विपन्न वर्गको सहाराः अपाङ्ग पुनःस्थापना तथा असहाय सेवा केन्द्र नेपाल

मनिता चाम्लिङ
दिव्य रोशनी(धरान)/
हरेक महिनाको १ र १५ गते अपाङ पुनःस्थापना तथा असहाय सेवा केन्द्रमा मानिसहरुको भीड लाग्ने गर्दछ। त्यो भीड कुनै जुलुस समारोहका लागी नभइ आर्थिक अवस्थाले विपन्न तथा भिन्न क्षमता (अपाङ्गता) भएका परिवारहरु राहत लिनका लागी जम्मा भएको भीड हो। यस केन्द्रले कोभिडको महामारीदेखी हालसम्म पनि विपन्न वर्गका नागरिक तथा अपाङ्गता भएका परिवारहरुलाई राहत सामग्री वितरण गर्दै आईरहेको छ।
धरान ९ स्थित केन्द्र्रको कार्यालयमा दुईदिन अघि (भाद्र १५ गते) मात्र वितरण गरिएको राहत कार्यक्रममा धरान लगायत धरान बाहिरका विभिन्न स्थानबाट बसाईसरि धरान आएका विपन्न नागरिक हरुलाई राहत सामग्री वितरण गरिएको थियो। वितरण गरिएको राहत सामग्रीहरुमा २५ केजी (१ बोरा) चामल, १ केजी नुन, १ लिटर तेल, चना, मटर, चिउरा लगायतका सामग्रीहरु रहेका छन्। यस्तै विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीका साथमा झुल समेत वितरण गरिएको थियो।
राहत सामग्री पाएपछि खुसी मुद्रामा देखिएकी धरान २० की सन्जु चौलागाईले आफुजस्ता विपन्न परिवारलाई राहत सामाग्री प्रदान गरेकोमा संस्था प्रति आभार व्यक्त गरिन्। उनका श्रीमानले लेवर काम गरेर परिवार पाल्दै आएपनि श्रीमानको दुवै कानको अप्रेशन पश्चात् घरैमा बस्नु परेपछि परिवारमा समस्या आईपरेको उनले बताईन्। अहिले उनलाई आफ्नो घरको सम्पूर्ण जिम्मेवारी समेत आई परेको उनले बताईन्। अहिले उनी अरुको घरमा काम गर्दै बिरामी श्रीमान सहित ६ जना छोराछोरीलाई पालन पोषण गर्दै आएो बताउँछिन्। राहत सामग्री पाएपछि खुसी देखिएकी चौलागाईले भनिन् –“सरहरुले गर्दा भोकै बस्नु परेको छैन, बेलाबेलामा राहत सामग्री दिंदै आउनु भएको छ। हामी दुःखी गरिबलाई दिएर उहाँहरुलाई सँधैभरी यसरी नै खान पुगोस्।” यसैगरी धरान ६ माथिल्लो पानवारीकी माया राईले आर्थिक अभावले समस्यामा परेका बेला संस्थाले खाद्यान्न वितरण गरेको आफुलाई राम्रो लागेको बताईन्। उनले आफुजस्ता विपन्न नागरिक खाद्यान्न अभावमा भोकै बस्नु नपरेको समेत बताईन्।
त्यस्तै राहत सामग्री लिएका अर्की धरान ९ की गंगा मगरले धरान जस्तो शहरमा लकडाउनदेखी अहिलेसम्म पनि विपन्न वर्गका लागी खाद्यान्न वितरण गर्नु संस्थाको कार्य प्रशंसनीय भएको बताईन्। उनले आगामी दिनहरुमा पनि अपाङ्ग तथा विपन्न वर्गका लागी संस्थाले चालेको कार्यलाई निरन्तरता दिनपनि आग्रह गरिन्।
यस्तै, राहत सामग्री लिन भोक्राहा सुनसरीबाट धरान आएका रामकृष्ण मेहेताले राहत सामाग्री पाउदा आफुलाई अत्यन्तै खुसी लागेको बताए। मस्कुलर डिस्टोफी रोग (खुट्टाहरु सुक्दै जाने रोग) बाट पीडित मेहेता जन्मजातै अपाङ्ग हुन्। उनी ३६ वर्षका भए। उनका अनुसार परिवारमा उनका भाई बुहारी मात्रै रहेका छन्। यसअघिपनि भोक्राहाबाट विपन्न परिवार धेरैले राहत पाएको र विद्यार्थीहरुले पनि शैक्षिक सामाग्री पाएको उनको भनाई छ।


आर्थिक रुपले विपन्न तथा अपाङ्ग परिवारका लागी राहत सामग्रीको जोहो भने धरान १ निवासी समाजसेवी अशोक अग्रवालले गरेका हुन्। विगत २ वर्षअघिदेखी संस्थामा जोडिएका समाजसेवी अग्रवालले हरेक महिना ४० जना विपन्न परिवारलाई राहत सामाग्री वितरण गर्दै आएका छन्भने प्रत्येक महिना आर्थिक रुपमा विपन्न ५ परिवारलाई स्वास्थ्य बिमा, २ जना विपन्न महिलालाई सिलाई मेशिन प्रदान गर्दै आएका छन्। यसैगरी हालसम्म उनले १ न.ं प्रदेशभरीका १ सय भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुलाई व्ह्लि चेयर र ट्राई साईकल समेत प्रदान गरिसकेका छन्।
विपन्न तथा अपाङ व्यक्तिहरुका लागी हरेक महिना २ लाख बराबरको खर्च गर्दै आएका समाजसेवी अग्रवाल सबैले आफुले कमाएको केही हिस्सा सामाजिक उत्तरदायित्व अन्तर्गत बहन गर्नुपर्ने बताउँछन्। उनी भन्छन् “आफुसंँग भएको सम्पत्ति खर्च गरेर कहिल्यै पनि सकिंदैन। बरु बाँडेर हेर, कति आत्मसन्तुष्टि मिल्छ। जसमा त्यस्तो सन्तुष्टि कतैबाट पनि मिल्दैन। एकदिन मरेर जानु छ, फेरि त्यही घरमा जन्मेर उपभोग गर्छु भन्दा पनि हँुदैन। जिवन रहेसम्म सबैले दःुखी गरिबको सेवा गर्नुपर्छ।”
राहत सामग्री वितरणमा यसपटक धरान १४ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई प्रमुख अतिथी रहेका थिए। उनले अहिले सोच र भावनाले मान्छे अपाङ्ग भएको बताए। उनले अपाङ्गता भएकाहरुलाई राज्यले सहयोग गर्न नसकेको बेला एक व्यक्तिले महिनाको दुई पटक राहत सामाग्री बाँड्नु भनेको राज्यप्रतिको व्यङ्ग भएको पनि बताए। २ वर्षदेखी राहत वितरण गरिरहेका अशोक अग्रवालको कार्यको उनले खुलेरै प्रशंसा पनि गरे। वडाअध्यक्ष भट्टराईले विपन्न परिवारलाई नगद समेत सहयोग गरेका थिए।
२०७४ को निर्वाचनपछि मात्रै धरानमा अपाङ्गताहरुको तथ्यांक राखिएको बताउँदै वडाअध्यक्ष भट्टराईले विशेष किसिमको कार्यविधि बनाएर राज्यले अपाङहरुको अधिकार सुनिश्चित गर्नुपर्ने बताए। “अपाङ कोहीपनि रहरले हुँदैन, जसको घरमा अपाङ्ग व्यक्ति छन्, जसले उनीहरुलाई स्याहारेको हुन्छ त्यो उनीहरुलाई थाहा हुन्छ अपाङ भनेको के हो?” उनले भने। उनले फरक क्षमता भएका व्यक्तिहरु कसैलाई समस्या परेमा क्षमताले भ्याएसम्म आफुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

