धरानका मगर समुदायले मनाए हुर्रा

दिव्य रोशनी(धरान)/ धरानका मगर समुदायले तिहारमा देउसीको रुपमा खेल्दै आएको हुर्राको समापन गरेका छन्।
शनिबार धरान १० स्थित सैनिक भवनमा मगर संघ धरान उपमहानगर समितीद्वारा देउसीको रुपमा खेल्दै आएको हुर्राको समापन गरेका हुन्। समापनको अवसरमा देशै रमाईलो… भन्दै हुर्रा नाच समेत नाचिएको थियो।


कार्यक्रममा नेपाल मगर संघ धरान नगर समितीका अध्यक्ष चित्रराज थापा मगरले मगर समुदायको संस्कार संस्कृति र विशेष गरेर हुर्रा नृत्य नयाँ पुस्तामा हस्तान्तरण गर्नपनि यस्ता कार्यक्रमहरु हरेक वर्षहरुमा आयोजना गरिदै आएको बताए।उनले तिहारको समयमा घरघरमा नाचिने हुर्रा नृत्य मगर समुदायको नृत्य हो भनेर परिचित गराउन पनि धरानमा हुर्रा नृत्य प्रदर्शनको आयोजना गरिएको बताए। नेपालका मगर समुदायले नाच्दै आएको हुर्रा नृत्यको उत्पत्ति हालको धनकुटाको चौबिसे गाउँपालिका(साविक मुढेबास) रहेको उनको भनाई छ। उनका अनुसार तिहारमा देउसीका रुपमा खेलिने हुर्रा नृत्य विशेषगरी धनकुटाको दक्षिण भेग, मोरङको उत्तरी बेल्ट र सुनसरी धरानको ४, ५, ६ नं वडामा नाँचीने गरिन्छ। उनले भने, “यो हुर्रा नृत्य पूर्वका मगर समुदायमा मात्र नाचिने वा खेलिने गरिन्छ। पश्चिमका मगर समुदायहरुले नाच्दैनन् वा खेल्दैनन्।”


कार्यक्रममा आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद धरानका अध्यक्ष सुवास हुक्पाचोङ्वाङले आदिवासीका मौलिक परम्परागत नृत्यले समाजमा एकआपसमा भाईचार सम्बन्ध गाँसिएको बताए। उनले हरेक जातजाती र समुदायले आफ्ना मौलिक संस्कार संस्कृतिको जगेर्ना गर्दै पुस्ता हस्तान्तरण गरिनुपर्ने बताए।
मगर समुदायले देउसीको अवसर पारेर तिहारको अघिल्लो दिन देखि पूर्णिमा सम्म सामूहिक हुर्रा नाच नाच्ने परम्परा छ। धरानका युवा पुस्तामा मगर संस्कार संस्कृतिको जोगर्ना र संरक्षणका लागि प्रोत्साहित गर्दै छिमेकी गाउँपालिका साँगुरीगढि ७ लालीगुराँस सामुदायिक संस्थाका ३७ जना पाहुना टोलीको पनि हुर्रा नृत्यमा सहभागी रहेको थियो। विशेषगरी हुर्रा नृत्यका लागी आमन्त्रण गरिएका पाहुनाटोलीले धरानका मगर युवा युवतीहरु संग मादल, झ्याम्टा र बाँसुरी बजाँउदै सामुहिक नाँच नाँचेका थिए।


कार्यक्रममा आयोजकले साँझसम्म प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई बाटो कुरेर बसेपनि उनी नआएपछि कार्यक्रम नै खल्लो महशुस भएको सहभागीहरुले बताए। (दिव्य रोशनी साप्ताहिकबाट)

3 thoughts on “धरानका मगर समुदायले मनाए हुर्रा

टिप्पणीहरू are closed.