सूर्य नेपाल सेन्ट्रल ओपन सुरूः पहिलो दिन शुक्रलाई अग्रता

सूर्य नेपाल गल्फ टुर २०२२÷२३ अन्तर्गतको पाँचौ प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र तामाङ ७ अन्डर ६५ को सानदार स्कोरमा शीर्षस्थानमा रहेका छन्।
भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै साबिक विजेता शुक्र शीर्षस्थानमा रहन सफल भएका हुन्। ६ अन्डर ६६ सहित भुवन दोस्रो स्थानमा रहेका छन्। जयराम श्रेष्ठ तेस्रो स्थानमा रहे। उनले ४ अन्डर ६८ मा पहिलो दिनको खेल सकाए। उनी लिडर शुक्र भन्दा ३ स्ट्रोकले पछि रहेका छन्।
प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सुर्य नेपाल प्रा. लिको प्रायोजनमा जारी प्रतियोगितामा १ अन्डर ७१ सहित निरज तामाङ चौथो स्थानमा रहे। प्रोफेसनलद्वय सञ्जय लामा र बलभद्र राई तथा एमेच्योर खेलाडी सद्भाव आचार्य र सुबाश तामाङले संयुक्तरुपमा पाँचौ स्थान बाँडेका छन्। उनीहरूले पहिलो दिन समान इभन पार ७२ खेले। शिवराम पौडेल र एमेच्योर खेलाडी क्याप्टेन नोर्बु शेर्पा १ ओभर ७३ सहित संयुक्त रुपमा नवांै स्थानमा रहेका छन्।
तीन प्रोफेसनल खेलाडीहरू रमेश अधिकारी, रामे मगर र दिनेश प्रजापति तथा एमेच्योरद्वय निश्चयजङ्ग रायमाझी र युवराज भुजेल २ ओभर ७४ को स्कोरमा संयुक्त ११औं स्थानमा रहे।
भारतीय गल्फ टुर समेत खेलिरहेका शुक्रले पहिलो दिन ७ अन्डरको उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन २ अन्डर ३४ मा सकाए। ४ पारको पहिलो होलमा इगल प्रहार गर्दै खेलको सुरुवात गरे। तेस्रो होलमा बर्डीको सफलता प्राप्त गरे भने छैटौं होलमा बोगी खेपे। यसपछि ब्याक नाइनमा उनले ११औं, १२औं, १५औं १६औं र १८औं होलमा बर्डी प्रहार गर्दै लोभलाग्दो प्रदर्शन गरे। ब्याक नाइन ५ अन्डर ३१ मा सकाए।
भुवनले फ्रन्ट नाइनमा ६ अन्डर ३० खेल्दै सानदार सुरुवात गरे। पहिलो, दोस्रो, तेस्रो र पाँचौ होलमा एक÷एक सट बचाए भने ५ पारको सातौ होलमा इगलको सफलता प्राप्त गरे। यसपछि ब्याक नाइनमा उनले सबै होलमा पार बचाए। जयरामले फ्रन्ट नाइन २ अन्डर ३४ मा सकाए। दोस्रो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा चौथो होलमा एक सट खेर फाले। यसपछि १४औं र १५औं होलको बर्डीले ब्याक नाइन पनि २ अन्डर ३४ मा नै पुरा गरे।
चौथो स्थानमा रहेका निरजले नवौं होलमा एक सट बचाउदै फ्रन्ट नाइन १ अन्डर ३५ मा सकाए। यसपछि ११औ र १८औं होलमा बर्डी प्रहार गरेपनि १२आंै र १५ औं होलको बोगीले ब्याक नाइन इभन पार ३६ मा पुरा गरे।
एमेच्योरतर्फ राष्ट्रिय टिमका सदस्य सद्भाव र नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबाश इभन पार ७२ को सहित संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन्। क्याप्टेन नोर्बु १ ओभर ७३ को नतिजामा तेस्रो स्थानमा छन्। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउनेछन्।
कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रोफेसनल तर्फको विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमश ५५ हजार र ४७ हजार हात पार्नेछन्। साथै उत्कृष्ट २१ मा प्रतियोगिता सकाउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।