सहयोगी तथा समाजसेवीहरुको सहकार्यमा नै यस संस्थाले स्थापनाकालदेखी नै अपाङ तथा विपन्न परिवारहरुलाई सहयोग गर्दै आएको केन्द्रका कार्यक्रम संयोजक तथा संस्थापक अध्यक्ष सुनिल खड्काले बताए। उनले २०६३ सालमा स्थापना भएको अपाङ पुनःस्थापना तथा असहाय सेवा केन्द्र नेपाल धरानले तत्कालिन समयमा संस्थाका सदस्य र घरदैलो गरी संकलन गरिएको रकमले अपाङ्ग तथा विपन्न व्यक्तिहरुको उपचार तथा राहतमा सहयोग पुर्याएको बताए।
संस्था खडा गरिएतापनि अपाङ्गता भएका व्यक्ति तथा विपन्न परिवारलाई धेरैभन्दा धेरै सहयोग पुर्याउन नसकिएको बेला समाजसेवी अग्रवाल संस्थामा जोडिएपछि संस्थाको कार्यगतीले रफ्तार लिएको उनी बताउँछन्। उनै समाजसेवी अग्रवालको सहयोगमा हालसम्म १ सय १४ वटा व्ह्लि चेयर, करिब ५० वटा सिलाई मेशिन, १ हजार बढी विपन्न परिवारलाई राहत वितरण र विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको उनको भनाई छ।
अहिले संस्थाले वडाका जनप्रतिनिधीहरुलाई सामाजिक उत्तरदायित्व बहन गराउन विभिन्न समयमा कार्यक्रममा सहभागिता गराउन थालेको छ। सामाजिक काममा धरान १८, १७, १४, ७ र १३ का वडा अध्यक्षहरु अझ क्रियाशिल रहेको उनी बताउँछन्। उनले अपाङ्ग, एकल महिला तथा विपन्न परिवारका लागी स्थानिय सरकारको सहभागिता अनिवार्य रहेको बताए। संस्थाले हाल राहत सामाग्रीसंँगै ३/३ महिनामा आर्थिक विपन्न महिलाहरुलाई स्वरोजगार बनाउन सिपमुलक सिलाई तालिम, गुडिया बनाउने तालिम, मोबाईल बनाउने तालिम प्रदान गर्दै आएको छभने समयसमयमा निःशुल्क आँखाको शिविर र स्वास्थ्य शिविर संचालन गर्दै आएको छ। आगामी अशोजको तेस्रो हप्ता ईटालीबाट हाडजोर्नी र मेडिसिन विभागका गरी २ जना डाक्टर आउदै गरेको संस्थापक अध्यक्ष खड्काले जानकारी दिए। उनका अनुसार अपाङ्ग तथा विपन्न वर्गका लागी मात्र हुने त्यो शिविरमा २५ जना बिरामीको उपचार गरिनेछ। जसमा अवस्था हेरेर शल्यक्रिया गर्नुपरेमा ५० हजार देखी १ लाख सम्मको उपचार निःशुल्क समेत गरिने व्यवस्था रहेको अध्यक्ष खड्काले बताए।
हाल संस्थामा प्रदेश १ मात्र नभई २ नं. प्रदेशबाट पनि बिरामीहरु सहयोगका लागी आउने गरेको खड्काले बताए। जसमा विपी प्रतिष्ठानमा उपचार गराउन आउदा आर्थिक अभाव भएपछि संस्थामा सहयताका लागी आउने गरेका छन्। प्रत्येक हप्ताको मंगलवार संस्थाले क्लिनिक चलाउँदै आएको छ। जहाँ न्यूनतम ५ जना भन्दा बढी बिरामीहरुको सहभागिता हुने गर्दछ। बिरामीहरुलाई प्रतिव्यक्ति १५ सय सम्मको ल्याब परिक्षण शुल्क संस्थाले व्यहोर्दै आएको छभने अप्रेशन गनुपर्ने बिरामीहरुको लागी १० लाखसम्म संस्थाले सहयोग गरेको पनि उनले बताए। उनले भने–“संस्थाले हालसम्म कसैलाई पनि रितो हात फर्काएको छैन, उनीहरुको उपचारमा अस्पतालसंँग समन्वय गरी सहयोग गर्दै आएको छ। साथै अपाङ्ग तथा विपन्न वर्गका लागी कोही व्यक्ति यस संस्थामा आएर सहयोग गर्न चाहानुहुन्छ भने उहाँहरुका लागीपनि संस्थाको ढोका सदैव खुल्ला रहेको छ।” (दिव्य रोशनी साप्ताहिकबाट)