धरानमा नास्टको कृषि तथा खाद्य प्रविधि बिशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना

दिव्य रोशनी(धरान)/ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को कृषि तथा खाद्य प्रविधि बिशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गरिएको छ।
धरान १६ स्थित पुरानो मालपोत कार्यालय रहेको भवनमा नास्टको कृषि तथा खाद्य प्रविधि बिशिष्टिकृत अनुसन्धान केन्द्रको कार्यालय स्थापना गरिएको हो। शुक्रबार एक समारोहबीच धरानका मेयर हर्क साम्पाङ र नाष्टका उपकुलपति प्रा.डा. दिलिप सुब्बाले उक्त कार्यालयको उद्घघाटन गरेका छन् । कार्यक्रममा प्रमुख अतिथी मेयर साम्पाङले प्रकृति, प्रविधि र सँस्कृतिको समुचित विकास हुँदा मात्र देशको विकास हुने बताए। उनले नाष्टलाई भौतिक पुर्वाधार सम्पन्न बनाउन तथा भवन निर्माणको लागी केन्द्र सरकारसँग पनि पहल गर्ने बताए।


कार्यक्रममा नाष्टका उपकुलपति प्रा.डा.सुब्बाले नास्ट स्थापना भएको ४० वर्षपछि संघीय संरचना अनुसार कर्णाली प्रदेश बाहेक ६ प्रदेशमा छुट्टा छुट्टै विषयमा अनुसन्धान केन्द्र स्थापना भएको बताए । उनले कोशी प्रदेशमा कृषिप्रधान र खाद्य उद्योगहरु बढी भएकोले धरानमा कृषि तथा खाद्य प्रविधिको बिशिष्टकृत अनुसन्धान केन्द्र बनाउने निर्णय गरिएको बताए। यस केन्द्रले कृषि उत्पादन वृद्धि गर्न नविन प्रविधिको प्रयोग गर्ने र खाद्य सुरक्षाको चुनौतीलाई समाधान गर्ने उनको भनाई थियो। त्यस्तै नाष्टका सचिव डा.रविन्द्र प्रसाद ढकालले कृषि र खाद्य प्रविधिको क्षेत्रमा अनुसन्धान केन्द्र देशभरिको लागि यही मात्र भएकोले प्रादेशिक नभै यो केन्द्रीय अनुसन्धान केन्द्र नै भएको बताए। कार्यक्रममा मनमोहन प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार डा. दिलनाथ फुँयाल, नाष्टका प्राज्ञ प्रा.डा.धनबहादुर कार्की लगायतले बोलेका थिए।