मलमास (अधिकमास) को महत्व

ज्योतिष नगेन्द्र प्रसाद रोईला


श्री मच्चन्दन चर्चितो ज्ज्वलवपु शुक्लाम्बरा मल्लिका।
मालाकलंकृतकुण्डला प्रविलसन्–मुक्ताssवली–शोभिता ।।
सर्वज्ञान–निदान–पुस्तकधरा रुद्राक्षमालाकरा।
वाग्देवी वदनाsम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्।।
मूकं करोति वाचालं, पङ्गु लङघयते गिरिम्।
यत्कृपा तमहं वन्दे परमाssनन्दमाधवम्।।
सच्चिदानन्दरुपाय विश्वोत्यत्यादिहेतवे।
तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।
देवी सरस्वती व्यास ततो जय मुदियरयेत।।
जुन चन्द्रमासमा सूर्यको संक्रान्ति हुँदैन, त्यसैमासको अवधिलाई अधिकमासमा भनिन्छ। अर्थात् जब कृष्ण पक्ष र शुक्ल पक्ष दुवैमा लगातार सूर्य संक्रान्ति हुँदैन तब अधिकमास हुन्छ। यसलाई मलमास अर्थात् पुरुषोत्तम मास पनि भनिन्छ। हरेक तीन वर्षमा चन्द्र वर्ष र सूर्य वर्षको समयान्तरलाई सामान्जस्य गर्नको निमित्त अधिकमास या पुरुषोत्तम मासलाई पंचांगमा स्थापित गर्ने विधान छ। धार्मिक तथा शास्त्रीय मत अनुसार मलमास तथा पुरुषोत्तम मासलाई विशेष महत्वका रुपमा वर्णन गरेको पाईन्छ।
सूर्यमान अनुसार वर्षमा ३६५ दिन, १५ घडी ३१ पला ३० विपला हुन्छ। जबकि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी पला १ पला र २३ विपला हुन्छ। सूर्य र चन्द्रमाबीच वर्षमा १० दिन ५३ घडी, ३० पला ७ विपलाको अन्तर हुन्छ। यसै समय अन्तरलाई समायोजन गर्नका निमित्त अधिकमासको व्यवस्था गरिएको हो। विशेषगरी अधिकमास फागुनदेखि कात्तिक महिनाको बिचमा पर्ने गर्दछ। सूर्य संक्रान्तिको आधारमा निर्णय गरिने अधिकमास परेको साल १३ महिनाको वर्ष हुन्छ।
विशेषगरी यो पुरुषोत्तम महिनामा कृष्ण दामोदर भगवान पुरुषोत्तमको पुजा ब्रत तथा कथा श्रवण गरिन्छ। हिन्दु वैदिक परम्परा अनुसार पुरुषोत्तम महात्म्य व्रत कथा प्रसङ्ग यसप्रकार रहेको छ। अघि कुनै समयमा एक हजार वर्षे यज्ञ गर्नै भन्ने विचारले नैमिषारण्य क्षेत्रमा कस्यप, मृगु, अंगिरा, माण्डव्य, अगस्त्य, कपील, कौशिक, अत्रि, भारध्वज, सौनक आदि नाम गरिएका ब्रम्हाको ध्यानमा लीन रहने वेद बेदाङ्मा पारंगत भएका अठासी हजार ऋषिमुनीहरु जम्मा भई यज्ञ गर्न तयार भए। त्यसैबेला तिर्थ यात्राका क्रममा घुम्दै सुतजी पनि त्यो यज्ञ भएको ठाउँमा आइपुग्नुभयो। वेदका ज्ञाता महान ज्ञानी सुतजीलाई देखेर सम्पूर्ण ऋषिमुनीहरु अत्यन्तै हर्षित भए। प्रणाम गरि उच्च आशनमा विराजमान गराए। सुतजीले पनि सम्पूर्ण ऋषिमुनीहरुलाई दण्तवतप्रणाम गरे। त्यसपछि सुतजीलाई स्वागत सत्कार गरि हात जोडी विनम्रपूर्वक सौनकादी ऋषिमुनीहरुले सोध्नु भयो संसाररुपी समुन्द्रमा डुबेकाहरुलाई पार लगाउने कल्याणकारी ज्ञानरुपी हरिलिला जुन परम आनन्द प्राप्त हुन्छ, त्यस्तो अमृतरुपी सुन्दर कथा हामीलाई सुनाउनुहोस् भनि बिन्ती गर्न लागे। तब ऋषिमुनीहरुको यस्तो बिन्ती सुनेर सुतजीले भन्नुभयो –“भगवान व्यासजीका मुखारविन्दबाट मैले जे कुरा सुनेको छु। सो अब म तपाईहरुलाई