धरान एक्स्पोमा आज मेलिना राईको धमाकेदार प्रस्तुति रहने

धरान÷चर्चित गायिका मेलिना राईले आज धरान एक्स्पोमा धमाकेदार प्रस्तुति दिने भएकी छन् ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा फागुन ११ बाट सञ्चालन भैरेको एक्सपोमा आज मेलिनाले आफ्ना साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

मेलिनाको ‘कम्मरमाथि पटुकी’, ‘शीरैमा शीरबन्दी’, ‘तिमीले बाटो फेर्‍यौ अरे’, ‘कुटुमा कुटु सुपारी दाना’ जस्ता दर्जनौं गीत चर्चित छन् । साँझ ६ बजे देखि सुरु हुने साङ्गीतिक कार्यक्रममा स्थानीय कलाकार र समूहको समेत प्रस्तुति रहनेछ ।

स्थानीय पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको धरान एक्स्पोमा स्थानीय उत्पादनका साथै, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सयवटा स्टलमा विभिन्न उत्पादनका सामानहरु बिक्री वितरणका लागि राखिएका छन्।