स्व. सुवास राई स्मृति सुपर ८ लिगकम नकआउटमा धरान १७ लाई ३ अंक

दिव्य रोशनी(धरान)/ स्व. सुवास राई स्मृति सुपर ८ लिगकम नकआउट अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा धरान १७ ले विजयी शुरुवात गर्दै ३ अंक जोडेको छ ।
धरान १६ स्थित रंगशालामा बिहिबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नं १७ ले धरान वडा नं ११ लाई १–० को गोलअन्तरले पराजित गर्दै ३ अंक बटुलेको हो। खेलमा धरान १७ का कृष्ण राईले ५० औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । उनी खेलको म्यान अफ दि म्याचसमेत घोषित हुँदै नगद १ हजार ५ सय सहित मेडल र ट्रफी पाए ।
प्रतियोगितामा वडास्तरीय गोधुली रनिङ कपको क्वार्टरफाइनलसम्म पुगेका टप ८ टिमको सहभागिता रहेको छ। जसमा गोधुलीका विजेता वडा १७ र उपविजेता वडा १५ सँगै वडा १, ५, ११, १४, १६ र २० पनि प्रतियोगितामा सहभागी रहेको छ ।
धरान उपमहानगरपालिका आयोजना र हाम्रो धरान भेट्रान क्लब संयोजन रहेको यस प्रतियोगिता जेठ २७ गतेसम्म संचालन हुनेछ। प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख, ट्रफी पाउनेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, बेष्ट मिड फिल्डरलाई नगद र ट्रफी पुरस्कार प्रदान गरिने भएको छ।
शुक्रबार गत वर्षको विजेता वडा नं १५ र वडा १४ बीच खेल हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।