२४ औं गोधुली फुटबल रनिङ कपः ट्राईब्रेकरमा धरान १२ विजयी(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान १० नं वडालाई ट्राईब्रेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै धरान १२ नं वडा २४ औं गोधुली फुटबल रनिङ कपको दोस्रो चरणमा पुगेको छ।
धरान रंगशालामा आईतवार भएको खेलमा निर्धारित समयसम्म दुबैतर्फबाट १/१ गोल भएपछि खेलको निर्णय ट्राईब्रेकरबाट लिईएको थियो। ट्राईब्रेकरमा धरान १२ का ओम कुमार लिम्बु, सञ्जु कुमार राई र बिक्रम मरिकले गोल गरेका थिएभने समिर लिम्बुको प्रहार बाहिरिएको थियो। यसैगरी धरान १० का तर्फबाट ताङसाङ लिम्बुले एक मात्र गोल गरेका थिएभने डिल्लीश्वर लिम्बु, अजय लिम्बु र मिक्सान लिम्बु गोल गर्न असफल भए। खेलमा धरान १० का लियम लिम्बुले ७० औं मिनेटमा प्रतियोगिताकै पहिलो रातो कार्ड खाएका थिए।


खेलको म्यान अफ दि म्याच धरान १२ का बिक्रम मरिक घोषित भए। उनले नगद १५ सय सहित मेडल प्राप्त गरे। उनलाई धरान १० का वडाअध्यक्ष विवेक राईले पुरस्कार प्रदान गरेका थिए। भोली सोमवारको पहिलो खेल धरान ३ र १८ नं वडाका बिच हुनेछ भने दोस्रो खेल धरान १ र ११ का बिच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।


माघ २७ गतेसम्म संचालन हुने प्रतियोगितामा धरानका १८ वटा वडाको मात्र सहभागिता रहेको छ। गतवर्ष धरान १५ नं वडा प्रोटेष्टमा परेकाले कारवाही स्वरुप यसपटक प्रतियोगितामा समावेश भएकोे छैनभने धरान २ नं वडाले पनि सहभागिता जनाएको छैन। प्रतियोगितामा बिजेताले नगद १ लाख ५० हजार रुपैया सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्भने उपबिजेताले नगद ७५ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। पुरस्कार राशिमा धरान १८ का वडाध्यक्ष प्रबिण राईका पिता ध्यान बहादुर राईले बिजेता र उपबिजेतालाई थप २५/२५ हजार प्रदान गर्ने क्लबले जनाएको छ। यस्तै बिधागत पुरस्कार तर्फ बेस्ट प्लेयरले नगद १५ हजार, हाइस्कोरले ७ हजार ५ सय प्राप्त गर्नेछन्भने बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्टाइकर, राइजिङ प्लेयर, बेस्ट मिड फिल्डर र म्यान अफ दि म्याचले जनही ५ हजार ५ सय प्राप्त गर्ने आयोजक गोधुली क्लवका उपाध्यक्ष सतिस केसीले बताए।