लैंङ्गिक हिंसा न्यूनिकरणमा महिला संजालको जोड(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ लैङ्गिक हिंसा न्यूनिकरणमा जोड दिंदै महिला संजाल धरानले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात गरेको छ।
“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने नारा सहित संजालले शनिवार धरानको घण्टाघरबाट लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकोे शुरुवात गरेको हो।
संसारभर २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म यो अभियान मनाउने गरिन्छ। यो अभियानका लागि अन्तर्राष्ट्रिय रूपमा भने “महिला र बालबालिका विरुद्ध हिंसा रोक्न एकजुट लगानी” भन्ने नारा दिइएको छ। यसैक्रममा अभियानको पहिलो दिन शनिबार बिहान धरानको घण्टाघर परिसरमा महिला संजाल धरान र ईलाका प्रहरी कार्यालयले ब्यानर सहित संयुक्त रुपमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।


कार्यक्रममा ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नवराज मल्लले चेतनाको हकमा अग्रपंक्तिमा रहेको महिला संजाल धरानसंँग लैङ्गिक हिंसा विरुद्धको अभियानमा हातेमालो गर्दै जाने बताए। उनले यस १६ दिने अभियानका क्रममा विद्यालय, होटल, औद्योगिक क्षेत्र लगायत जहाँ–जहाँ महिला छन्, त्यहाँ जोखिम रहेका क्षेत्रहरुमा प्रहरीको सक्रियतामा न्यूनिकरणको लागी सुन्य सहनशिलता अपनाउने बताउँदै महिला हिंसा मुक्त शहरको रुपमा धरानलाई बनाउने अठोट गरे।
बच्चाको भ्रुणबाट शुरु भएको लैङ्गिक हिंसा चिहानमा नपुगे सम्म हिंसा हुने बताउँदै डिएसपी मल्लले घरैबाट हिंसाका घटनालाई न्यूनिकरण गर्न घरघरका बुवाआमा समाजका नागरिकहरु सचेत हुनुपर्ने बताए। डिएसपी मल्लले भोलीका दिनमा आफ्नो घरबाटै हिंसाका घटना नहोस् भन्नका लागी यो अभियानमा धरानका दिदीबहिनीहरु संँग जोड्न आफ्नो जिवनसंगीनीलाई पनि संँगै लिएर आएको बताए। उनले भने “घरबाट हिंसा शुरु हुन सक्छ, परिवारबाट हिंसा शुरु हुन सक्छ, गर्भमा छोरी छभने गर्भपतन गराएर शुरु भएको हिंसा चिहान नपुगेसम्म हिंसा हुने गर्दछ, यसका लागी आफुले पनि आफ्नो जिवनसंगीनीलाई यस अभियानमा जोड्न लिएर आएको छु।”
एक फरक प्रसंगमा डिएसपी मल्लले “यो धरानको डिएसपी कता कानुन नमान्ने हो अरे, कता के नमान्ने रे” भन्ने कुरा आएकाले महिला संजालसंँग हातेमालो गरी यस अभियान मार्फत् यसलाई पनि चिर्न सकांै भन्ने कामना गरे।


डिसपी मल्लले १ वर्षमा धरानमा भएका महिला हिंसाका घटनाबारे जानकारी समेत दिए। उनका अनुसार ईलाका प्रहरी कार्यालय धरानमा १ वर्षमा महिला हिंसाका घटनाका ८४ वटा निवेदनहरु परेको थियो। जसमा ५ जनालाई अदालत पठाईएको, ४७ वटालाई सहजीकरण गरि ५६ जना मिलापत्रको माध्यमबाट केश मिलाईएको थियो।
कार्यक्रममा महिला संजाल धरानका अध्यक्ष सपना राईले हरेक वर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिला हिंसाको विरुद्ध जनचेतना जगाउँदै आएको बताईन्। उनले यस अभियानमा खाका नै बनाएर कलेजहरुमा महिला हिंसा बिरुद्ध वक्तृत्वकला प्रतियोगिता, सुकुम्बासी महिलाहरुको लागी जनचेतनामूलक कार्यहरु गरिने बताईन्। साथै आज आईतवार उपमहानगरपालिका देखी वडावडा र टोलटोलमा समेत सचेतनामूलक कार्यहरु गरिने उनको भनाई थियो।
संजालका संस्थापक अध्यक्ष तथा संचारकर्मी गंगा पौडेल बरालले लैङ्गिक हिंसाका घटना न्यूनिकरणमा संजालले स्थापनाका देखि नै प्रहरीहरुसंँग सहकार्य गर्दै आएको बताईन्। उनले घर परिवार भित्रै श्रीमानश्रीमती बिच पनि हिंसाको घटना बढ्दोक्रममा रहेकाले यी हिंसाका घटनाहरुलाई निर्मुल पारिनुपर्ने बताईन्। राज्यले मात्र हैन, समाजमा रहेका हामी सबैले लैङ्गिक हिंसाको खुलेर विरोध गर्नुपर्ने बताउँदै संस्थापक अध्यक्ष बरालले संस्कृतिमूलक समाजको निर्माण गर्न यस कार्यक्रममा सबैजना आवद्ध हुन आग्रह गरिन्।
यसैगरी संजालका पूर्व अध्यक्ष तथा ल्याक महिला शसक्तिकरणका जिल्ला को–अर्डिनेटर मिना पुलामीले यस १६ दिने अभियानमा महिलाहरुलाई हिंसा रहित बनाउन “कुरा हैन काम गरौं” भन्ने नारा नै लिएर हिडेकाले यसलाई कार्यान्वयन गरिनुपर्ने बताए। उनले समाजमा अझैपनि धेरै महिलाहरु बलात्कृत भईरहेकोले यसको न्यूनिकरणका लागी कडाभन्दा कडा कानून निर्माण गरिनुपर्ने बताईन्।
कार्यक्रममा शान्तिको प्रतिकको रुपमा धरानका महिला दिदी बहिनीहरुलाई सेतो रिबन समेत बाँधिएको थियो। संजालका सचिव ईन्द्रकला राईका अनुसार संजालले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन शान्तिको प्रतिकको रुपमा १ हजार सेतो रिबनको ब्याच वितरण गरेको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)