पुष्प व्यापार मेला घाटामाः मेयर साम्पाङ नआएको व्यावसायीहरुको गुनासो(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरानमा जारी पाँचदिने पुष्प व्यापार मेलाको आज आईतवार समापन गरिएको छ।
फ्लोरिकल्चर एशोसिएसन नेपाल सुनसरीद्धारा आयोजित पाँचौं प्रादेशिक पुष्प व्यापार मेला आईतवार समापन भएको हो। विगतका वर्षहरुमा पुष्प व्यापार मेलामा हुने भिड यसवर्ष न्यून मात्रमा रह्यो। जस अनुरुप अपेक्षाकृत व्यापार हुन नसकेको पुष्प व्यावसायीहरुको भनाई छ। मेलामा काकडभिट्टा, विर्तामोड र काठमाण्डौबाट फूल खरिदका लागी आएपनि कारोवार भने मन्दि रुपमा भएको एभरेष्ट नर्सरी फार्म हाउसका संचालक तथा मेलाका संयोजक युविनहाङ राईले बताए। उनले स्थानियहरुमा विशेषतः मौसमी फूलहरुको आकर्षण बढेकाले मौसमी फूलहरु बढी मात्रमा बिक्री भएको बताए।


विगतका वर्षहरुमा फूलको कारोवार धेरै भएको देखाईएपनि यसवर्षको मेलाको ४ दिनसम्म १३ लाख ६७ हजार रुपैयाको कारोवार भएको आयोजक फ्लोरिकल्चर एशोसिएसन नेपाल सुनसरीका सचिव राजेश कुमार राईले बताए। उनले मेलाको अन्तिम दिनको हिसाव आउन बाँकी रहेको बताउदै मेलाको समापन सम्म लगभग १८ लाखको कारोवार हुने दावी गरे। यसअघि मेला आयोजकले पुष्प व्यापार मेलामा ५० लाखको कारोवार हुने आकंलन गरेका थियो।


मेलामा अपेक्षाकृत व्यापार नभएपनि मेलाबाट व्यवसायीहरु सन्तुष्ट रहेको फ्लावर जोनका संचालिका शिव कुमारी वान्तवाले बताईन्। उनीले व्यापार आफ्नो ठाउँमा रहेपनि सबैले चासोका साथ हेरेको र स्कुलका विद्यार्थीहरुले फूलबारे जानकारी लिएको बताईन्। साथै प्रदेश सरकार र नगर सरकारको भरपर्दो आर्थिक सहयोग नभएको कारण भने मेला घाटामा गएको व्यावसायीहरुको भनाई छ। स्व. तारा सुब्बा मेयर भएको बखत पुष्प व्यापार मेलाका लागी धरान उप–महानगरपालिकाले १ लाख छुट्याईदिदै आएकोमा यसवर्ष ५० हजारको मात्रै तोक लगाईदिएको मेलाका संयोजक युविनहाङ राईको भनाई थियो। उनले स्थानिय सरकार धरानका मेयर हर्क साम्पार्ङलाई विशेष अतिथीको रुपमा बोलाईदिदा पनि नआएको गुनासो गरे। उनले भने “अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त व्यक्ति मेलामा आएर बोलिदिए मात्र पनि व्यावसायीहरुको व्यापार बढ्ने थियो। तर उहाँ आउनु भएन, खै किन हो ?”। धरानको आगनमा भएको पुष्प व्यापार मेलामा मेयर साम्पाङको आगमन नहुदा व्यावसायीहरुले मन दुखेको बताएका थिए।

15 thoughts on “पुष्प व्यापार मेला घाटामाः मेयर साम्पाङ नआएको व्यावसायीहरुको गुनासो(भिडियो सहित)

टिप्पणीहरू are closed.