धरान उत्सव भव्य रुपमा मनाईनेः स्थापना दिवसमा सार्वजनिक बिदा(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान स्थापना भएको १२३ औं वर्षको अवसरमा धरान उत्सव भव्य रुपमा मनाईने भएको छ।
बुधवार उपमहानगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गर्दै धरान स्थापनको १२३ औं वर्ष पुगेको अवसरमा भव्य रुपमा धरान उत्सव मनाउने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा मेयर हर्क साम्पाङले धरान स्थापना दिवसको अवसरमा भव्य रुपमा धरान उत्सव मनाईने बताए। उनले धरान स्थापना दिवसको दिन पुष २० गते शुक्रबार सार्वजनिक विदा दिइएको समेत जानकारी दिए। उनका अनुसार उक्त दिन उपमहानगरपालिका, वडा कार्यालयहरु, मातहतको स्वास्थ्य संस्था, सरकारी कार्यालय, गैरसरकारी कार्यालय, विद्यालय र क्याम्पसहरुमा विदा दिइएको छ ।


पत्रकार सम्मेलनमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रज्ञादेवी निरौलाले पाँच दिने उत्सवमा विविध कार्यक्रमहरु आयोजना गरि मनाउने भएको जानकारी दिईन्। उनीले भोली (बिहिबार) बिहान ७ बजे हिमालयन पेट्रोल पम्पदेखि तीनकुनेसम्म सरसफाई अभियान गरिने समेत जनाईन्। उनीका अनुसार उत्सवको पहिलो दिन पुष २० गते उत्सव स्थल पब्लिक स्कुलको खेलमैदानमा विभिन्न जातीय संघसंस्थाहरुद्धारा नगर परिक्रमा संगै उत्सवको उद्घाटन हुनेछ भने सहकारी क्रियाकलाप र सम्मान कार्यक्रम पनि सोही दिन हुनेछ । यस्तै पुष २१ गते बिहान ६ बजे साइक्लिङ हुनेछ भने बिहान ११ बजेबाट साहित्यिक सम्मान कार्यक्रम पनि हुनेछ । त्यस्तै पुष २२ गते बिहान ६ बजे वाकाथन हुनेछ भने विद्यालयको खेलकुद प्रतियोगिता र दिउसो २ बजेदेखी लोकदोहोरी सांगितीक कार्यक्रम पनि हुनेछ । त्यस्तै पुष २३ गते बिहान ६ बजे श्रमदाता र्याली र दिउसो १ बजेबाट विभिन्न साँस्कृतिक झाँकी प्रर्दशनी कार्यक्रम पनि हुनेछ। त्यस्तै, उत्सवको अन्तिम दिन पुष २४ गते बिहान ९ बजे लगानी गोष्ठी, दिउसो १ बजे रस्सीतान प्रतियोगिता, ३ बजेदेखी कदरपत्र तथा प्रशंसा कार्यक्रम र उत्सवको समापन कार्यक्रम हुनेछ।


उत्सव अवधिभर मनोरञ्जनात्मक सांगीतिक, साँस्कृतिक कार्यक्रम, निःशुल्क स्वास्थ्य जाँच पनि हुनेछ भने रोटेपिङसहितको बाल मनोरञ्जनका खेलहरु पनि सञ्चालन हुने उपमहानगरले जनाएको छ। उत्सवस्थलमा ८३ वटा स्टलहरु राखिएको छ। जसमा विभिन्न जातीय परिकार, कृषी सामाग्रीहरुको प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ।