आगोले पोलेको प्राथमिक उपचार कसरी गर्ने ?

लोकेन्द्र अवस्थी

नेपालमा हरेक वर्ष आगलागीका घटनाहरु बढ्दो छ। भवितव्य रुपमा घट्ने आगलागीबाट करोडौे धनमालको नष्टहुने एकातिर छभने अर्कोतर्फ मानवियका घटनाहरु पनि हुने गर्दछ। बेलैमा सावधानी अपनाउन सकियोभने मानवियक्षतीलाई कम गर्न सकिन्छ । यसैले आगोले पोलेको बेलामा वा जल्दै गरेको मानिसलाई अस्पताल लानु अघि प्रारम्भिक प्राथमिक उपचार कसरी गर्न सकिन्छ भन्ने विषयमा सबैले जानकारी राख्नु जरुरी छ । त्यसको लागि निम्न उपायहरु अपनाउन सकिन्छ ।

१. यदि कोहि मानिस आगोले जल्दै गरेको छ भने, उसलाई बचाउन जाने मानिसले सर्वप्रथम आफू स्वयंको सुरक्षाको ख्याल गर्नुपर्छ ।

२. जलिरहेको मानिसलाई आगोको स्रोतबाट हटाउनुपर्दछ र जलिरहेको भए त्यसलाई रोक्नुपर्दछ । यसको निम्ति उक्त मानिसलाई रोक्ने, भुइँमा सुताउने र गुडुल्काउने विधि (Stop, drop and roll technique )अपनाउन सकिन्छ ।
यो विधी गाह्रो भए विकल्पमा कम्बल वा अरु कुनै बस्तुले छोपेर पनि बलिरहेको आगो निभाउन सकिन्छ ।

३.कुनै पनि दुर्घटनामा परेको मानिसको अवस्था चाडो थाहा पाउन अस्पतालमा स्वास्थ्यकर्मीले सास फेर्ने नलिको अवस्था, स्वासप्रस्वास, र रक्तसञ्चार (Airway, breathing, circulation ) को जाच गरेर थाहा पाउँछन् । यदि अस्पतालभन्दा टाढा रहेको स्थितीमा जो कोहीले पनि यी तीन प्रक्रियाको जाच विरामीको मुख वा घाटीमा केही अड्केको छ वा छैन, विरामीले सास फेरिरहेको छ वा छैन र नाडीको गति छ कि छैन भनेर जाँच गरेर थाहा पाउन सकिन्छ ।

४. आगोले पोलेको सामान्य घाउ छ भने त्यसलाई धारामा बगीरहेको चिसो पानीमा ५ देखि १० मिनेटसम्म राख्नुपर्छ । यसो गर्दा घाउको दुखाइ कम हुन्छ र छाला र भित्री भागलाई बढी बिग्रनबाट बचाउछ तर साह्रै चिसो वा बरफ भने प्रयोग गर्नु हुदैन ।

५. यदि शरीरमा लगाएको कपडा जलेको छ भने त्यसलाई विरामीबाट निकाली पोलेको भागलाई सफा कपडाले ढाक्नुपर्दछ । शरीरमा भएका गहनाहरु पनि फुकाल्नु पर्छ ।

६. जति सक्दो चाडो अस्पताल पुर्याएर चिकित्सकलाई सम्पुर्ण घटनाक्रम जस्तैः जल्नुको कारण, समय, धुवाँ भएको कोठामा बन्द भएको नभएको यथार्थ जानकारी दिनुपर्छ ।

७. घटना भएपछीको उपचारभन्दा घटना हुन नै नदिनु बुद्दीमानी हुन्छ । त्यसैले आगो, विजुली आदि चिजहरुको प्रयोग गर्दा विषेश ध्यान पुराउनुपर्छ । सकेसम्म त्यस्ता खतरापुर्ण वस्तुहरु बच्चाहरूको पहुँचबाट टाढा राख्नुपर्छ ।

आगोको जलनबाट बच्ने उपायहरुः

१) खाना बनाउँदा सजिलै आगोले टिप्ने लुगा नलगाउने।
२) ग्यास अन गर्नुभन्दा पहिले लिक छरछैन चेक गर्ने। यदि छ भने झ्याल ढोका खोल्ने र ग्यासको गन्ध सकिएपछि मात्र प्रयोगमा ल्याउने।
३) खाना बनाइसकेपछि कुनै पनि तातो चिज जस्तैः तातोपानी, चिया, दाल, तेल सजिलै बच्चाले भेट्ने ठाउँमा नराख्ने।
४) बच्चा बोकेर चिया अथवा कुनै पनि तातो चिज नखाने ।
५) तातो आइरन, थर्मस बच्चाले भेट्ने ठाउँमा नराख्ने।
६) आगो बाल्ने ठाउँ नजिकै मट्टितेल, पेट्रोल जस्ता पदार्थ नराख्ने।
७) चट्याङ पर्ने सम्भावना भएका बेला सकेसम्म कुनै पनि विघुतीय सामान प्रयोगमा नल्याउने।
८) छारेरोग, मुर्छा पार्ने रोग भएका बिरामीलाई एक्लै भान्सामा नछोड्ने।

सुझावः

कतिपय गाउँघरमा अझै पनि आगोले जल्ने बित्तिकै धामीझाक्रीमा लग्ने चलन छ। यो एकदमै नराम्रो कार्य हो। अन्य बिरामीलाई त स्वास्थ्य संस्था लानुपर्छ भने जलेका बिरामीलाई धामीझाक्री कहाँ लग्दा झन हालत बिग्रिन्छ, यस्ते कदापी गर्नु हुँदैन्।
पोलेको भागमा बरफ, टमाटर, बेसार, घिउकुमारी, नुन, जडिबुटी इत्यादि लगाएर पोलेको राम्रो हुन्छ भन्ने होइन ।
जलेको ठाउँमा पानी राख्नुस्। त्यसपछि अस्पताल लानुस ।
(लेखक अवस्थी, विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एम विविएस अन्तिम वर्षमा अध्ययनरत हुनुहुन्छ)

2,207 thoughts on “आगोले पोलेको प्राथमिक उपचार कसरी गर्ने ?

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *