“खुवालुङ” नाटक आज सोमवार देखी धरानमा मंचन हुँदै

दिव्य रोशनी(धरान)/ आज सोमवार देखी धरानमा नाटक “खुवालुङ” मंचन हुने भएको छ।
किरण चाम्लिङको निर्देशन रहेको नाटक “खुवालुङ” सोमवारदेखी धरानको सभागृहमा मंचन हुन लागेको हो। आईतवार आयोजित पत्रकार सम्मेलनमा नाटकका लेखक राजन मुकारुङले किराती सभ्यता एवं मिथकमा आधारित नाटक “खुवालुङ” समग्र नेपाली कला, सँस्कृति माया गर्नेहरुले हेर्नुपर्ने बताए । उनले नेपालका सबै जाति, भाषी र समुदायको सभ्यता, सँस्कृतिक सम्पदाहरु जोगाउनुपर्छ भन्ने उद्देश्य रहेकोले “खुवालुङ” नाटकको मंचन गरिन लागेको समेत बताए।
नाटकका निर्देशक चाम्लिङले खुवालुङ नाटक शुक्रवार शनिवार र आईतवार दिउँसो १ बजे र बेलुकी साढे ५ बजे मञ्चन हुने र अन्य दिन बेलुकी साढे ५ बजे नाटक मञ्चन हुने समेत जानकारी दिए। उनले नाटक आगामी असोज ५ गतेसम्म दैनिकरुपमा मञ्चन हुने समेत जनाए। उनका अनुसार नाटक हेर्नका लागी ५ सयको टिकट दर तोकिएको छभने विद्यार्थीहरुका लागी ३ सय तोकिएको छ।
हालको दूधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीको जलाशयमा अवस्थित विशाल ढुंगालाई मुन्दुमि मान्यता र विश्वासमा किराती समुदायहरुले “खुवालुङ”को रुपमा मान्ने गरिएको छ। “खुवालुङ”लाई साक्षी राखेर त्रिवेणीमा मिसिएका नदिहरुको मुल मुहान पछ्याउँदै जाने क्रममा विकास मानव सभ्यताको कथा नै खुवालुङको कथा भएको नाटकको निर्माण पक्षले जनाएको छ।
काठमाण्डौको अपार सफलता पछि नाटक “खुवालुङ” धरानमा प्रदर्शन गर्न किरात राई यायोक्खा सुनसरीले व्यावस्थापनको जिम्मेवारी लिएको छ। यायोक्खाको आग्रहमा “खुवालुङ” नाटक मंचन गर्न काठमाण्डौ देखी ३५ कलाकारको जम्बो टोली अहिले धरान आएको छ।

20 thoughts on ““खुवालुङ” नाटक आज सोमवार देखी धरानमा मंचन हुँदै

टिप्पणीहरू are closed.