नेपाल रेडक्रस सोसाईटी सुनसरीको ४८ औं साधारणसभाः केन्द्रिय तह गन्जागोल अवस्थामा

दिव्य रोशनी(धरान)/ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले नेपाल रेडक्रसको केन्द्रिय तह गन्जागोल अवस्थामा रहेको बताएकी छिन्।
शनिवार नेपाल रेडक्रस सोसाईटी सुनसरीको ४८ औं साधारणसभा उद्धघाटनका क्रममा मन्त्री चौधरीले मानव सेवामा समर्पित रेडक्रसका जिल्ला तहहरु सक्रिय देखिएतापनि केन्द्रिय तहहरु भने गन्जागोल अवस्थामा रहेको बताएकि हुन्। मन्त्री चौधरीले रेडक्रसको केन्द्रीय समितिमा देखिएको समस्यालाई समाधान गर्ने प्रयासमा आफू पनि लागेको बताउँदै जिल्ला तहका नेतृत्वले पनि सहजीकरण गर्नुपर्ने बताए। उनले भनिन् “धेरै विवाद आए यस्ता परोपकारी संस्थाहरु पलायन हुने खतरा बढ्न सक्दछ। यसको आवश्यक्ता भनेकै जोखिममा परेकालाई सहयोग गर्ने संस्था भएकाले यसलाई सबैले सहकार्य र समन्वय गरिनुपर्छ।”
सोहीक्रममा मन्त्री चौधरीले रेडक्रसको उद्धार कार्य, मानवीय सेवाको अभियानमा स्थानीय तहको सहयोग पनि जरुरी भएको बताईन्। उनले प्राकृतिक प्रकोप लगायतको मानवीय संकटको बेला रेडक्रसको सेवा अपरिहार्य हुने भएकाले सबै स्थानीय तहले रेडक्रस सँग सहकार्य र समन्वय गरेर मानवीय सेवाको कार्य गर्न आग्रह गरिन्।


यसैगरी कार्यक्रममा प्रदेश १ का सभासद रमेश बस्नेतले मानव सेवाको नामले चर्चित रेडक्रसको केन्द्रिय समितीमा नयाँ कार्य समिती चयन गर्न नसक्दा रेडक्रस आफै विपत्तिमा परेको बताए। उनले रेडक्रस केन्द्रिय समितीमा कानुनी हस्तक्षेप गरी समस्या सुल्झाउन समेत मन्त्री चौधरी समक्ष अनुरोध गरे।
त्यस्तै धरान उपमहानगरपालिका उपमेयर अइन्द्र विक्रम बेघाले द्वन्द्वकालको बेलामा घाइतेहरूलाई बचाउन सुनसरी रेडक्रसले गरेको योगदान प्रत्यक्ष अनुभव आफुले गरेको बताए। उनले संकटकालीन अवस्थामा रेडक्रसको सेवाबाट आफु प्रभावित भएको समेत बताए।


कार्यक्रममा रेडक्रस सुनसरीले रक्तदाता संस्थाहरू होप धरान, ब्लड फर नेपाल सुनसरी, वीपीकेआइएचएस स्टुडेन्ट ब्लड डोनर कमिटी, रेडक्रस सोसाइटी इटहरी उपशाखा लगायतलाई सम्मान समेत समेत गरेको थियो। सम्मानित संस्थाहरुलाई मन्त्री चौधरीले सम्मानपत्र प्रदान गरेकी थिईन्। रेडक्रस उपसभापति मुकुल कायस्थका अनुसार सम्मान पत्र पाउने संस्थाहरूले रक्त सञ्चारका लागि नियमित रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको, संकटकालीन अवस्थामापनि रगतको व्यवस्थापन गर्दै आएको र रक्तदानका लागि स्थानीय संघ, संस्थाहरू सँग समन्वयकारी भूमिका खेल्दै आएको बताए।
यस्तै, कार्यक्रमबीच रेडक्रसमा आबद्ध रही संघ, प्रदेश र स्थानीय तहको चुनावका बिजेताहरुलाई दोसल्ला र मायाको चिनोद्वारा सम्मान प्रदान गरिएको थियो।
सोही कार्यक्रममा रेडक्रसका संस्थापक सभापति सरला कायस्थको प्रतिमाको शिलायान्स समेत गरिएको थियो। जिल्ला रेडक्रस सुनसरीका मन्त्री प्रकाश राईको संचालन रहेको सो कार्यक्रम जिल्ला सभापति उमेश थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।(दिव्य रोशनी साप्ताहिकबाट)

40 thoughts on “नेपाल रेडक्रस सोसाईटी सुनसरीको ४८ औं साधारणसभाः केन्द्रिय तह गन्जागोल अवस्थामा

टिप्पणीहरू are closed.