साबुन उद्योग खोलेर उद्यमी बन्दै मनिता(भिडियो सहित)

मनिता चाम्लिङ
दिव्य रोशनी (धरान)/
“महिलाहरु चुलोचौकामा मात्रै सिमित हुनुपर्छ” भन्ने पुरातनवादी सोंचलाई पन्छ्याउँदै धरानकी मनिता घिमिरे अहिले उद्यमी बनेकी छन्।
स्नाकोत्तर सम्मको अध्ययन गरेकी मनिताले सरकारी जागीर खोज्नुको सट्टा अहिले आफै उद्यमी बनेकी छिन्। समाजमा महिला उद्यमीका रुपमा चिनाउन सफल मनिताले घरैमा साबुन उद्योग खोलेर आत्मनिर्भर बनेकी हुन्। ६ वर्षअघि काठमाण्डौको ठेमलमा अग्र्यानिक साबुन उद्योग देखेपछि उनलाई पनि साबुन बनाएर उद्यमी हुने रहर जागेको बताईन्। काठमाण्डौंको ठमेल टुरिजम एरिया भएकोले अग्र्यानिक (नेचुरल) साबुन, फेसवास बढि बिक्री हुने भएकोले उनले पनि १० दिन साबुन बनाउने तालिम लिएर साबुन बनाउन थालेको बताईन्।
मनिता धरान फर्केपछि घर वरिपरि पाईने निम, तितेपाती, चारकोल, मह लगायतको अग्र्यानिक वस्नु प्रयोग गरि घरैबाट साबुनको उद्योग शुरु गरिन्। मनिताका अनुसारशुरुवातका दिनहरुमा उनले गाजरको फेसवास र तितेपाती, निमको साबुन बनाएर छिमेकी दिदी बहिनीहरुलाई निःशुल्क वितरण गरिन्। विगतका क्षणहरु सम्झँदै उनले भनिन्–“दिदी बहिनीहरुलाई दिएको फेसवास र साबुनको फिड ब्याक राम्रो पाएँ।”
त्यसपछि उनलाई दिदीबहिनीहरुले बिक्रीका लागी समेत बनाउन आग्रह गरेपछि आफैंले घरैबाट निम, तितेपाती, चारकोल, महबाट अग्र्यानिक नुहाउने साबुन बनाएर बिक्री गर्न शुरु गरेको बताईन्। उनको उत्पादनले बिस्तारै बजार लिन थालेपछि ४ वर्षअघि उनले सम्बृद्धि प्राकृतिक साबुन उद्योग दर्ता गरि सञ्चालनमा ल्याएको उनले बताईन्। प्रायःजसो उनले उत्पादन गरेको साबुनहरु बिक्रीका लागी काठमाण्डौ जाने गरेको छ। विशेषगरी उनले अनलाईनबाट साबुनहरु बिक्री हुने गरेको बताईन्। “अहिलेको डिजिटल जमानामा समाजिक संजाल मार्फत् बिक्री वितरण गर्न धेरै सजिलो छ।” उनले भनिन्। काठमाण्डौ र धरानमा हुने व्यापार महोत्सवहरुका स्टलमा उनले उत्पादन गरेको साबुनहरु राखी बिक्री वितरण गर्दै आएकी छिन्।


अहिले धरानमा सुनसरी उद्योग वाणिज्य संघद्धारा संचालन भईरहेको धरान एक्स्पोमा समेत स्टल राखेकी छिन्। शुक्रवार दिव्य रोशनी संँगको भेटमा घिमिरेले यस्ता औद्योगिक व्यापार मेलाहरुले महिला उद्यमीहरुलाई आफ्ना उत्पादनहरुको प्रचार/प्रसारमा सघाउ पुर्याएको बताईन्। उनले यसअघि काठमाण्डौमा भएका व्यापारीक प्रदर्शनी तथा धरानको जन्मोत्सव (धरान डे) मा पनि आफ्नो सामान अत्याधिक बिक्री भएको बताईन्। उनले भनिन् “अहिलेको आर्थिक मन्दीमा उद्योगी व्यवसायीहरुका लागी यस्ता मेला महोत्सव संजिवनी सावित हुने गरेको छ।”
