अपाङ्ग तथा अति विपन्न परिवारलाई खाद्यान्न वितरण

दिव्य रोशनी(धरान)/ आपाङ्ग पुनः स्थापना तथा असाहय सेवा केन्द्र नेपाल धरानले अपाङ्ग तथा असहाय र अति विपन्न परिवारलाई खाद्यान्न तथा उनिहरुका छोराछोरीहरुलाई स्टेशनरी सामान वितरण गरेको छ।
सोमवार केन्द्रको सम्पर्क कार्यालयमा भएको कार्यक्रममा २० जना अपाङ्ग तथा असहाय र अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो। विगत २ वर्षदेखि महिनाको १ गते र १५ गते खाद्यान्न तथा स्टेशनरी वितरण गर्दै आएको यो ३० औं पटक हो ।


स्थानिय समाजसेवी अशोक अग्रवालको सहयोगमा केन्द्रले खाद्यान्न तथा स्टेशनरी वितरण गर्दै आएको छ। कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्ले प्रमुख अतिथि रहेका थिए। उनले आफ्नो वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई वर्गीकरण गरी वडाले सहयोग गर्दै आएको बताए। यसैगरी महिला संजाल धरानकी पूर्व अध्यक्ष शिला बज्रचार्यले समाजसेवा गर्न मुखले मात्र हैन हृदय देखी नै समाजसेवाको भाव आउनुपर्ने बताईन्। यसैगरी समाजसेवी अशोक अग्रवालले मान्छे मरेर गएपछि केही पनि लिएर नजाने भएकाले जिवन रहेसम्म आफुले कमाएको केही अंश विपन्न परिवारका लागी पनि सहयोग गर्नुपर्ने बताएका थिए।


सोही अवसरमा केन्द्रले प्याङ्क्रियाजको क्यान्सर रोग उपचार गराईरहेका धरानका पत्रकार सञ्जिवकुमार राईलाई नगद ५ हजार रुपैयाँ प्रदान गरेको थियो। केन्द्रकी अध्यक्ष पुर्ण मास्केको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगर स्तरीय वातावरण समन्वय समिति धरान अध्यक्ष ललिता अघिकारी, दलित सेवा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश गजमेर, स्थानीय समाजसेवी सीता मैनाली, केन्द्रका प्रबन्ध निर्देशक सुनिल खड्का लगायतको उपस्थिती रहेको थियो।