एडिबी खानेपानी परियोजनाको हिसाब किताब खोज्दै मेयर साम्पाङ (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ एसियाली विकास बैक(एडिबी)को ऋण तथा अनुदानमा धरानमा संचालित खानेपानी परियोजनामा भ्रष्टाचार भएको जनगुनासो आएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एडिबी खानेपानी परियोजनाको फायल खोलेको बताएका छन्।
आज सोमवार मेयर कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा मेयर साम्पाङले एडिबी खानेपानी परियोजनाको वास्तविकता बुझ्न र जनतालाई बुझाउन पनि फायल खोलिएको बताए। उनले केही समयअघि धरानका पूर्व तथा निवर्तमान जनप्रतिनिधी, निवर्तमान सांसदहरुको टोलीले धरानको खानेपानी समस्यामा चासो राखेपछि एडिबी खानेपानी परियोजनाको फायल खोल्न शुरु गरिएको बताए।
मेयर साम्पाङले दलहरुले चलाएको सिस्टममा आफु स्वतन्त्रबाट चुनिएर आएको बताउँदै सम्बन्धित निकायमा साथ र सहयोग नभएपनि जनतालाई आफुले सकेको जानकारी दिन चाहेको बताए। उनले तत्कालिन समयमा रहेका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीलाई फेलिएर भएको एडिबी खानेपानी परियोजनालाई बोर्डले स्वमित्व ग्रहण गरेको बारेमा स्पष्टिकरण मागिएकोमा निवर्तमान मेयर तथा उपमेयरले जवाफ दिन नचाहेको बताए। उनले भने “ खानेपानी परियोजनाका बारे स्पष्टिकरण माग्दा निवर्तमान प्रमुख उपप्रमुखले पत्रकार सम्मेलनगरी औचित्य नभएको जनाउदै स्पष्टिकरण दिन्नौ भन्नुभएछ, त्यो कतिको जायज हो?”
मेयर साम्पाङले सबै कुरा कर्मचारीको टाउको थुपारेर नहुने बताउँदै के कती कारणले खानेपानी परियोजनाको निर्णय गर्यौ भन्ने बारे जनतालाई बुझाउनुपर्ने बताए। उनले निवर्तमान मेयर उपमेयरलाई ९ बुँदे स्पष्टिकरण सोधिएको बताए।
मेयर साम्पाङले सोधेका ९ बुँदे प्रश्न तल हेर्नुहोस्।


एडिबीको ऋण लिएर संचालित आईयुडिपी खानेपानी आयोजनाले शर्त अनुसार पानी उत्पादन गर्न नसकेकोले धरानमा खानेपानीको अभाव भएको मेयर समम्पाङले दावी गरे। उनले जनताले चुनेका प्रतिनिधिले आम जनसरोकारको विषयमा सोधेको प्रश्नको पुर्ण उत्तरदायी भई उत्तर नदिनुले आयोजनामा चरम लापरवाही, आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको शंका उत्पन्न गराएको बताउँदै एडिबी खानेपानी सम्बन्धी सम्पूर्ण फाईलहरु खोलिने समेत जानकारी गराए।
हेर्नुहोस् मेयर साम्पाङले पत्रकार सम्मेलनमा जारी गरेको प्रेस विज्ञप्ती


पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका लेखा ईन्चार्ज शैलेस शाक्यले एकिकृत शहरी विकास आयोजना अन्तर्गत आर्थिकवर्ष २०७६/०७७ मा भएका खर्चहरु पेश गरेका थिए। उनका अनुसार नेपाल सरकारबाट अनुदान ५० करोड १३ लाख ९४ हजार ३ सय ३१ रुपैया ९९ पैसा, एडिबी अनुदान ६५ करोड ८९ लाख ५७ हजार ७ सय ३१ रुपैया १२ पैसा, नगर विकास कोष ६२ करोड १३ लाख ५३ हजार १ सय ६६ रुपैया ६९ पैसा र उपमहानगरपालिकाबाट ३८ करोड १ लाख ३३ हजार ९ सय ३४ रुपैया २० पैसा गरी कुल जम्मा २ अरब १६ करोड १८ लाख ३९ हजार १ सय ६३ रुपैया ९९ पैसा खर्च भएको छ।
यसैगरी पत्रकार सम्मेलनमा तत्कालिन आईयुडिपी योजना प्रमुख राजु पोख्रेलले खानेपानी आयोजना निर्माणका बारेमा जानकारी दिएका थिए।
मेयर साम्पाङले आईयुडिपी खानेपानी परियोजनाको पहिलो चरणमा फायल खोलिएको जानकारी दिदै अब बिस्तृत रुपमा पत्रकार सम्मेलनको आयोजना गर्दै धरानवासीलाई जानकारी गराईने बताए।