भन्दैछु, सुन्नुहोस्, अघि कुनै समयमा नारदमुनि नारायण भगवानको आश्रममा जानुभयो र नारायण भगवानलाई भेटी दण्डवत प्रणाम गर्नुभयो र स्तुती गर्न लाग्नुभयो। हे जगन्नाथ, कृपासागर तपाईलाई कोटी नमस्कार गर्दछु। भगवान्, म तपाइको शरणमा आएको छु । कृपागरी मेरो बिन्ति स्वीकार गरिबक्सियोस्। हे भगवान् यो कलियुगमा सबैको कल्याण हुने कुनै कुरा विचार गरि सुनाउनुहोस्, जुन पुण्य कथाको सार मात्रले सबैको हित हुन्छ। नारदजीको यस्तो कुरा सुनेर विष्णु भगवानले मुस्कुराउँदै भन्नुभयो। रासलीलाका मालिक वृन्दा वनमा विहार गर्ने, वज्रपति आदि पुरुष भगवान पुरुषोत्तमको अति अद्भुत् महात्म्य कथा श्रद्धाभक्ति साथ भन्दछु, सुन। पुरुषोत्तमको महात्म्य सुनि व्रत बस्नाले दरिद्रता नाश भइ सुख र शान्ति प्राप्त हुन्छ। सौभाग्य सन्तान प्राप्त हुन्छ। यसलोकमा सुख भोगी अन्त्यमा मोक्ष प्राप्त हुन्छ। त्यसपछि नारदजीले भन्नुभयो– हे भगवान् पुरुषोत्तम नामका कुन देवता हुनुहुन्छ। वहाँको महिमा बताई दिनुहोस् भन्नुभयो। तब भगवान्ले भन्न लाग्नुभयो। पुरुषोत्तम भन्ने नाम अधिकमास भन्ने महिनाको नाम हो र यो नाम कुनै कारणले युक्त रहेको छ। सो म बिस्तारबाट भन्छु।
पुरुषोत्तम महिनाका स्वामी पनि पुरुषोत्तम नै हुनुहुन्छ। यसैले ऋषिमुनीहरुले मलमास (अधिकमास) को त्यो महिनालाई पुरुषोत्तम भनेका हुन्। यो महिनाकाृ व्रत गर्नाले पुरुषोत्तम भगवानु प्रशन्न हुनुहुन्छ। व्रतको प्रभावले सम्पूर्ण मनोरथ पूर्ण हुनेछ। यसरी नारायण भगवानले नारदजीलाई पुरुषोत्तमको महिमाका बारेमा वर्णन गरेको कथा प्रसङगलाई सुतजीले सौनकादी ऋषिमुनीहरुलाई सुनाउँदै जानुभयो। परापूर्वकालमा महात्मा हरि भगवान श्री कृष्णजीले राजा युधिीिठरलाई बताउनुभएको थियो। एक समयमा राजा युधिष्ठिरलाई छलगरि धृतराष्ट्रका छोराहरुले जुवामा हराए। द्रौपदीलाई जगल्ट्याउँदै इज्जत लुट्ने प्रयास गरियो। त्यस समय श्रीकृष्णजीले द्रौपदीको इज्जत बचाउनुभयो। त्यसपछि युधिष्ठिरहरु वनवासतिर लागे। पाण्डवहरुले धेरै दुःख–कष्ट भोग्नु पर्यो। एकदिन ती दुःखी पाण्डवहरुको अत्यन्त दुखद अवस्था देखेर श्रीकृष्ण भगवानले धृतराष्ट्रका सबै छोराहरुप्रति क्रोध गर्नुभयो। श्रीकृष्णको त्यस्तो भयंकर क्रोधलाई शान्त पार्न अर्जुनले स्तुती गरि शान्त पार्नुभयो। तब पाण्डवहरुको हित हुने वचन भन्दै श्रीकृष्णले भन्नुभयो – हे अर्जुन चैत, बैशाख आदि गरिकन जो बाह्र (१२) महिनाहरु छन् र तिनका स्वामी पनि छन्। त्यसैगरी प्रत्येक महिनाका दुवै पक्ष अनि घडीहरु हुन्छन्। प्रहर, रात्री। मुहुर्त, ऋतु, अयन, वर्ष, युग तथा नदि, समुद्र, गाउँ, नगर, पर्वत आदि सबै औषधी आदिको आ–आफ्नो गुणहरुले पुजिन्छन्। कुनै समयमा एउटा अधिकमास उत्पन्नभयो त्यसमास (महिना) लाई अधिष्ठातृ देवता नभएको र सूर्य संक्रान्ति नपर्ने भएको अशुद्ध र अपुज्य मलमास भनि निन्दा गरे। निन्दा गरेको र आफु निन्दित भएकाले मेरा शरणमा आयो। एक समयमा वैकुण्ठधाममा आई मलमासले विष्णु भगवानसँगभन्यो– हे भगवान मलाई रक्षा गर्नुहोस्। म सबैको निन्दित महिना भएर बाँच्नुभन्दा मर्नु निको जस्तो भएर दुखित भएको छु। उद्धार गर्नुहोस्। त्यसपछि श्री हरिले भन्नुभयो–हे मलमास, तिमी गोलोक हिड श्रीकृष्ण भगवानले तपाईका सबै इच्छा पुरा गर्नु हुनेछ भनि नारयण भगवान र मलमास साथैमा गोलोक प्रस्थान गर्नुभयो।