आनो के हो? यसका लक्षण तथा उपचार

डा. लोकेन्द्र अवस्थी/
आँखामा हुने विभिन्न समस्यामध्ये एउटा हो “स्टाइ“ जसलाई बोलीचालीको भाषामा “आनो“ भन्ने गरिन्छ । आनो भनेको एक प्रकारको खटिरा जस्तै हो जुन परेलाको रौं उम्रिने ठाउँको प्वालमा अर्थात् परेलाको जरो र परेलाको तेल ग्रन्थीमा “स्टेफाइलोकोकस“ ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ। संक्रमण भैसकेपछि यसमा पिप जम्मा हुन्छ र त्यसैलाई हामी आनो आउनु भन्ने गर्दछौ। यो आँखाको परेला भन्दा भित्र वा बाहिर र तल्लो वा माथिल्लो जुनसुकै परेलामा पनि आउन सक्छ ।
धेरैजसोलाई थाह होला हामी सानो छँदा यदि आँखामा आनो आयोभने बुढापाका मान्छेले यो त धेरै झुटो बोलेर आको हो भन्ने सुन्न पाइन्छ, जुन कुरामा कुनै सत्यता छैन ।
फोहर हातले आँखा चलाउँदा वा माड्दा, आँखा धेरै मिचिरहने बानीले, आनो भएको व्यक्तिले प्रयोग गरेको रुमाल वा तौलिया अरूले प्रयोग गर्दा, फोहर पानीले आँखा धुँदा यो समस्या उत्पन्न हुने गर्दछ । त्यसैगरी परेलामा चाँया पर्ने समस्या छभने पनि आनो हुने गर्दछ ।
आनो जुनसुकै उमेर समुहका व्यक्तिलाई पनि हुनसक्छ तर प्रायःजसो बालबालिकामा आनो बढी देखिने गर्छ । आनो एकपटक भैसकेपछि पनि फेरि फेरि आउन सक्छ र सामान्यतया यसले आँखाको दृष्टिलाई भने असर गर्दैन ।
लक्षणहरुः
– आँखा चिलाइरहने र माड्न मन लाग्ने
– आँखाको परेला भारी हुने
– आँखाको परेला सुन्निने
– खटिरा आउने र रातो हुने
– आँखाबाट आँशु बगिरहने वा चिप्रा आउने
– घाममा अथवा प्रकाशमा हेर्न अफ्ट्यारो हुने
उपचारः
सामान्यतया आनो केही समयमा आफै निको भएर जान्छ तर बारम्बार आनो हुने सम्यस्या छ भने चिकित्सकको सल्लाहमा एन्टिबायोटिकको प्रयोग गर्न सकिन्छ र दुखाइ धेरै भएमा दुखाइ कम गर्ने औषधिको प्रायेग गर्न सकिन्छ। आनो आएपछि घरमै गर्न सकिने उपचार जस्तैः सफा नरम कपडालाई मनतातो पानीमा भिजाएर दिनमा कम्तिमा २–३ पटक आखाँ सेक्ने । यसरी सेक्दा पीडा कम हुने, आखाँको वरिपरि सफा हुने र बन्द रहेका ग्रन्थीका प्वालहरु खुल्न मद्दत पुग्छ । आनो आएको आखाँलाई सफा राख्नुपर्छ र मिच्नु हुँदैन। आनो आएको बेला आँखाको मेकअप गर्नु हुँदैन। त्यसैगरी चिकित्सको सल्लाहबिना बजारमा पाउने औषधिको प्रयोग पनि गर्नु हुँदैन।
यसरी घरेलु बिधिबाट आँखाको हेरचाह गर्दा पनि सञ्चो भएनभने आखाँरोग विशेषज्ञको सल्लाह बमोजिम औषधि सेवन गर्नुपर्छ।
वृद्धअवस्थाका मानिसमा आनोको समस्या देखिए मधुमेहको जाँच गराउनुपर्छ र दृष्टिमा समस्या भए समयमै परीक्षण गरेर चस्मा लगाउनुपर्छ। तर आँखा धेरै सुन्नियो, धेरै दुख्यो, पिप या रगत निस्किन थाल्यो, ज्वरो आयो भने घरेलु विधि अपनाउनु भन्दा तुरुन्त स्वास्थ्य संस्थामा गएर जँचाउनु बुद्धिमानी हुन्छ। घरमा आफैले आनो फुटाएर पिप निकाल्ने, आनोमा लिसोको प्रयोग गर्ने आदि सकभर नगर्ने ।
आनोको रोकथामः
– प्राय बालबालिकामा यो समस्या बढी देखिने हँुदा उनीहरूको सरसफाइमा ध्यान दिनुपर्छ । धुलो, धुवाँ र फोहरबाट आँखालाई बचाउनुपर्र्छ । आँखा सँधैँ सफा पानीले धुनुपर्छ।
– आँखा चिलाउँदा मिच्नुहुँदैन ।
– आँखालाई असर पर्ने गरी मेकअपका सामान प्रयोग गर्नु हँुदैन।
– कन्ट्याक्ट लेन्स प्रयोग गर्नेले लेन्स लगाउँदा र निकाल्दा हात राम्ररी धुनुपर्छ ।
– समयमै उपचार गरिएन भने आनो फुटेर थप संक्रमण हुन सक्ने र आँखाको दृष्टिमा पनि समस्या उत्पन्न हुनसक्ने भएकाले बेलैमा चिकित्सकको परामर्श लिइ उचित औषधिको प्रयोग अत्यन्तै आवस्यक हुन्छ । आँखा एक संबेदनसिल अङ्ग भएका कारण चिकित्सकको सल्लाह बिना आँखामा कुनैपनी औषधिको प्रयोग गर्नु हुँदैन ।
(डा. अवस्थी वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत हुनुहुन्छ) (दिव्य रोशनी साप्ताहिकमा अशोज १८ गते प्रकाशित)

2,926 thoughts on “आनो के हो? यसका लक्षण तथा उपचार

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *