नेपाल रेडक्रस सोसाइटीको ६१ औँ स्थापना दिवस मनाईयो

दिव्य रोशनी(धरान)/ नेपाल रेडक्रस सोसाइटीको ६१ औँ स्थापना दिवस मनाईएको छ।
मंगलवार धरान १ स्थित नेपाल रेडक्रस सुनसरीको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सहायक प्रजिअ अनुज कुमार घिमिरेले रेडक्रसको झण्डा झण्डोत्तलन गरेका थिए। कार्यक्रममा उनले विपत्तिको बेला उद्धार र राहतको कार्यमा मात्र सीमित नभएर रेडक्रसले सामाजिक कार्यहरूमा पनि अग्रसर हुनुपर्ने बताए।
सहायक प्रजिअ घिमिरेले विपद्का साथी भनिँदै आएपनि समाजमा आफ्नो भन्ने कोही नभएका व्यक्तिहरूको पहुँचमा पनि रेडक्रस पुग्नुपर्ने बताए। उनले नाता प्रमाणित नभएका नागरिकलाई समेत आफूले नागरिकता बनाउन मद्धत गरेको उल्लेख गर्दै इलाका प्रशासन कार्यालयमा आफु आएको दुई महिना नाघेपनि अहिले सम्म आफन्त नभएका कोही पनि सेवा लिन नआएको बताए।
कार्यक्रममा रेडक्रस सुनसरीका मन्त्रि मुकुल कायस्थले धरानमा फैलिएको डेंगु महामारी नियन्त्रणका लागि उपमहानगरपालिकासँग डेंगु लार्भा नष्ट गर्ने “सर्च एण्ड डिस्ट्रोय” अभियानमा संचालन गर्दै आएको बताए। उनले “सर्च एण्ड डिस्ट्रोय” अभियानलाई परिणाममुखी बनाउन माइक्रोबाइलोजीका शिक्षकहरूद्वारा लार्भा नष्ट गर्ने प्रक्रियाबारे प्रशिक्षण प्रदान गरेको समेत जनाए।
कार्यक्रममा रेडक्रस सुनसरीका पूर्व सभापति टोमप्रसाद आचार्यले रेडक्रस स्थापना गर्नुको औचित्य बारे प्रकाश पारेका थिएभने विद्यालय रेडक्रसका शिक्षक नायक भवानी खतिवडाले विद्यालय स्तरीय रेडक्रसको भूमिकाका बारेमा प्रकाश परेका थिए।
रेडक्रस सुनसरी सभापति उमेश थापाको सभापतित्वमा भएको स्थापना दिवसमा विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।
यसैबिच रेडक्रस सोसाइटी सुनसरी र धरान ९ नं वडा कार्यालय बिच सम्झैता भएको छ। जस अनुसार धरान वडा ९ का बिरामीलाई कुनै पनि बेला रगत चाहिएमा रक्त सञ्चार केन्द्रलाई बुझाउनु पर्ने ब्लड ब्याग, किट बापतको शुल्क एक हजार ५० रुपैया बुझाउनु नपर्ने भएको छ। सम्झौतामा वडाअध्यक्ष रुपेश आचार्य र जिल्ला रेडक्रस सुनसरीका सभापति उमेश थापाले हस्ताक्षर गरेका छन्।