द्र बहुमुखी क्यााम्पसका सह–प्राध्यापक विदुर राई, एन्फाका केन्द्रिय मानार्थ उपाध्यक्ष किशोर राई, सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नविन राई लगायतले ट्रफी, मेडल, प्रमाणपत्रका साथमा नगद पुरस्कार समेत प्रदान गरेका थिए। प्रतियोगितामा वेष्ट गोल किपर दमक लखनपुरका सुनिल तामाङ घोषित भए। उनले नगद ३ हजारका साथमा मेडल समेत प्राप्त गरे। त्यस्तै सर्वोत्कृष्ट गोलकर्ता लखनपुरका कृष्ण शाक्य घोषित हुँदै नगद ३ हजारका साथमा मेडल प्राप्त गरे। उनले खेल अवधिभर ४ गोल गरेका थिए। यस्तै खेलको सर्वोत्कृष्ट खेलाडी लखनपुरका अजेन तुम्वापो घोषित हुँदै नगद ५ हजारका साथमा मेडल प्राप्त गरे।
यसैगरी वेष्ट डिफेन्डरको उपाधि धुलाबारीका राजु खड्का घोषित भए। उनले नगद ३ हजारका साथमा मेडल प्राप्त गरेभने वेष्ट मिड फिल्डरको उपाधि धुलाबारीका यामु रानाले प्राप्त गरे र उनले पनि नगद ३ हजारका साथमा मेडल प्राप्त गरे।
यसैबीच पूर्व राष्ट्रिय खेलाडी कमल सिंहलाई सम्मान प्रदान गरिएको थियो। उनलाई नगद १५ हजारका साथमा दोसल्लासँगै केल्मीको ट्रयाक समेत प्रदान गरिएको थियो। सम्मानित सिंहलाई एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले ५ हजार र पूर्व राष्ट्रिय खेलाडी इन्दु रसाईलीले समेत नगद २ हजार थप प्रदान गरेका थिए। सो सम्मान कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद विजय राईले प्रदान गरेका थिए।


यस्तै पत्रकारिता क्षेत्र मार्फत् खेलकुद क्षेत्रमा योगदान पुर्याएको भन्दै आयोजक धरान भेट्रान फुटबल क्लबले दिव्य रोशनी साप्ताहिककी सम्पादक मनिता चाम्लिङलाई नगद ५ हजारका साथमा दोसल्ला ओढाइ सम्मान गरिएको थियो। उक्त सम्मान पूर्व प्रदेश प्रमुख प्राडा. गोविन्द तुम्याङ र एन्फाका केन्द्रीय मानार्थ उपाध्यक्ष किशोर राईले प्रदान गरेका थिए।
क्लबका अध्यक्ष रोमी मोक्तानले विभिन्न क्लबहरु बीच भाइचाराको सम्बन्ध कायम गर्न यस प्रतियोगिताको आयोजना गरिएको बताए। सो कार्यक्रम क्लबका युवराज अधिकारीले सञ्चालन गरेका थिए।