१ करोड बढीको आर्थिक कारोबार गर्दै भेडेटार फुडफेस्टिबल सम्पन्न

दिव्य रोशनी(धरान)/ १ करोड बढीको आर्थिक कारोबार गर्दै भेडेटारमा जारी तिनदिने फुड फेस्टिबल सम्पन्न भएको छ।
होटल एशोसिएसन भेडेटारको आयोजनामा यही पुष १५ गते देखी पुष १७ गतेसम्म तिनदिने फुड फेस्टिबलको आयोजना गरिएको थियो। समापन कार्यक्रममा एशोसिएसनका अध्यक्ष तुमराज लिम्बुले तिनदिने फुड फेस्टिबलमा ३० हजार बढी पर्यटकहरु भित्र्याउदै १ करोड बढीको आर्थिक कारोबार गर्न सफल भएको बताए। उनले फेस्टिबलमा आउने पर्यटकहरुले भेडेटार देखी नाम्जे, थुम्की र नमस्ते झरना सम्मका होटलहरु भरिभराउ रहेको बताउदै केही पर्यटकहरुलाई बास बस्न धरानसम्म पठाईएको बताए। अध्यक्ष लिम्बुले कोरोना कहरपछि पहिलो पटक सोचेभन्दा बढी पर्यटकहरु भेडेटारमा भित्रिएको समेत जनाए।


यसैगरी समापन कार्यक्रमका प्रमुख अतिथी साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले तिनदिने उत्सवमा पर्यटन व्यावसायीहरु मात्र नभई पर्यटकहरुले स्थानिय कृषि उत्पादनहरुपनि कोशेलीको रुपमा खरिद गरेर लैजदा कृषकहरुपनि उत्तिकै खुसी भएको बताए। उनले गाउँपालिकाले कृषिमा पनि क्रान्ति ल्याउन उत्कृष्ट कृषकहरुलाई सम्मानको कार्यक्रम ल्याएको समेत बताए। कार्यक्रममा साँगुरीगढी गाउँपालिकाले गाउँपालिकाका उत्कृष्ट कृषकहरुलाई नगद सहित सम्मान समेत गरेको थियो।
पर्यटकिय स्थल भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गराउन हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसर पारेर होटल एशोसिएसन भेडेटारले फुड फेस्टिबलको आयोजना गर्दैै आएको छ। फेस्टिबलमा स्थानीय जातिय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु उत्पादनहरु पनि प्रदर्शनीमा राखिएका थिए।