कोदोको रक्सी र गोरुको मासु खाएर मनाईयो सांस्कृतिक अधिकार दिवस

दिव्य रोशनी/ धरानमा १७ औं सांस्कृतिक अधिकार दिवस मनाईएको छ।
शुक्रवार सांस्कृतिक अधिकार संरक्षण समितिको आयोजनामा १७ औं अधिकार दिवस मनाएको हो। समितीले हरेक वर्षको साउन ५ गतेलाई दिवसको रुपमा मनाउदै आएको छ। विगतका वर्षहरुमा झै यस पटक पनि कार्यक्रमको उद्धघाटन वाबु(चिण्डो) मा राखिएको कोदोको रक्सी र गोरुको मासु खाएर गरिएको थियो। कार्यक्रममा नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद सुनसरीका अध्यक्ष राम मान्डुपा प्रमुख अतिथी रहेका थिए। उनले नेपाल धर्म निरपेक्ष राष्ट्र भएपनि अझैपनि आदिवासी जनजातीहरुले गोरु काट्दा राज्यले अपराधी ठहरगरी जेलमा कोच्ने गरेको बताए। उनले आदिवासी जनजातीहरुलाई सस्कार गर्दा गोरुको मासु अनिवार्य भएको समेत बताए। उनले भने “हामीलाई कसैले उक्साएको भरमा र लहडमा लागेर गोरु काटेका होईनौं, पुर्खाहरुले जसरी संस्कार सस्कृति गरे यसैको अनुसरण गर्दै आएका छौं।” उनले संविधान समय सापेक्ष परिवर्तन हुँदै आएपनि अझैपनि जनआकांक्षा अनुरुप नभएको बताए।


कार्यक्रममा प्रवोध साप्ताहिकका सम्पादक लम्जेल संघर्षशिललाई आदिबासीको हक अधिकारको लागि कलम चलाएको भन्दै नगद पाँच हजार पाँच रुपैया सहित सम्मनपत्रले समान गरिएको थियो । सम्मानित पत्रकार संघर्षशीलले राज्यले आदिवासी समुदायको सांस्कृतिक अधिकार हनन् गरेर संस्कृति विहिनको अवस्थामा पुर्याएको बताए । त्यसैगरी कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ऋषि राईद्वारा गाईगोरु काटेर गरिने सांस्कृतिक संस्कार सम्बन्धीको संकलित लेख रचनाको संगालो “गोरु चिन्तन” पुस्तकको समेत विमोचन गरिएको थियो। उक्त पुस्तकका सम्पादक जनक ऋषि राईले संविधानले स्वीकार गरेको बहुलतालाई पुस्तकले सम्बोधन गरेको बताए। उनले पुस्तक प्रकाशनको छाटो समयमै देश विदेशमा समेत पुस्तकले चर्चा बटुलेको बताए।


यसैगरी कार्यक्रममा भुमिपुत्र आदिवासी पहिचानबादि अभियन्ताहरुले आफ्नो संस्कार संस्कृति अनुरुप गाई वा गोरु काट्न पाउनुपर्ने माग राखेका थिए।(साभारःदिव्य रोशनी साप्ताहिक वर्ष १९ अंक १०)