डेंगु रोगः लक्षण तथा उपचार

दिव्य रोशनी/
अहिले नेपालको विभिन्न भु–भागमा डेंगुका बिरामीहरु देखा पर्न थालेका छन् । यो वर्ष तराईका धेरै जिल्लामा र केही पहाडी जिल्लाहरूमा समेत डेंगु फैलिरहेको छ । समयमै यस रोगको रोकथामको बारेमा नसोचिदा र जनचेतनाको आभावले हरेक वर्ष यसले महामारीकै रुप लिने गरेको छ ।

भाईरसद्धारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । डेंगु ज्वरो डेंगु भाइरसको संक्रमणले गर्दा लाग्ने रोग हो । यो भाइरस ४ प्रकारका हुन्छन् । डेंगु भाइरस–१, २, ३ र ४ । एक खालको भाइरसको संक्रमणबाट यो रोग लागेपछि जीवनभरलाई त्यो भाइरसबाट सुरक्षा मिल्छ, अर्थात् एकपटकको संक्रमणपछि जीवन भर इम्युनिटी हुन्छ । तर अन्य प्रकारका डेंगु भाइरसको संक्रमणबाट भने केहि समयलाई मात्र सुरक्षा हुन्छ र त्यो लागेपछि त्यसका जटिल समस्याहरु आउने सम्भावना बढेर जान्छ ।

चिकित्सा भासामा भन्ने हो भने डेंगु ज्वरोका तीन अवस्थाहरु हुन्छन्।

१. साधारण डेंगु ज्वरो
२. डेंगु हेमोरेजिक ज्वरो
३. डेंगु शक सिन्ड्रोम

हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुन्छ । यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुन सक्छ ।

डेंगु ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिजरब्भमभक)मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ ।

लक्षणहरुः
डेंगु भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरू देखिन थाल्छन्। यसका प्रमुख लछ्यण्हरुको कुरा गर्ने होभने

– एक्कासि उच्च ज्वरो आउनु हो, ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ
– आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने
– असाध्यै टाउको दुख्ने
– शरीरमा बिमिरा आउने
– ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने
– नाक वा गिजाबाट रगत बग्ने
– वाकवाकी लाग्ने
– पेट दुख्ने
– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने
( बेहोस हुने जस्ता लक्षणहरु देखिन सक्छन ।

बच्ने उपायहरुः
– सुत्ने बेलामा झुल लगाएर सुत्ने,
– घर वरिपरि सफा राख्ने,
– फोहोर पानी जम्न नदिने,
– हातखुट्टा छोप्ने गरी लामा कपडा लगाउने,
– घर वरिपरि लामखुट्टे मार्ने औषधीहरु छर्ने
– पानीको ट्यांकिलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी छोपेर राख्ने
– कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने
– फुलदानीमा रहेको पानी हप्तामा दुई पटक फेर्ने
– यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ
– सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।
– लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ
– घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ
– घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ ।

कसरी गरिन्छ परीक्षण ?

डेंगू ज्वरोको परीक्षण गर्न बिरामीको रगत तथा सेरमको नमुना लिने गरिन्छ । विभिन्न कोषहरुमा कल्चर गरेर कीट तथा सेरोलोजिकल टेस्टहरु आदि गरेर प्रयोगशालामा सजिलै रोगको पहिचान गर्न सकिन्छ !!

उपचारः

यस रोगको अहीले सम्म कुनै खास औषधि तथा सुइ खोप उपलब्ध छैन । आराम गर्ने, प्रशस्त पानि पिउने तथा ज्वरोको औषधी सेवन गर्ने, रगत बगेको अवस्थामा जति सक्दो चाँडो अस्पताल पुग्ने गर्नु पर्दछ । ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पीरीन तथा आईबुप्रोफेन भने खान हुँदैन । डेंगू ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।

डेङुको रोकथाम र जनचेतनाका लागि विभिन्न संघसंस्थाहरु र सरकारी टोलीहरु सकृय भएर लागिरहेका छन । सामाजिक संजाल मार्फत पनि जनचेतना जगाउने कार्यहरु भैरहेका छन ।

(लेखक अवस्थी, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत छन्।)

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *