भुटानबाट लखेटिएका नेपालीहरुलाई एकताबद्ध बनाईने मुख्यमन्त्रिको उद्धघोष(भिडियो सहित)

दिव्य रोशनी/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकता, भाषा, संस्कार र संस्कृति अलग भएपनि भुटानबाट लखेटिएका नेपालीहरुलाई एकताबद्ध बनाउन कोशी प्रदेश सरकारले विशेष भूमिका खेल्ने बताएका छन्।
सो कुरा उनले शनिबार मोरङको पथरी स्थित भुटानी शरणार्थी शिविरमा स्वास्थ्य चौकी भवनको उद्घघाटन गर्ने क्रममा बताएका हुन्। ईन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले निर्माण गरेको सो स्वास्थ्य चौकीको उद्घघाटन गर्दै मुख्य मन्त्री कार्कीले “सयौ थुंगा फुलका हामी एउटै माला नेपाली” भन्ने वाक्यांशलाई सार्थकता तुल्याउन आफु पदमा भएपनि नभएपनि आफ्नो सँधैं साथ रहने प्रतिवद्धता जनाए।
“हिजो आफ्नै बाउबाट छुटिएर गएको छोरा अहिले आउदा यो भुटानी हो, यो आसामी हो, यो बर्मेली हो” भन्ने भावना नै कमजोर रहेको बताउँदै मुख्यमन्त्री कार्कीले काठमाण्डौ शहरमा बस्नेले सिराहाका मानिसलाई नेपाली देख्दैन भने भुटानका नेपालीको कुरा अलग्यै भएको बताए। उनले भने “मैले हेर्दा कोही पनि भुटानी देख्दिन, सबै नेपाली देख्छु, नागरिकता, भाषा संस्कार ,संस्कृती अलग हो। ती सबै नेपालीहरुलाई एकताबद्ध बनाउन कोशी प्रदेश सरकारको भूमिका हुन्छ।”


सोहीक्रममा मुख्यमन्त्री कार्कीले मानविय विकासबाट भौतिक विकासको संरक्षण हुन्छ र परिवर्तनशील भौतिक विकास गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ कोशी प्रदेश सरकार अगाडी बढेको बताए। उनले अन्य प्रदेश र काठमाण्डौंले गर्छ या गर्दैन त्यो नहेर्ने बताउँदै कोशी प्रदेश सरकारले विश्वभर छरिएर रहेका नेपालीहरुलाई कोशी प्रदेशमा लगानी गर्न अन्तर्राष्ट्रिय दातृनिकायलाई आग्रह समेत गरे।
नेताहरुको बोली र व्यवहार फरक फरक भएकाले जनाताले पत्याउन छाडेको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार जे बोल्छ त्यही मात्र गर्ने र जे गर्छ यही मात्र बोल्ने पनि बताए। उनले भविष्यका कर्णधार बालबालिकाहरुको स्वास्थ्य उपचार कोशी प्रदेश सरकारले निःशुल्क गरेको जानकारी दिंदै उच्च शिक्षा हासिल गर्न नसकेको युवाहरुलाई पनि सरकारले निःशुल्क छात्रवृत्ति दिने उद्धघोष समेत गरे।
एक फरक प्रसंगमा मुख्यमन्त्री कार्कीले आफ्नो नेतृत्वको सरकार २ वर्षको लागि आरामले चल्ने बताउँदै विपक्षीहरुले अविश्वासको प्रस्ताव ल्याउने ठाउँ समेत नरहेको दावी गरे।


कार्यक्रममा ईन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले भुटानबाट लखेटिएका नेपाली समुदायका भुटानी शरणार्थीहरूलाई सहजरुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्न स्वास्थ्य चौकी निर्माण गरिएको बताए। उनले झापाको बेलडाँगी र मोरङको पथरी शनिश्चरेमा रहेका नेपालीभाषी भुटानी शरणार्थीहरूलाई स्वास्थ्य, शिक्षा, रोजगारी, लगायतका विभिन्न सेवा सुविधाहरु उपलब्ध गराउन मुख्य मन्त्री समक्ष अनुरोध समेत गरे। यसैगरी ईन्ट्रा फाउण्डेशनका संयोजक राम वानियाँले भुटानी शिविरमा स्वास्थ्य चौकी नहुँदा वृद्ध बुवाआमाहरु रातको १२ बजेपनि दमक जानुपर्ने बाध्यता देखेर ईन्ट्रा फाउण्डेशसनले स्वास्थ्य चौकी निर्माण गरेको बताए। उनका अनुसार हाल स्वास्थ्य चौकी विपी प्रतिष्ठान धरानका डा. रविन मास्केको मातहतमा ५ वटा बेडबाट संचालन गरिएको छ।
सोहीअवसरमा दमक र पथरी शनिश्चरे नगरपालिकालाई विरामी ओसार÷पसार गर्न सहजताका लागि ईन्ट्रा फाउण्डेशनले दुईवटा एम्बुलेन्स समेत हस्तान्तरण गरेको थियो। कार्यक्रममा ईन्ट्रा फाउण्डेशनका नेपाल दुत (एम्बास्डार) दिलिप रायमाझीको पनि उपस्थित रहेको थियोभने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आआफ्ना विभिन्न सांगीतिक तथा सांस्कृतिक नृत्य प्रस्तुति समेत दिएका थिए। सो कार्यक्रम आरजे नरेश भट्टराईले सञ्चालन गरेका थिए। (दिव्य रोशनी साप्ताहिकबाट)