गोलोक पुगेर श्रीकृष्णलाई भन्नुभयो–यी मसँग आउने मलमास हुन्, अत्यन्तै दुखित छन्। यिनको कल्याणका निमित्त उपाय बताउनु होस्। यसको कुनै स्वामी पनि छैन। यसरी नारायण भगवानले स्वयंभनेपछि श्रीकृष्णले भन्नुभयो–हे नारायण तपाइ स्वयं लिई आउनु भएकाले मेरो पुरुषोत्तम नाम यसलाई दिनेछु। अबदेखी पुरुषेत्तम नामले पुजित हुनेछ र मेरा सबै गुणहरु पनि यसलाई दिनेछु। म नै यसको स्वामी हुनेछु। मेरो जस्तै मान पाएर यो महिना सबै महिनाहरुको राजा हुनेछ। यो अधिकमास जगतले पुज्ने र स्तुती गर्न योग्य हुनेछ। यस महिनाको पुजा गर्ने सबैको दुख र दरिद्र नास हुनेछ र सबै लोकलाई मोक्ष समेत दिन सक्ने हुनेछ।जसले पुरुषोत्तम नामले मलमासको पुजा गर्दछ त्यो सबै म मा नै मिल्दछ। पुरुषोत्तमका भक्तहरु एकै महिनाका ब्रतका प्रभावले अजर अमर प्राप्त गर्दछन्। अधिकमास यो ब्रत मलाई पाउने सम्पूर्ण साधकहरुका लागी उत्तम छ। त्यसैले पुरुषोत्तम महिनाको पुजा ब्रत सेवा सबैले गरुन्। जो मनुष्य यस पुरुषोत्तम महिनामा भक्तिपूर्वक मलाई पुजा गर्दछन् उनिहरु मनुस्य लोकमा धनधान्यले सम्पन्न भई सन्तानबमट पनि सुखि भई अनेक प्रकारमा सुख भोग गरेपछि गोलोकधाम पुग्दछन्। यतीभनी श्री कृष्णले भगवान विष्णु नारायणलाई प्रशन्न गराई अधिकमासलाई पनि खुसी तुल्याई बैकुण्ठ प्रस्थानका लागी बिदा गर्नुभयो। यसरी मलमासको बारेमा पौराणीक कथनहरु वर्णन गरेको पाईन्छ।
२०७७ सालको अश्विन २ गतेदेखी ३० गतेसम्म अधिकमास (पुरुषोत्तम मास) परेकाले यो समयअवधीभर विवाह, ब्रतबन्ध,पुराण, गृह प्रवेश आदि कार्यहरु गर्न बर्जित हुन्छ। विशेषगरी पुरुषोत्तम पुजा माहात्म्य ब्रत कथा गर्नु फलदाई रहेको छ। यो अवधिमा मन्दिर निमार्ण या देवी देवताको प्राण प्रतिष्ठा गर्न शास्त्रिय निषेध गरिएको छ। विशेष कामले गरिने कुनैपनि धार्मिक अनुष्ठान गर्न हुदैन। यसैगरी नव दम्पत्तिले पुरुषोत्तम महिना भरी संगै नबस्नु पनि भनिन्छ। यसैगरी निस्काम भावले गरिने नित्यकर्महरु भने गर्न बाधा हुने छैन। न्वाराना, जुठो, सुतक, घर मन्दिरमा गरिने दैनिक पुजा, जप ध्यान मन्त्र पाठ आदि गर्न हुनेछ।
यसै आश्विन महिनाको अन्तमा पुरुषोत्तम माहात्यको ब्रत तथा कथा श्रवणगरी आफ्नो जिवन धन्य बनाऔं। सबैलाई पुरुषोत्तम भगवानले कल्याणा गरुन। सबैको मनोरथ पुरा होस्। परिवारमा सुख शान्ति प्राप्त होस्। जय पुरुषोत्तम भगवान।

(लेखक ज्योतिष नगेन्द्र प्रसाद रोईला नेपाल ज्योतिष परिषद १ नं प्रदेशका महासचिव हुनुहुन्छ।उहाँ ज्योतिष सेवा सदन धरानमा कार्यरत हुनुहुन्छ) साभारः २०७७ असोज २५ गते आईतवार दिव्य रोशनी साप्ताहिकमा प्रकाशित

4,711 thoughts on “मलमास (अधिकमास) को महत्व