तेस्रो हाम्रो धरान भेट्रान कपः हाम्रो ईटहरी भेट्रान फाईनलमा, दुधे भेट्रान अयोग्य, धरान भेट्रान फाईनलमा

दिव्य रोशनी(धरान)/ राजारानी भेट्रानलाई हराउँदै डिफेन्डिङ च्याम्पियन हाम्रो ईटहरी भेट्रान फुटबल क्लव धरानमा जारी तेस्रो हाम्रो धरान भेट्रान कपको फाईनलमा प्रवेश गरेको छ।
हाम्रो धरान भेट्रान फुटवल क्लबको आयोजनामा आज बुधवार धरान रंगशालामा भएको दोस्रो तथा अन्तिम सेमिफाईनल खेलमा राजारानी भेट्रानलाई ० का विरुद्ध १ गोल गर्दै हाम्रो ईटहरी भेट्रान फुटबल क्लव फाईनलमा प्रवेश गरेको हो। खेलमा हाम्रो ईटहरी भेट्रानका लिलाराम मगरले खेलको २५ औं मिनेटमा गोल गरेका थिए।
निकै नै प्रतिस्पर्धात्मक भएको खेलमा दोस्रो हाफको १६ औं मिनेटमा हाम्रो ईटहरी भेट्रानका दिवस राईले राजारानीका खेलाडी सन्तोष लिम्बुलाई डि–बक्स एरियामा लडाएपछि पाएको पेनाल्टीलाई सुमन श्रेष्ठले गोल गर्न नसक्दा राजारानीले बराबरी गर्ने सुवर्ण अवसर गुमाएको थियो। यसअघिपनि राजारानीले थुप्रै पटक गोल गर्ने सुवर्ण अवसरहरु पाएको थियो। तर गोल गर्न नसक्दा सेमिफाईनलबाटै बाहिरिनुपर्यो। खेलको म्यान अफ दि म्याच हाम्रो ईटहरी भेट्रानका तिर्थ बहादुर याक्सो घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे।


दुधे भेट्रान फाईनलका लागी अयोग्यः


यसैगरी हिजो मंगलवार धरान भेट्रान फुटबल क्लवले दुधे भेट्रान क्लव विरुद्ध लगाएको प्रोटेस्ट लेटर आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लवले सदर गरेको छ। आज बुधवार विज्ञप्ती जारी गर्दै धरान भेट्रानले लगाएको प्रोटेस्टमा दुधे भेट्रानका गोल किपर डम्बर बहादुर सेलिङ भेट्रानका लागी अयोग्य(उमेर कम, ४० वर्ष मुनी) रहेको बारे छानबिन गर्दा जन्म मिती नमिलेकाले प्रतियोगिताको अनुशासन समिती संयोजकको ठहर अनुसार आयोजकले दुधे भेट्रानलाई प्रतियोगिताबाट अयोग्य ठहर्याएको जनाएको छ। विज्ञप्तीमा अनुशासन समितीका तिर्थराज आले मगर र हेम गुरुङ, संयोजक राकेश राई र अध्यक्ष अशोक कुमार राईद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रोटेस्ट लगाईएका खेलाडी दुधे भेट्रानका गोल किपर डम्बर बहादुर सेलिङले नक्कली नागरिकता पेश गरेका कारण दुधे भेट्रानलाई फाईनल खेलका लागी अयोग्य ठहराउदै धरान भेट्रान फाईनलमा प्रवेश गरेको जनाएको छ।
शनिवार हुने फाईनल खेल हाम्रो ईटहरी भेट्रान र धरान भेट्रानका बीच हुने छ। गतवर्ष पनि यही दुई टिम फाईनलमा प्रवेश गरेको थियो। जसमा हाम्रो ईटहरी भेट्रान च्याम्पियन बनेको थियो।

हाम्रो ईटहरी भेट्रानलाई पनि प्रोटेस्टः यसैबिच आज भएको हाम्रो ईटहरी भेट्रान र राजारानीको खेल समाप्ती पश्चात हाम्रो ईटहरी भेट्रानले कम उमेरका खेलाडी खेलाएको भन्दै राजारानी भेट्रानले प्रोटेस्ट लगाएको छ। यसबारे भोली छलफलहुने आयोजकले जनाएको छ। यदि प्रोटेस्ट सदर भए शनिवार हुने फाईनल खेलमा ईटहरीको स्थानमा राजारानीले सहभागिता जनाउने छ। प्रतियोगिताको बिजेताले ट्रफि सहित १ लाख ५ रुपैया र उपविजेताले ६० हजार ५ रुपैया सहित ट्रफि प्राप्त गर्नेछ । त्यस्तै ईण्डिभिजुअल पुरस्कार तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचले जनही नगद ३ हजार सहित मेडल र ट्रफी प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ताले नगद ४ हजार र प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद ५ हजार सहित मेडल र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।