भेडेटारमा तिनदिने फुडफेस्टिबल शुरु हुँदै

दिव्य रोशनी(धरान)/ होटल एशोसिएसन भेडेटारको आयोजनामा आज आईतवार देखी तिनदिने भेडेटार फुड फेस्टिबल शुरु हुँदैछ।
अंग्रेजी नयाँ वर्ष सन् २०२३ लाई लक्षित गरेर पूर्वकै पर्यटकीय स्थल भेडेटारमा आयोजना गरिन लागेको तिनदिने फुडफेस्टिबल आज देखी शुरु हुने भएको हो। फेस्टिबललाई कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्रि गणेश प्रसाद उप्रेतीले उद्धघाटन गर्ने आयोजक होटल एशोसिएसनका निवर्तमान अध्यक्ष तथा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए। उनले फेस्टिबल पुष १५ गतेदेखि १७ गतेसम्म आयोजना हुने जानकारी दिए।


पर्यटकिय स्थल भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गराउन हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसर पारेर फुड फेस्टिबलको आयोजना गरिदै आएको एशोसिएसनका अध्यक्ष तुमराज लिम्बुले बताए।उनले एशोसिएसनले हरेक वर्ष आयोजना गर्दै आएको फुड फेस्टिबलको यो एघारौं संस्करण भएको समेत बताए। उनका अनुसार फुड फेस्टिबलमा स्थानीय जातिय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु उत्पादनहरु पनि प्रदर्शनीमा राखिने छन्। फेस्टिबलमा ३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ। फेस्टिबलमा हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति समेत रहनेछ।
फेस्टिबलमा आउने पर्यटकहरुले साँगुरीगढी गाउँपालिकाभित्र रहेको शैलुङडाँडा, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, पिकनिक स्पट, आत्मा बस्ने घर, सुर्योदय बौद्ध पार्क, नमस्ते झर्ना, साँगुरीगढी, नाम्जे गाँउ होम स्टे, ओख्रे भ्यू टावर, ध्वजेडाँडा, अजंगको वरको रूख, थाउजन बिग बुद्ध, स्काई वाक, जिपलाईन, रिडी नाम्जे ईको रिसोर्ट लगायतका ठाउँहरु अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ।(दिव्य रोशनी साप्ताहिकबाट)