फागुन २६ देखी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप हुने(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ यही फागुन २६ देखी धरानमा २४ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप हुने भएको छ।
आज विहिवार धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धरान फुटबल क्लवले सो कुराको जानकारी दिएको हो।


पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष प्रताप तामाङले पूर्ण रुपमा व्यावसायिक हुन नसकेको खेलकुद क्षेत्र र देशले भोगिरहेको आर्थिक मन्दिका कारण प्रतियोगिता आयोजना गर्न चुनौतीपूर्ण रहेको अवस्थामा अल्कोहल जन्य पेय पदार्थले प्रायोजना गर्न नपाउने नेपाल सरकारको नयाँ नीतिका कारण धेरै खेलकुद प्रतियोगिताहरु आयोजनामा ठुलो असर पुगेको बताए। उनले देशमा हुने खेलकुद प्रतियोगिताहरुलाई अल्कोहल जन्य पेय पदार्थले प्रतियोगिताहरुलाई प्रायोजन गर्ने सम्बन्धमा नीति नियम बनाएर संशोधन गर्न नेपाल सरकार संग माग समेत गरे।
प्रतियोगिताको विजेताले नगद १० लाखको साथमा ट्रफि प्रमाणपत्र प्राप्त गर्नेछन्भने उपविजेता टिमले नगद ५ लाख सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख प्राप्त गर्नेछन्भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार प्राप्त गर्नेछन्। त्यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राईकर, र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार प्राप्त गर्नेछन्भने प्रत्येक खेलको म्यान अफ दि म्याचले नगद १० हजार पा्रप्त गर्ने क्लवका महासचिव नविन राईले बताए।
प्रतियोगिताको संयोजन धरान उपमहानगरपालिकाले गरेको छभने गोरखा बु्रअरी, आईएमई, क्वालिटी नुडल्स ईण्डष्ट्रिज प्राली, एनी, एक्सटेप, सुनसरी टेक्निकल कलेज र सिंगापुर वेभरेज नेपाल प्रालीले प्रायोजन गर्ने भएको छ।
सम्भावित सहभागि टिमहरुमा चर्च ब्वाईज क्लव(लिग च्याम्पियन), थ्री स्टार क्लव, धरान फुटबल क्लव, एनआरटी कामठमाण्डौं, त्रिभुवन आर्मी क्लव, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ र भारतिय क्लव(युके एफसी) रहेको छ।
प्रतियोगिता संचालनका लागी क्लवले ७७ लाख ६० हजारको अनुमानित आय र ६६ लाख ५५ हजारको व्याय राखेको छ। यसैगरी क्लवले वर्तमान अवस्थामा देशमा विद्यमान आर्थिक मन्दिले गर्दा प्रतियोगिता संचालनका लागी अप्ठ्यारो परेको स्थितीमा नेपाल सरकारका निकायहरु, स्थानिय निकाय, सार्वजनिक व्यक्तित्व, संघसंस्था, राजनैतिक दल लगायतलाई सम्मान स्वरुप उपलब्ध गराउनुपर्ने पास र आर्थिक सहयोग गर्ने दाताहरु बाहेक अन्यलाई पासहरु उपलब्ध गराउन क्लब असमर्थ रहेको समेत जनाएको छ। पत्रकार सम्मेलनका क्लवका मानार्थ अध्यक्ष किशोर राई, संरक्षक मिन सुब्बाले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरेका थिए।