फागुन ११ देखी धरान एक्स्पो हुने

दिव्य रोशनी(धरान)/ धरानका उद्योगी व्यवसायीहरुको व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले आगामी फागुन दोस्रो साता देखी धरान एक्स्पो २०८० हुने भएको छ।
सुनसरी उद्योग वाणिज्य संघले धरान १६ स्थित रंगशालामा फागुन ११ गतेदेखि २३ गतेसम्म धरान एक्स्पो २०८० को आयोजना गर्न लागेको हो। संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै धरानका उद्योगी व्यवसायीहरुको व्यापार व्यवसाय प्रवद्र्धन गर्न र पर्यटन, कृषि, सुचना, प्रविधि, कला, संस्कृति, शिक्षा तथा औद्योगिक व्यापार प्रदर्शनीका लागि धरान एक्स्पोको आयोजना गर्न लागिएको जनाएको हो। पत्रकार सम्मेलनमा संघका अध्यक्ष विजय श्रेष्ठले एक्स्पोमा नेपालका कृषि, घरेलु तथा ठूला उद्योगहरूको उत्पादन बिक्री प्रर्दशनीमा राखिने बताए। उनले भारत, बंगलादेश र पाकिस्तानबाट पनि व्यावसायिक स्टलहरू राखिने र नेपालका पाँचतारे होटलहरु समेत सहभागिता रहने बताए। उनका अनुसार एक्स्पोमा विभिन्न स्थानका व्यवसायीहरूको हस्तकला, वैज्ञानिक कृषि पद्धति, स्थानीय साधन श्रोतबाट उत्पादित बस्तु पहिलो प्राथमिकताका विषय बन्ने छन्। यसैगरी निकासी, पैठारी र आधुनिक चेतनामूलक विषयलाई दोश्रो सूचिमा राखि व्यवसायिक चेतना अभिवृद्धि सुचना प्रविधि सम्बन्धि जानकारी, आन्तरिक एवं बाह्य पर्यटकलाई लोपोन्मुख कला संस्कृति र धार्मिक स्थलको महिमा जस्ता विषयलाई प्रदर्शनीको आकर्षणको स्थलको रुपमा स्थापित गरिनेछ ।


यसैगरी एक्स्पोमा डोम (ह्याङ्गर) को प्रयोग गरेर स्टलहरूलाई सुरक्षित राखिने स्टल संयोजक विष्णु बरालले बताए। उनले हावा, पानीले पनि डोम भित्रका स्टललाई कुनै पनि नोक्सानी नहुने समेत बताए। उनका अनुसार एक्स्पो अवधीभर ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिईएको छ।
एक्स्पोमा विहान १० बजेदेखी ४ बजेसम्म प्रवेश निःशुल्क गरिएको छभने साँझ ५ बजेखी सांगीतिक कार्यक्रम हुने भएकाले १ सय देखी २ सय सम्मको टिकट लाग्ने आयोजकले जनाएको छ।