धरान १० के. रनमा पुरुषतर्फ केन्याका जुलिअस र महिलातर्फ सन्तोषी प्रथम

दिव्य रोशनी(धरान)/ नेपालकै सर्वाधिक धावक/धाविकाहरुको सहभागिता हुने धरान १० के. रनको १२ औं संस्करण शनिवार धरानमा सम्पन्न भएको छ।
नेपालमा नै पहिलोपटक धावक/धाविकाहरुलाई टाईमिङ चिप लगाएर समय मापन गरिएको १० के रन प्रतियोगितामा पुरुष खुल्लातर्फ केन्याका जुलिअस मुरिउकी र महिला तर्फ काठमाण्डौकी सन्तोषी श्रेष्ठले जितिन्। प्रयिोगितामा केन्याका मुरिउकीले ३२ मिनेट ५० सेकेण्डमा १० किमी दौड पुरा गरेका थिएभने सन्तोषीले ३८ मिनेट ०८ सेकेण्डमा दौड पुरा गरिन्।
यसैगरी खुल्ला पुरुषतर्फ धरानका प्रशान्त तामाङले ३४ मिनेटमा दुरी पार गर्दै दोस्रो भएभने धरानकै पवन राईले ३४ मिनेट ११ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए। त्यस्तै महिलातर्फ छेन्वी माया राईले ४४ मिनेट ०२सेकेण्डमा निर्धारित दुरी पार गरिदोस्रो भईन्भने ईन्द्रकला नेम्बाङले ४५ मिनेट २८ सेकेण्डमा दुरी पार गर्दै तेस्रो बनिन्। खुल्ला तर्फका महिला/पुरुष बिजेताहरु पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद ६० हजार, ४० हजार र ३० हजार नगद सहित आकर्षक पुरस्कार प्रदान गरिएको थियो।
यसैगरी प्रतियोगितामा अण्डर १६ पुरुषतर्फ तिलक राईले ४० मिनेट ३४ सेकेण्डमा दुरी पार गर्दै पहिलो भएभने दिपेन मुखिया राई ४० मिनेट ३७ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र किमोन भट्टराईले ४० मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भए। त्यस्तै महिलातर्फ जुही राईले ४९ मिनेट १३ सेकेण्डमा दुरी पार गर्दै पहिलो बनिन्भने बिनिता राई ५० मिनेट ४५ सेकेण्डमा दुरी पार गर्दै दोस्रो र शिल्पा राईले ५७ मिनेट ३३ सेकेण्डमा दुरी पार गर्दै तेस्रो भईन्।


यसैगरी भेट्रान पुरुष तर्फ रेवत दाहाल, कर्मा शेर्पा र प्रविन राई पहिलो, दोस्रो र तेस्रो बने भने महिला भेट्रान तर्फ जमुना लिम्बु पहिलो, चन्द्रा राई दोस्रो र सोम माया राई तेस्रो बनिन्। यसैगरी प्रतियोगितामा सुपर भेट्रान पुरुष तर्फ तिल बिक्रम सम्बाहाम्फे र महिला तर्फ कृष्ण देवी राई घोषित भए। त्यस्तै १२ वर्ष मुनि र १२ देखी १५ वर्ष सम्मका महिला तथा पुरुष विजेताहरुले जनही ७ हजार, ५ हजार र ३ हजार नगद सहित आकर्षक उपहार प्रदान गरिएको थियो।


साथै ह्वीलचेयर रेशमा विजयी महिला तथा पुरुषहरुलाई समेत पुरस्कार प्रदान गरिएको थियो। विजेता तथा उपविजेताहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई, उपप्रमुख अईन्द्र बिक्रम बेघा लगायतले पुरस्कार प्रदान गरेका थिए। यसपटकको धरान रनको १२ औं संस्करणमा ३६ सय भन्दा बढी धावकधाविकाहरुले सहभातिा जनाएको धरान रन समूहले जनाएको छ।


यसैगरी कार्यक्रम अघि बिग्रेड गोर्खा बैण्डले आकर्षक रुपमा प्रस्तुति समेत दिएको थियो।कार्यक्रममा विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो। समूहले धरान रनबाट संकलित रकम नेवा च्यारिटी अन्तर्गत रहेको नेवा एजुकेशन फण्डबाट १२ जना गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति अन्तर्गत आवश्यक शैक्षिक सामग्री कापी कलम, जाडोको पोसाक समेत वितरण गर्दै आएको छ।