धरान खेलकुद मन्चले “स्पोर्टस अवार्ड” प्रदान गर्ने

दिव्य रोशनी(धरान)/ धरान खेलकुद मन्चले “स्पोर्टस अवार्ड” प्रदान गर्ने भएको छ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले “स्पोर्टस अवार्ड” प्रदान गर्ने जनाएको हो। पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष किशोर राईले जेठ १८ गते पहिलो पटक धरानमा स्पोर्टस अवार्ड प्रदान गर्न लागेको जानकारी दिए। उनले उत्कृष्ट बर्ष खेलाडी महिला, पुरुष र उत्कृष्ट प्रशिक्षकलाई नगदसहित बर्ष खेलाडी स्पोट्र्स अवार्ड दिने बताए।
अवार्डको लागि मञ्चका निवर्तमान अध्यक्ष राजुमान श्रेष्ठको अध्यक्षतामा छनौट समिति गठन गरी सोही समितिले अवार्डको लागि खेलाडीहरुको मनोनयन गरेको थियो। छनौट समितिका सचिव सुधिरसिं लिम्बुका अनुसार बर्ष खेलाडी पुरुषतर्फ टेवल टेनिसका सिद्धार्थ तामाङ र फुटबलका सनम लिम्बु मनोनयन परेका छन् । त्यस्तै महिलातर्फ जुडोक्रसकी दिपिका आचार्य र बक्सिङकी जुनु लिम्बु र प्रशिक्षकतर्फ करातेका किरण लामा र बक्सिङका निमा लामा मनोनयनमा परेका छन्।


मनोनयनमा परेका यी ६ जनामध्येबाट प्रत्येक विधामा एक एक जनालाई मात्र अवार्ड प्रदान गरिने भएको छ । उत्कृष्ट बर्ष खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार सहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । मनोनयनमा परेका ६ जना खेलाडीमध्ये लोकप्रिय एक जनालाई मोष्ट पपुलर राइजिङ प्लेयरको अवार्ड पनि प्रदान गरिनेछ । यो अवार्ड पाउने खेलाडीले नगद ११ हजारका साथमा गिफ्ट ह्याम्पर पाउनेछन्।
यसैगरी धरान स्पोर्टस् लाइफटाइम एचिभमेन्ट अवार्डबाट राजुमान श्रेष्ठ र गीता थापा मगरलाई जनही ११ हजार, गिफ्ट ह्याम्पर पनि प्रदान गर्ने पनि अध्यक्ष राईले बताए।