अहिले हरेक चिजमा बढ्दो विषादी प्रयोग भईरहेको अवस्था छ। तर उनले बनाएको साबुन शुद्ध अग्र्यानिक हो। अग्र्यानिक वस्तुले स्वास्थ्यमा सकरात्मक प्रभाव पार्ने भएकाले नै एकपटक खरिद गरेका ग्राहकहरु दोहोरिने गरेको घिमिरे बताउँछिन्। कहिलेकाही अर्डर अनुसारको धेरै सामान पठाउन नसक्दा “हामी नुहाउन, मुख धुन पाएनौ, कहिले सामान पठाउनुहुनछ?” भनेर उपभोक्ताहरुले फोन गरेको समेत सुनाईन्। उनले भनिन् “उपभोक्ताहरु सन्तुष्टि भएको देख्दा आफु नै सन्तुष्ट हुन्छु, त्यतीखेर खुशी पनि लाग्छ। आफ्नो उद्योगले सफलता पाउदै गएको जस्तो लाग्छ।” घिमिरेका अनुसार उनले उत्पादन गरेका साबुनहरु आफ्नै हातले बनाएका हुन्। मह, तितेपाती, निम, घिउ कुमारीजस्ता वनस्पतिबाट बनिएका साबुनहरूले एलर्जी निको पार्न र अनुहारमा भएका घाउ र विभिन्न दागहरू हटाउन मद्धत गर्दछ। उनको उत्पादन अहिले नेपाल अधिराज्यभर पुग्ने गरेको घिमिरे बताउँछिन्।
उनले साबुनमा प्रयोग हुने तितेपाती, निम, घिउ कुमारी, मह जस्ता सामानहरु जहाँ उत्पादन हुन्छ त्यहीबाट मगाउने गरेको समेत बताईन्। जसले गर्दा अन्य व्यक्तिले पनि रोजगारीको अवसर पाएको उनको भनाई छ। त्यसो त उनी आफु मात्र उद्यमी बन्ने हैनन्, उनले थुप्रै स्थानमा साबुन बनाउने तालिम समेत दिदैं आएकी छिन्। उनले तालिम दिएका ईटहरीका महिला दिदी बहिनीहरुले अहिले आफैं साबुन उत्पादन गरेर बिक्री वितरण गरेको देख्दा आफुलाई खुसी लागेको बताईन्।
उनले भनिन् “महिलाहरु आर्थिक क्षेत्रमा कमजोर हुँदा घर परिवारको अवहेलना सहनुपरेको छ, तर यस व्यवसायले बेरोजगार, विपन्न र फुर्सदिला महिलाहरुलाई स्वरोजगारको अवसर सिर्जना गरेको छ।”
एकैपटक धेरै कमाउने उद्धेश्य राखेर केही नहुने बताउँदै घिमिरेले थोरै थोरै कमाईमा पनि खुसी हुन सक्नुपर्ने बताईन्। उनले महिलाहरु आफुले जानेको सिपलाई प्रयोग गरी मस्यौरा, अचार जे भएपनि बनाएर उद्यमी बन्न सल्लाह दिन्छिन्। “सबैले आ–आफ्नो ठाउँबाट जे छ, जे सकिन्छ त्यो उद्यम गर्नुपर्छ। देशको अहिलेको अवस्थामा उद्योग नगरी केही गर्न सकिंदैन, जुनसुकै देशहरु उभो लाग्नुमा उद्योगधन्दाकै कारणले हो” उनी भन्छिन्।
धरान १५ निवासी घिमिरेले शुरुवातमा २५÷३० हजारको लगानीमा घरबाटै व्यवसाय शुरु गरेकी थिईन्। उनले अहिले आफ्नो व्यवसाय दर्ता समेत गरि अघि बढाउँदै लगेकी छिन्। नेपालमा हेण्डमेड (हातले बनाईने) साबुन विरलै पाईने भएकाले उनको साबुनले बजारमा छिट्टै लोकप्रियता कमाएको छ। केमिकलयुक्त सस्तो साबुन चलाउन बानी परेका उपभोक्ताहरुलाई शुरुवाती दिनमा बुझाउनै कठिन भएको उनले बताईन्। “अहिले आएर उपभोक्ताहरुले अग्र्यानिक साबुनको बारेमा बुझ्न थालेका छन् ” उनले भनिन्।
उनले उत्पादन गरेका साबुनको मुल्य १ सय ५० कायम गरेकी छिन्। आफुले उत्पादन गरेको साबुन विषादी रहित भएकाले सबैले अग्र्यानिक साबुन नै प्रयोग गर्न सुझाव दिन्छिन्। साथै स्थानिय सरकारले पनि बजारिकरणमा मुख्य भूमिका खेलिदिनुपर्ने उनी बताउँछिन्। अग्र्यानिक साबुनबाट उद्यमी बनेकी मनिता यसै व्यवसायबाट अहिले आर्थिक र सामाजिक रुपमा सन्तुष्टि मिलेको बताउँछिन्।(दिव्य रोशनी साप्ताहिकबाट)