धरान रनको तयारी पुरा, ३६०० बढी धावकधाविकाहरुको सहभागि रहने(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ फागुन १२ गते शनिवार हुने “धरान १० कि.मी रन, बाह्रौं नेवा च्यारेटि २०८०” दौड प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक धरान रन समूहले जनाएको छ।
आज विहिवार धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धरान रन समूहले सो कुराको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा आयोजक धरान रन समूहका अध्यक्ष रोमु राईले धरान रन समूह १२ वर्ष पुगेको अवसरमा यस वर्षको प्रतियोगिता विगत भन्दा फरक र भव्यरुपले नेपालकै धेरै धावकधाविका सहभागी हुने बताए। उनले यस धरान रनको बाह्रौ संस्करणमा जनचेतनामुलक कार्यक्रम सहित व्हील चेयर रेसको पनि आयोजना गरिने बताए।


“शिक्षाको निम्ती दौड” भन्ने नाराका साथ हुन लागेको प्रतियोगितामा ३६०० भन्दा बढी धावकधाविकाहरुको सहभागिता हुने आयोजक धरान रन समूहले जनाएको छ। जसमा अन्तर्राष्ट्रिय धावकधाविकाहरुको समेत सहभागिता रहने छ। दौड विहान ठिक ७ः३० बजे धरान ९ पुतलीलाईनबाट शुरु भई देशीलाईन, पुरानोबजार, पिण्डेश्वरी मन्दिर, विजयपुर चौक, हात्तिसार क्याम्पस, रेडक्रस भवन, अमरहाट, जिरो प्वाईन्ट, जानकी चौक, धरान रंगशाला, पानी टंकी, कल्याण चौकm मंगलबारे, रत्न चौक, बुद्धचौक, दुर्गाचौक हुँदै पुतली लाईन, भानुचौकमा आई समापन हुनेछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकधाविकाहरु सहभागी हुने यस च्यारेटी प्रतियोगिताबाट संकलित रकम असहाय महिला तथा बालबालिकाको स्वास्थ्य र शिक्षाको लागी अक्षयकोष खडा गरी सहयोग गर्दै आएको छ। नेवा एजुकेशन फण्डमा हालसम्म १२ लाख संकलन भईसकेको अध्यक्ष राईले बताए।
यसैगरी यस बाह्रौं संस्करणको दौड प्रतियोगितामा धावकधाविकाहरुको निम्ती चिप टाईमिङ प्रयोग गरिने धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईले बताए। उनले प्रत्येक धावकधाविकाहरुको जुत्तामा लगाईने यस चिप टाईमिङ सिस्टमबाट सही दौड समय मापन गरिने समेत बताए।
प्रतियोगितामा १६ देखी ३९ वर्षभित्र खुल्ला दौड समूहमा प्रथम, दोस्रो र तेस्रो हुने विजयी पुरुष, महिला धावकधाविकालाई जनही पुरस्कार राशी क्रमशः ६० हजार, ४० हजार र ३० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ। यसैगरी १२ वर्ष मुनिका, १२ देखी १५ वर्ष भित्रका र ४० वर्ष भन्दा माथिका भेट्रान दौडमा प्रथम, दोस्रो र तेस्रो हुने विजयी पुरुष तथा महिलाहरुलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
यसैगरी स्थानिय धावकधाविकालाई प्रोत्साहन स्वरुप पहिलो र दोस्रो हुने पुरुष महिलालाई आकर्षक पुरस्कार दिईनेछभने प्रतियोगितामा सहभागी सबैलाई टि सर्ट उपलब्ध गराउनुका साथै दौड पुरा गर्ने सम्पूर्ण धावकधाविकाहरुलाई सहभागिताको प्रमाणपत्र र आकर्षक मेडल प्रदान गरिनेछ भएको छ। कार्यक्रमको विशेष आकर्षण अतिथीमा नायिका निती शाह सहभागि रहनेछिन्भने गोर्खा बिग्रेड ब्याण्डको बेजोड प्रस्तुती रहने आयोजक धरान रन समूहले जनाएको छ।