धरान उत्सव भव्य रुपमा सम्पन्न

दिव्य रोशनी(धरान)/ धरान उत्सव भव्य रुपमा सम्पन्न गरिएको छ।
धरान स्थापना भएको १२३ औं वर्षको अवसरमा उपमहानगरपालिकाद्धारा आयोजना गरिएको पाँचदिने धरान उत्सव मंगलवार भव्य रुपमा सम्पन्न गरिएको हो। समापन समारोहमा प्रमुख अतिथी प्राडा. टंक न्यौपानेले अहिलेको परिवर्तति शहर धरान निर्माणमा भूपू लाहुरेहरुको ठुलो देन रहेको बताए। उनले तत्कालिन मेयर मनोज कुमार मेन्याङ्वोले विकास निर्माणमा ६०/४० को कन्सेप्ट ल्याएर उपमहानगरपालिकाले विकास गरेको समेत बताए। धरानले विकास निर्माणमा ल्याएको अवधारणा र अहिले मेयर साम्पाङले ल्याएको श्रम संस्कृति अभियानलाई अहिले अन्य पालिकाहरुले सिको गरेको बताए।
यसैगरी उपप्रमुख अईन्द्र बिक्रम बेघाले ईतिहास बोकेको ऐतिहासिक शहर धरानले विभिन्न आरोह अवरोहलाई पार गर्दै धरान अगाडी बढीरहेको बताए। उनले धरानको विकास र समृद्धिका लागी अब एक भएर धरानवासीहरु अगाडी बढ्नुपर्ने समेत बताए। यसैगरी १३ नं वडाअध्यक्ष नेत्र प्रसाद काफ्लेले उत्सवमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेर धरान एकजुट छ भन्ने सन्देश दिएको बताए।
कार्यक्रममा मेयर हर्क साम्पाङले धरान उत्सवलाई भव्यरुपमा सम्पन्न गराउन सहयोग गर्ने विभिन्न जातिय संघसंस्थाहरु प्रति धन्यवाद प्रकट गरे।


पुष २० गते शुक्रवार भएको उद्धघाटन समारोहमा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाह देखी धरानसंग भगिनी सम्बन्ध भएका पोखरा, ईलाम र धुलिखेल नगरपालिकाका जनप्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो। पाँचदिने उत्सवमा साइक्लिङ, वाकाथन, खेलकुद प्रतियोगिता, लोकदोहोरी सांगितीक कार्यक्रम, श्रमदाता र्याली, विभिन्न जातीय साँस्कृतिक नृत्य, लगानी गोष्ठी, रस्सीतान प्रतियोगिताको समेत आयोजना गरिएको थियो।